रमेश पौडेल
पोखरा, भदौ १७ गते । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र कोपिला नेपालबिच गण्डकी प्रदेश दीर्घकालीन पुनर्स्थापना केन्द्र सञ्चालनका लागि सम्झौता भएको छ। सम्झौतामा मन्त्रालयका महाशाखा प्रमुख प्रकाशचन्द्र ढुङ्गाना र कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवालले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतामा कोपिला नेपालले “गण्डकी प्रदेश दीर्घकालीन पुनर्स्थापना केन्द्र सञ्चालन (प्रथम संशोधन), कार्यविधि २०८२” बमोजिम घरेलु हिंसा, लैङ्गिक हिंसा तथा मानव बेचबिखनबाट पीडित महिला र बालिकाको उद्धार, संरक्षण, आश्रय र पुनस्र्थापना सेवा प्रदान गर्ने उल्लेख छ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री बिन्दुकुमार थापाले हिंसापीडित महिलाका लागि दीर्घकालीन पुनर्स्थापना केन्द्र यसअघि प्रदेशमा नभएको भन्दै अहिले प्रदेश सरकारले यसको थालनी गरेको बताउनुभयो ।
प्रदेश सरकारले ७० प्रतिशत र पोखरा महानगरपालिकाले ३० प्रतिशत बजेट व्यवस्थापन गरेर केन्द्र सञ्चालनलाई सुनिश्चित गराइने उहाँको भनाइ थियो । कोपिला नेपालले दीर्घकालीन पुनर्स्थापना केन्द्रलाई व्यवस्थित तवरले सञ्चालन गर्नेमा आफू विश्वस्त रहेको थापाले बताउनुभयो ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव नवराज ढकालले लामो समयदेखि प्रयास हुँदै आएको दीर्घकालीन पुनर्स्थापना केन्द्र स्थापनाको कार्य २०८२ सालमा कानुनी कार्यविधि पारित भएपछि सम्भव भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यस सम्झौतामार्फत केन्द्र सञ्चालनलाई ऐतिहासिक दिनको संज्ञा दिनुभयो । कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवालले लामो यात्रापछि सपना पूरा भएको बताउनुभयो ।