गणेश खनाल
अर्घाखाँची, भदौ १७ गते । अर्घाखाँचीको नेवार समुदायको मौलिक सांस्कृतिक पहिचान भैरवनाच सुरु भएको छ । श्रीकृष्ण जन्माष्टमीको दिन सुरु हुने यो नाच कात्तिक औँसीसम्म चल्ने गर्दछ । स्थानीय मान्यता अनुसार यो नाचको विसर्जन देउसीभैलीको मादल बज्नुअघि गर्नु पर्छ ।
भैरवनाच तान्त्रिक विधिसहित राति विशेष गरी सूर्य अस्ताएपछि सूर्योदयअघिसम्म प्रदर्शन गरिन्छ । यसै गरी उज्यालो हुँदा वा खोला तरेर अन्य गाउँमा नाच्न जाँदा बोकाको बलि दिनु पर्छ भन्ने विश्वास छ । नाचमा कालभैरव मुख्य, श्वेतभैरव र रातोभैरव सहायक र डङ्किनी रहेका हुन्छन् । यी भूमिका नारी भेषमा पुरुष नर्तकले निर्वाह गर्छन् । नर्तक र डङ्किनीलाई स्थानीयले भगवान्को प्रतीकका रूपमा पूजा गर्छन् ।
तिनै भैरव, नर्तक रङ्गीन खप्पर, कपडा, चौँरीगाईको पुच्छर र माला लगाएर भगवान्को आकृतिमा सजिन्छन् । डङ्किनीले नाचलाई थप जीवन्त बनाउँछ । भैरवनाच सात तालसम्म नाचिन्छ । प्रत्येक तालको लय फरक हुन्छ । लाठीनाच, घोडानाच, चरानाच, लाहुरेलाहुरेनीनाच, भालुनाच र हास्यव्यङ्ग्य विधा मिसाएर नाच थप रोचक बनाइन्छ । यस वर्षको भैरवनाच सन्धिखर्क नगरपालिका–१२, डिर्भना झेँडीबाट भैरवनाच संरक्षण समितिले शुभारम्भ गरेको छ । रातमा मात्र प्रदर्शन हुने नाच हेर्न हजारौँ दर्शकको उपस्थिति रहेको थियो । नेवार समुदायबाहेक अन्य समुदायका मानिस पनि यस नाचमा आकर्षित छन् ।
भैरवनाच नजिकका जिल्ला गुल्मी, प्युठान, पाल्पा, कपिलवस्तु, रुपन्देही र काठमाडौँमा समेत लोकप्रिय छ । भारतको नयाँदिल्लीमा पनि यो नाच प्रदर्शन गरिएको छ ।
डिर्भना झेँडी भैरवनाच संरक्षण समितिका अध्यक्ष चन्दलाल श्रेष्ठका अनुसार नाचको शैली स्थान अनुसार फरक भए पनि धार्मिक आस्था, जनविश्वास र सांस्कृतिक महìव भने उस्तै रहँदै आएको छ । नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले भन्नुभयो, “नेवार बाहुल्य समाजमा प्रचलित यो नाचले जातीय सद्भाव कायम गर्दै आएको छ ।”
हाल नयाँ पुस्तामा चासो घट्दै गएकोमा भने यहाँका संस्कृतिविद् चिन्तामा छन् । यसको संरक्षण र प्रवर्धन नहुँदा भविष्यमा यो सांस्कृतिक सम्पदा कथा जस्तै मात्र रहन सक्ने चिन्ता रहेको विज्ञले बताएका छन् ।