• १७ भदौ २०८२, मङ्गलबार

क्षमताभन्दा बढी कैदीबन्दीले कारागारभित्र पीडा

blog

इलाम सदरमुकाममा सुधारगृहका रूपमा रहेको इलाम कारागार । तस्बिरः कोकिला ढकाल

कोकिला ढकाल

इलाम, भदौ १७ गते । सुधार गृहका रूपमा व्यवस्थापन गरिएको इलाम कारागार सञ्चालनमा आएदेखि क्षमताभन्दा बढी कैदीबन्दीको समस्या झेल्दै आएको छ । १२५ जना कैदीबन्दीको क्षमता रहेको कारागारमा अहिले ३३० जना कैदीबन्दी रहेका छन् । 

१६ महिला र ३१४ जना पुुरुष कैदीबन्दी रहेको कारागार इलामले जनाएको छ । यीमध्ये नौ जना विदेशी र पाँचजना मानसिक रोगी समेत रहेको बताइएको छ । कारागारलाई सुधारगृहका रूपमा लिइए पनि सङ्ख्या धेरै भएकाले खानेपानीको समस्या बढी हुनेगरेको कारागार प्रमुख मधु विशुुंङ्खेले बताउनुुभयो । 

‘बिजुली र शौचालयको पनि समस्या उत्तिकै छ । समाधानका विभिन्न प्रयास गर्‍यौं र पूर्ण समाधान हुुन सकेको छैन’ उहाँले भन्नुुभयो, ‘क्षमताभन्दा बढी सङ्ख्या भएपछि खानेपानी, शौचालयजस्ता आधारभूत सुविधा पूरा गराउन निकै समस्या भएको छ ।’ विशुुंङ्खेलेका अनुसार गएको आर्थिक वर्षमा इलाम कारागारबाट १३८ कैदीबन्दी छुटेका थिए । अन्य ठाउँबाट ३१ जना स्थानान्तरण गरी र इलामबाट १३ जना स्थानान्तरण गरी गएका छन् । 

कारगारमा अहिले ६० वर्ष उमेर पुुगेका १६ जना, नियमित औषधी सेवन गर्ने २१ जना र एक जना एचआइभी पोजेटिभ समेत रहेको बताइएको छ ।