• २८ वैशाख २०८१, शुक्रबार

पाल्पामा ट्राफिक नियम उल्लङ्घनकर्ता कारवाहीमा

blog

सिद्धार्थ राजमार्गमा सवारीसाधनलाई चेकजाँच गर्दै ट्राफिक प्रहरी । तस्विर - रेखीराम राना

रेखीराम राना

पाल्पा, असार १२ गते । पाल्पामा एकै महिनामा ट्राफिक नियम उल्लङ्घन गरेका एक हजार नौ सय बढी सवारी साधन कारवाहीमा परेका छन् । ट्राफिक नियम पालना नगर्ने, दुर्घटना गर्ने गरी सवारी साधन हाँकेका, ओभरलोड बोक्ने, स्वरुप बिगारेर चलाउने सवारीसाधन गरी झण्डै दुई हजार सवारीसाधन कारवाहीमा परेका हुन् ।

जिल्लाको विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा ३८० ट्रक र ट्रिपर, दुई सय ३८ वटा बस कारवाहीमा परेका छन् । यस्तै, ६१० वटा कार तथा जीपभ्यान, १५२ वटा ट्याक्टर र ५३० वटा मोटरसाइकल कारवाहीमा परेका छन् । 

नौ वटा सवारीलार्ई मादक पदार्थ सेवन गरी सवारीसाधन हाकेकोमा कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर रेग्मीले जानकारी दिनुभयो । सवारी दुर्घटना कम गर्ने अभियान अन्तर्गत जिल्लाको विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा सवारीसाधनले ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाएको पाइएको प्रमुख रेग्मीले बताउनुभयो । 

२०७९ जेठ महिनाभर एक हजार ९०९ सवारीसाधनमाथि कारबाही गर्दा १२ लाख ५८ हजार पाँच सय राजश्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पछिल्लो समयमा सवारी दुर्घटना न्यूनीकरण गर्नको लागि हाइवे चेकिङ, गस्ती, चेकजाँचका क्रममा यी सवारी साधनलाई कारवाही गरिएको छ । 

केही सवारीलाई भने आगामी दिन गल्ती नगर्ने गरी जरिवाना लिएर छाडिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।