• २५ असार २०८१, मङ्गलबार

ड्रागन फ्रुटको व्यावसायिक खेतीबाट मनग्य आम्दानी

blog

धनुषाको बडहरीमा उत्पादन गरिएको ड्रागन फ्रुटका बिरुवा । तस्बिर - विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, असार १२ गते । ड्रागन फ्रुटको व्यावसायिक खेती गर्दै आइरहनुभएका धनुषाका दुई युवा ड्रागन फ्रुटको बिरुवा उत्पादन मनग्य आम्दानी लिइरहनुभएको छ । 

जिल्लाको बटेश्वर गाउँपालिका–१ का सञ्जयकुमार महतो र मिथिला नगरपालिका–९ बडहरीका उमेशकुमार महतो ड्रागन फ्रुटको व्यावसायिक खेतीसँगै बिरुवा उत्पादन गरेर पुग्दो आम्दानी गरिरहनुभएको छ । 

मिथिला नगरपालिकाको कृषि शाखामा पनि उहाँहरु कार्यरत हुनुहुुन्छ । सञ्जयकुमार कृषि शाखाका प्रमुख हुनुहुन्छ भने उमेशकुमार कृषि प्राविधिक ।

उहाँहरुले विगत एक वर्षदेखि मिथिला नगरपालिका–९ बडहरीमा नर्सरी स्थापना गरी ड्रागन फ्रुटको बिरुवा उत्पादन गर्दै आउनुभएको छ । उहाँहरुले एक वर्षमा पाँच हजार ड्रागन फ्रुटका बिरुवा उत्पादन गरेर विक्री गरिसक्नुभएको छ । 

स्थानीयस्तरमा ड्रागन फ्रुटको खेती विस्तार तथा ड्रागन फ्रुटको खेती गर्न चाहने किसानलाई सहज तरिकाले बिरुवा उपलब्ध गराउने उद्देश्य बिरुवा उत्पादन गर्न थालेको उहाँहरुले बताउनुभयो । 

एउटा बिरुवाको एक सयदेखि दुई सय रुपियाँसम्म लिने गरिएको बताउँदै उहाँहरुले मागअनुसार उत्पादन गर्न नसकिएको जानकारी दिनुभयो । बिरुवा उत्पादन गर्न चारदेखि छ महिनासम्म समय लाग्ने भएकाले माग धान्न नसकिएको हो । एक खेपमा पाँच हजारभन्दा बढी बिरुवा उर्मान ठाउँको अभाव छ, बिरुवा उत्पादनमा संलग्न सञ्जयकुमारले भन्नुभयो । 

दुई वर्ष अगाडि एक विघा जमिन भाडामा लिएर जिल्लामै पहिलो पटक ड्रागन फ्रुटको व्यवसायिक खेती शुरु गर्नुभएका उहाँहरुले बिरुवा भने भारतबाट ल्याउनुभएको थियो । स्थानीयस्तरमा ड्रागन फ्रुटको व्यवसायिक खेती गर्नेहरुको सङ्ख्या बढेपछि बिरुवाको माग पनि बढ्दै गएको छ । अहिले दुइ वटा टनेलमा गरी करिब सात हजार बिरुवा उमारिएको छ । जसमध्ये ९० प्रतिशत बिरुवा पूर्णरुपमा तयार नहुँदै विक्री भइसकेको छ, उहाँले भन्नुभयो । 

ड्रागन खेती सुरु गरेको पहिलो सिजनमै दुई लाख रुपियाँभन्दा बढी आम्दानी हात पार्नुभएका उहाँहरूले बिरुवा उत्पादनबाट पनि राम्रै आम्दानी भइरहेको अर्का उमेशकुमार बताउनुहुन्छ । 

उहाँहरुले भारतको गुजरातबाट तीन हजार ड्रागनका बिरुवा ल्याएर ७२८ वटा सिमेन्टको खम्बा (पिलर) मा रोप्नु भएको छ । रातो फलभित्र रातो फल र रातो फलभित्र सेतो फल भएका दुइ प्रकारका ड्रागनका अलावा रातो फलभित्र पहेँलो फल भएका ४० वटा बिरुवा भियतनामबाट मगाएर रोप्नुभएको छ । शुरुको अवस्थामा धेरै दुःख भोग्नु परे पनि आम्दानी हुन थालेपछि खुशी लागिरहेको उमेशकुमारले भन्नुभयो ।