धनगढी समाचारदाता
धनगढी, भदौ १७ गते । सुदूरपश्चिम प्रदेशमा गिद्धको अवस्था सुधारोन्मुख देखिएको छ । पछिल्लो समय समुदायका मानिसमा संरक्षणसम्बन्धी बढेको चेतना, गिद्धलाई असर गर्ने विषादी निषेधलगायत कारणले गिद्धको अवस्था सुधारोन्मुख भएको हो । विगतमा धेरै देखिएको गिद्ध बिचमा हराउन थालेका थिए तर समुदाय सचेत हुनुका साथै संरक्षणसम्बन्धी गतिविधि बढेपछि फेरि गिद्धको ‘कोलोनी’ यत्रतत्र देखिन थालेको छ ।
यस प्रदेशको कञ्चनपुर, कैलाली, बैतडी, डडेलधुरामा गिद्धको कोलोनी रहेको चराविद् एवं नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) का फिल्ड अधिकृत हिरूलाल डङ्गौराले जानकारी दिनुभयो । उहाँले यस वर्ष थप कोलोनी पत्ता लाग्ने सम्भावना रहेको उल्लेख गर्नुभयो । डङ्गौराले भन्नुभयो, “कतिपय ठाउँमा अझै पुग्न सकेका छैनौँ यस प्रदेशको थप अन्य जिल्लामा गिद्धको नयाँ कोलोनी फेला पर्ने सम्भावना धेरै छ ।”
गिद्धको समूहलाई कोलोनी भन्ने गरिन्छ । यस्ता कोलोनी विगतमा कैलालीमै धेरै थिए । कैलालीको जाली सामुदायिक वनक्षेत्र र खुटिया वनक्षेत्रमा २०६८ सालतिर गिद्धको कोलोनी नेपालमै सबैभन्दा ठुलो पाइएको संरक्षणकर्मी विजयराज श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पछि त्यो कोलोनी अन्यत्र स¥यो तर कैलालीका थुप्रै ठाउँमा अझै पनि गिद्धले गुँड लगाउने गरेका छन् ।”
आफैँ सिकार नगर्ने तर मरेका, सडेगलेका सिनोमात्रै खाने गरेकाले गिद्धलाई प्रकृतिको कुचीकार पनि भनिन्छ । गिद्धले वातावरणलाई प्रदूषित र दुगन्धित हुनबाट जोगाउनुका साथै स्वच्छ, सफा राखी हैजा, आउँ, झाडापखाला, रेबिज, प्लेग, क्षयरोग, एनथ्राक्स जस्ता रोगको महामारी फैलिनबाट जोगाउने गरेका छन् । गिद्ध प्रकृतिको अभिन्न अङ्ग रहेकाले पर्यावरणीय चक्र र खाद्य शृङ्खला सन्तुलित राख्न यसको उपस्थिति अनिवार्य रहेको संरक्षणकर्मी बताउँछन् । सुदूरपश्चिम प्रदेशमा गत वर्ष १४३ वटा गिद्धको सक्रिय गुँड भेटिएको थियो । यस वर्ष बढेर १५५ पुगेको बिसिएनले जानकारी दिएको छ । सो संस्थाले हरेक वर्ष गिद्धको गुँड अनुगमन गर्ने गरेको छ । यस वर्ष कञ्चनपुरमा सबैभन्दा बढी १२६, बैतडीमा १२, डडेलधुरामा १० र कैलालीमा सात वटा गुँड पाइएको छ । कञ्चनपुर र डडेलधुरामा गिद्धको गुँड बढेको छ भने कैलाली र बैडीमा विगत वर्षको तुलनामा केही घटेको छ । यस प्रदेशमा अति सङ्कटापन्न डङ्गर, सानो खैरो, लामो ठुँडे, सुन गिद्ध, सङ्कटापन्न सेतो गिद्ध र सङ्कटको नजिक रहेका हिमाली, हाडफोर, खैरो, राज गिद्ध गरी नौ प्रजातिका गिद्ध पाइने गरेका छन् । कञ्चनपुरमा आठ र कैलालीमा सात प्रजातिका गिद्ध रहेका जनाइएको छ ।
यसैबिच नेपालमा साताव्यापी रूपमा १७ औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस सचेतनामूलक विविध कार्यक्रम गरेर मनाउन थालिएको छ । प्रत्येक वर्ष सेप्टेम्बरको पहिलो शनिबार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस संसार मनाउने गरिन्छ । नेपालमा आफ्नो योजना र अनुकुलता अनुसार सेप्टेम्बर १ देखि ७ सम्म यो दिवस मनाइन्छ । विषादी प्रयोग, वनविनाश, बासस्थानको विनाशलगायतका कारणले गिद्धको अस्तित्व खतरामा परिरहेको छ । यद्यपि गिद्ध संरक्षणका लागि पछिल्लो समय नेपालका विभिन्न जिल्लामा जटायु रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको छ ।
बडीमालिका पुग्यो नवलपरासीको गिद्ध
पूर्वी नवलपरासीको जटायु रेस्टुरेन्टबाट नेपाल–भारत हुँदै पुनः नेपाल छिरेको अति सङ्कटापन्न सानो खैरो गिद्ध सुदूरपश्चिम प्रदेशको धार्मिक पर्यटकीय क्षेत्र बडीमालिका पुगेको छ ।
खुट्टामा लेग ट्याग (रिङ) ‘जे १६’ लगाइएको सो गिद्ध असार २७ गते नवलपरासीबाट उडेको थियो । झन्डै छ सय किलोमिटर फन्को लगाएर साउन १९ गते कैलालीमा बिरामी अवस्थामा फेला परेको सो गिद्धलाई उपचार गरेर कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको थियो । जिपिएस ट्र्याकिङका आधारमा अनुगमन भइरहेको सो गिद्ध अहिले बाजुराको बडीमालिका क्षेत्रमा रहेको चराविद् डङ्गौराले जानकारी दिनुभयो ।