सुलीकोट समाचारदाता
सुलीकोट, भदौ २० गते । गोरखाको ऐतिहासिक स्थल गोरखा सङ्ग्रहालयमा एक लाखभन्दा बढीले गोरखा सङ्ग्रहालय अवलोकन गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असार मसान्तसम्म कुल एक लाख २२ हजार ७३३ जनाले गोरखा सङ्ग्रहालयको अवलोकन गरेको गोरखा सङ्ग्रहालयका प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत आवमा सबैभन्दा बढी नेपालीले सङ्ग्रहालय अवलोकन गरेका छन् । उहाँले भन्नुभयो, “सङ्ग्रहालयको अवलोकन गर्न आउने नागरिकको यकिन तथ्याङ्क निकाल्न नेपाली विद्यार्थी, नेपालका सर्वसाधारण, सार्क राष्ट्र र विदेशी नागरिक गरी चार समूहमा छुट्याइएको छ ।”
गोरखा सङ्ग्रहालयको तथ्याङ्क अनुसार एक लाख २२ हजार ७३३ जनामध्ये ८४ हजार २५७ जना नेपाली, ३६ हजार २९८ जना नेपाली विद्यार्थी, सार्क राष्ट्रका १७५ जना र तेस्रो राष्ट्रका विदेशी दुई हजार तीन जनाले अवलोकन गरेको कार्यालय प्रमुख जयनन्द कार्कीले बताउनुभयो ।
उहाँका अनुसार आव २०८०/८१ मा एक लाख १९ हजार १८७ जनाले अवलोकन गरेकामा आव २०८१/८२ मा एक लाख २२ हजार ७३३ अवलोकन गर्दै तीन हजार ५४६ जनाले सङ्ग्रहालय अवलोकन गरेका छन् । झन्डै ६८ रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय एकीकरणको अध्ययन गर्न सकिने थलोका रूपमा पनि चिनिन्छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०६५ जेठ १९ गते गोरखा सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गर्नुभएको थियो ।