खाँदबारी समाचारदाता
सङ्खुवासभा, भदौ १७ गते । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले सार्वजनिक सेवामा ढिलासुस्ती र अलमल्याउने प्रवृत्ति तत्काल अन्त्य गर्न निर्देशन दिनुभएको छ ।
सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा सोमबार आयोजित ‘नागरिक सन्तुष्टि र सुशासन प्रवर्धनमा सार्वजनिक निकायको भूमिका’ विषयक अन्तव्र्रिmयामा उहाँले सरकारी कार्यालयमा नागरिकले सहज, छिटो र प्रभावकारी सेवा पाउनुपर्नेमा जोड दिनुभयो । अर्यालले टेबलमा पुगेको कामलाई ढिला नगरी काम गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जनतालाई गुनासो गर्ने अवसर दिन हुँदैन । सरकारले दिने सेवा प्रवाहलाई व्यवस्थित बनाउन कानुनी तथा संरचनागत सुधार पनि भइरहेको छ ।”
समान प्रकृतिका कार्यालयलाई एकीकृत गर्ने तयारी भइरहेको उल्लेख गर्दै उहाँले चीन र भारतसँग जोडिने सङ्खुवासभाको उत्तरी नाका किमाथाङ्का सञ्चालनमा ल्याउनुपर्नेमा विशेष जोड दिनुभयो । किमाथाङ्का नाका सहज रूपमा सञ्चालन भए सङ्खुवासभालाई समृद्ध र पर्यटकीय सम्भावनायुक्त जिल्लाका रूपमा स्थापित गर्न सकिने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले पनि किमाथाङ्का नाका दुई छिमेकी मुलुकलाई जोड्ने महìवपूर्ण प्रवेशद्वार भएकाले यसको स्तरोन्नति आवश्यक रहेको धारणा राख्नुभयो । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले कानुन र कार्यविधि स्पष्ट पार्दै सीमानाका सञ्चालन नगरी सङ्खुवासभालाई उत्पादनमुखी क्षेत्रका रूपमा रूपान्तरण गर्न नसकिने बताउनुभयो ।
जिल्लाको वस्तुस्थिति प्रस्तुत गर्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख हिमालय पोख्रेलले हाल सङ्खुवासभामा ३९ वटा जलविद्युत् आयोजना सञ्चालनमा रहेको जानकारी दिनुभयो । उहाँले अरुण नदीबाट मात्रै करिब पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना रहेको प्रस्ट पार्नुभयो ।