तम्घास समाचारदाता
तम्घास (गुल्मी), भदौ १७ गते । सडक खुलेको २३ वर्षसम्म धुलो र हिलोको समस्या झेल्दै आएका स्थानीयले सडक कालोपत्रे भएपछि राहत अनुभव गरेका छन् । गुल्मीको इस्मा गाउँपालिका–२ को छल्दी हुँदै रातचौर र रातडाँडा पुग्ने यो सडक लामो समयदेखि मर्मत र स्तरोन्नति नहुँदा धुलो र हिलोको समस्यामा बढ्दै गएको थियो । सडकलाई तीन खण्डमा विभाजन गरी कालोपत्रे गर्ने योजना अनुसार रातचौर र रातडाँडा क्षेत्रमा हाल काम अन्तिम चरणमा पुगेको हो ।
सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर दीपक विकका अनुसार रातचौर क्षेत्रमा ४९० मिटर सडक ७१ लाख रुपियाँको लागतमा कालोपत्रे गरिएको छ । त्यस्तै रातडाँडा खण्डमा ७३ लाख रुपियाँमा ३७० मिटर कालोपत्रे अन्तिम चरणमा पुगेको छ । यी दुई खण्डमा काम सम्पन्न भएसँगै सडकमा सवारीसाधन सहजै गुड्न थालेका छन् ।
स्थानीय देवबहादुर कुमालका अनुसार सडक कालोपत्रे नहुँदा दिनरात धुलोको समस्याले हैरान भएकामा अब उक्त समस्याको अन्त्य भएको छ । उहाँले सडक खुलेको २३ वर्षपछि सडक कालोपत्रे हुँदा खुसी लागेको बताउनुभयो । अर्का स्थानीय कुलबहादुर कुमालले पनि सडक कालोपत्रे नहुँदा वृद्धवृद्धाको स्वास्थ्यमा समेत असर परेको बताउँदै अहिले हिलो र धुलोबाट मुक्ति पाएको बताउनुभयो ।
सडकले गुल्मीका विभिन्न क्षेत्र मात्र नभई छिमेकी जिल्ला बागलुङको बुर्तिबाङसम्म सिधा यातायात सुविधा जोड्ने भएकाले यसलाई रणनीतिक दृष्टिकोणले पनि महìवपूर्ण मानिएको छ । सडक डिभिजन कार्यालय पाल्पामार्फत नव उत्कृष्ट कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिमार्फत काम भएको हो । निर्माण व्यवसायीका प्रतिनिधि थानेश्वर पन्थीले अबको केही दिनमै कालोपत्रेको काम सक्ने गरी काम गरिरहेको बताउनुभयो ।
उक्त सडकखण्डको बिच बिचमा करिब दुर्ई हजार पाँच सय मिटर कालोपत्रे गर्ने गरी सडक डिभिजन कार्यालय पाल्पामार्फत ओमनव शिवाय कन्स्ट्रक्सन प्रालि दाङले तीन करोड ११ लाख रुपियाँको लागतमा काम गरिरहेको छ ।