चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ १७ गते । ताप्लेजुङमा सरकारी तथा गैर सरकारी निकायका कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रममा सेवा प्रदायक निकायले गर्ने कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन छलफल भएको हो ।
जिल्ला समन्वय समितिको आयोजनामा आइतबार र सोमबार भएको दुई दिने वार्षिक समीक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रममा कार्यसम्पादनका विषयकेन्द्रित छलफल भएको थियो । हालसम्म कामको समीक्षाका आधारमा सेवाप्रदायक निकायले कार्यसम्पादनलाई थप बलियो र प्रभावकारी बनाउने विषयमा छलफल भएको जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले जानकारी दिनुभयो ।
प्रमुख लामाका अनुसार समीक्षा कार्यक्रममा सेवा प्रदायक तथा सम्बन्धित सरोकारवाला निकायले आगामी दिनको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिइएको थियो । कार्यसम्पादनलाई बलियो र प्रभावकारी बनाउन कुनै पनि निकायबाट भएको असल अभ्यास वा कामको अनुसरण गर्न आवश्यक हुने कार्यक्रममा छलफल भएको थियो ।
एकअर्काका असल अभ्यासको प्रयोग सिकाइको मुख्य पक्ष हुने र सिकाइकै माध्यमबाट आगामी दिनमा कार्य सम्पादनलाई प्रभावकारी बनाउन सकिने विषयमा सबैको बुझाइमा एकरुपता भएको जिसस प्रमुख लामाले बताउनुभयो । प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिमले आइतबार उद्घाटन गर्नुभएको वार्षिक समीक्षा कार्यक्रममा जिल्लास्थित सङ्घ तथा प्रदेश मातहतका कार्यालय, स्थानीय तह र विभिन्न गैर सरकारी सङ्घ संस्थाहरुले गरेको कामको समीक्षा गरिएको छ ।
सोमबार सकिएको समीक्षा कार्यक्रममा सरकारी कार्यालय तथा गैर सरकारी संस्थाहरुले गएको आर्थिक वर्ष २०८१–८२ मा गरेको कार्यक्रम तथा बजेट परिचालनको विवरण प्रस्तुत गरेका थिए । कार्यक्रमको समीक्षा प्रस्तुतिसँगै चुनौती, अवसर र समाधानका विकल्पसम्बन्धी सामूहिक छलफल भएको जिल्ला समन्वय समितिले जनाएको छ ।
कुनै पनि चुनौती आइपरे त्यसको सहज समाधान खोज्नमा सहयोग पुगोस् भन्ने उद्देश्यसहित वार्षिक समीक्षा मात्र नभई असल अभ्यास आदानप्रदान गर्ने कार्यक्रम राखिएको जिल्ला समन्वय अधिकारी डम्बरबहादुर जिसीले बताउनुभयो ।
समीक्षामा फुङ्लिङ नगरप्रमुख अमिर मादेन, जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङ्खिम, स्थानीय तहका पदाधिकारीहरु, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँसहित सरोकारवाला सरकारी र गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो । जिल्लास्तरीय वार्षिक समीक्षासँगै राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ ताप्लेजुङको सार्वजनिक सुनुवाइ तथा सार्वजनिकीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।