नेत्र शाही
जुम्ला, भदौ १७ गते। गगने खोलाको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लाको स्याउ कुहिने भएको छ।जुम्लाबाट सुर्खेत जाने एक मात्र सडक कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बोकेका २३ वटा ट्रक बाटोमा अलपत्र परेका हुन्। जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार २३ वटा स्याउका ट्रक अहिले बाटोमा रोकिएका छन्।राजमार्ग तत्काल खुल्न नसके झन्डै १३ करोड रुपियाँ बराबरको स्याउ कुहिने भएको छ।
गत भदौ १४ गते त्यस क्षेत्रमा आएको पहिरोले बाटो बन्द हुँदा चार दिनदेखि सयौं यात्रु, दर्जनौं स्याउका ट्रक, सवारी तथा मालवाहक गाडी अलपत्र परेका छन्।
सडक डिभिजन कार्यालयका अनुसार पहिरो पन्छाउन जेसिभी लगायतका साधन प्रयोग भए पनि ठूला ढुङ्गा नै खसेपछि पन्छाउन सकस भएको हो।सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र चौधरीका अनुसार सोमबारदेखी नेपाली सेनाले कर्णाली राजमार्गको गगनेखोलामा ब्लाष्टिङ गर्न सुरु गरेको छ ।
सडक डिभिजनका प्रमुख चौधरीका अनुसार पहाडै खसे जस्तो पहिरो आएपछि पन्छाउन समय लागेको हो।जुम्ला जाजरकोट सडक खन्न सुरु गरेको वर्षौं हुँदा पनि जोड्न सकिएको छैन।सडक जोडेमा वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न सकिनेछ।अर्को जुम्ला–महावु–दैलेख सडकसमेत सञ्चालनमा ल्याउने हो भने सहज हुने देखिन्छ ।