• १७ भदौ २०८२, मङ्गलबार

प्रमद्वारा एससिओ सम्मेलनलाई सम्बोधन

‘विश्वलाई विभाजन होइन साझेदारी चाहिन्छ’

blog

प्रधानमन्त्री केपी शर्मा ओली चीनको तियान्जिनमा सोमबार साङ्घाई सहयोग सङ्गठन (एससिओ) को २५ औँ शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

करुण अर्याल

बेइजिङ, भदौ १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वलाई विभाजन होइन, साझेदारी चाहिने बताउँदै क्षेत्रीय र विश्वव्यापी रूपमा मिलेर काम गरे मात्र न्यायपूर्ण, समावेशी, लचिलो व्यवस्था र दिगो विकास गर्न सकिनेमा जोड दिनुभएको छ ।    

चीनको तियान्जिनमा सोमबार साङ्घाई सहयोग सङ्गठन (एससिओ) को २५ औँ शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । उहाँले  अहिले विज्ञान, प्रविधि र नवप्रवर्तनको अभूतपूर्व प्रगति भए पनि ती प्रगति विश्वव्यापी रूपमा देखा परेको फराकिलो असमानता, आर्थिक समस्या, जलवायु परिवर्तन र द्वन्द्वका कारण ओझेलमा परेको बताउनुभयो  । 

बहुपक्षीय सङ्गठनहरूले यस्ता समस्यालाई प्रभावकारी रूपमा समाधान गर्न नसकेको अवस्थामा वैश्विक शासनको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले चीनले अघि सारेको ग्लोबल गभर्नेन्स इनिसिएटिभ (जिजिआई) ले बहुपक्षीय प्रणालीलाई स्थापित गर्न तथा न्यायपूर्ण, समावेशी र समतामूलक विश्व व्यवस्था सिर्जना गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “साङ्घाई सहयोग सङ्गठनले सार्वभौम समानतामा आधारित पुनर्जीवित बहुपक्षीयताको भावनालाई बलियो बनाउने छ ।”

उहाँले क्षेत्रीय सहयोग तथा सङ्गठनप्रति नेपालको गहिरो प्रतिबद्धता रहेको उल्लेख गर्दै नेपालले नियममा आधारित समावेशी तथा दिगो बहुपक्षीय प्रणालीको समर्थन गर्ने बताउनुभयो । नेपाल एससिओको भावनामा आधारित सम्बन्ध र मित्रता अघि बढाउन इच्छुक भएको पनि उहाँले भन्नुभयो । नेपालले एससिओभित्र क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने आफ्नो प्रतिबद्धतालाई सदैव कायम राख्ने बताउँदै प्रधानमन्त्री ओलीले साङ्घाई भावनालाई समर्थन गर्दै मित्रता, साझेदारी र असल छिमेकी सम्बन्धलाई बलियो बनाउन जोड दिनुभयो । 

बहुपक्षीय मञ्चमा व्यक्त गरिएका प्रतिबद्धता अनुसारको कार्यान्वयन कम भएकाले त्यसले विश्वास घट्दो छ तर त्यसो भन्दैमा बहुपक्षीय मञ्च त्याग्नु नहुने भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “वर्तमान अवस्थामा पुनस्र्थापित गरिएको बहुपक्षीयता चाहिन्छ ।” उहाँले संयुक्त राष्ट्रसङ्घलाई यसको केन्द्रमा राखेर विश्वव्यापी शासन प्रणाली अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।  

हामीलाई अहिले अझ एकीकृत, अझ समाहित र लचिलो एससिओको खाँचो छ, भन्दै उहाँले भन्नुभयो, “गहिरिँदै गएका भूराजनीतिक, आर्थिक र पारिस्थितिक सङ्कटहरूलाई सामूहिक रूपमा सामना गर्नु पर्छ । नेपाल सन् २०१६ देखि एससिओको संवाद साझेदार छ । अब पूरा सदस्यता प्राप्त गर्ने आशा राख्दछ ।”

प्रधानमन्त्री ओलीले क्षेत्रीय सुरक्षालाई सम्बोधन नगरी शान्तिको कुरा नसकिने बताउँदै आतङ्कवादले समाजबाट सुरक्षा र अवसर खोस्ने बताउनुभयो । क्षेत्रीय सहकार्यप्रति नेपालको प्रतिबद्धता दृढ रहेको बताउँदै उहाँले एससिओ सदस्यहरूसँग नेपालको सम्बन्ध बलियो रहेको बताउनुभयो । संयुक्त रूपमा काम गर्न प्रतिबद्ध भए मात्रै सुदृढ र समृद्ध एससिओ सबैको पहुँचमा हुने उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले  जलवायु परिवर्तनले जोखिम बढाएको र यसको महसुस हिमाललाई मुटुमा बोकेको नेपालले महसुस गरिरहेको  उल्लेख गर्नुभयो । 

भौतिक, आर्थिक, डिजिटल, सामाजिक–सांस्कृतिक र जनता–जनताबिचको सम्बन्ध एकअर्कामा बढाए क्षेत्रीय शान्ति, प्रगति र समृद्धिमा टेवा पुग्ने बताउँदै प्रधानमन्त्री ओलीले साङ्घाई भावनालाई अँगालेर, हामीले गहिरो समझदारी गर्न संवाद र कूटनीतिलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।  

चीनका राष्ट्रपति सी चिनफिङले सम्मेलनको उद्घाटन गर्दै ‘ग्लोबल गभर्नेन्स इनिसियटिभ’ (जिजिआई) को प्रस्ताव राख्नुभयो । प्रस्तावित जिजिआईका पाँच प्रमुख सिद्धान्तहरूमा सार्वभौमिक समानतामा अडिग रहनुपर्ने, अन्तर्राष्ट्रिय कानुनी शासनको पालना गर्नुपर्ने, बहुपक्षीयताको अभ्यास गर्नुपर्ने, जनमुखी दृष्टिकोणको वकालत गर्नुपर्ने र वास्तविक कामहरूमा केन्द्रित हुनुपर्ने भन्ने छन् । चीनले पाँचौँ पटक एससिओको आयोजना गरेको हो । 

यसअघि एससिओको राष्ट्र प्रमुख परिषद्को सोमबार बसेको बैठकले लाओसलाई संवाद साझेदारको स्वीकृति दिएको छ । नेपाल सन् २०१६ मा एससिओमा संवाद साझेदारको रूपमा आबद्ध भएको थियो ।

द्विपक्षीय भेटमा प्रधानमन्त्री 

यसै सन्दर्भमा प्रधानमन्त्री ओलीले सोमबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोन्ङलौन सिसौलिथसँग द्विपक्षीय भेटवार्ता गर्नुभयो । 

प्रधानमन्त्री ओली र रूसी सङ्घका राष्ट्रपति पुटिनबिच भएको बैठकमा नेपाल–रूस सम्बन्धलाई अझ सुदृढ पार्नुका साथै व्यापार, लगानी, शिक्षा तथा संस्कृति र हवाई सम्पर्क जस्ता क्षेत्रहरूमा पारस्परिक लाभका आधारमा सहयोग प्रवद्र्धन गर्ने विषयमा छलफल भयो । 

बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबिच भएको साइडलाइन बैठकमा विविध विषयमा छलफल भएको छ ।  यसै गरी माल्दिभ्सका राष्ट्रपति डा. मिज्जुसँगको भेटमा जलवायु परिवर्तनबाट परेको असर र त्यसमा ठुला मुलुकले निर्वाह गर्नुपर्ने दायित्वका विषयमा समान धारणा रहेको थियो । प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको सुरक्षाको अवधारणामा मिलेर काम गर्न राष्ट्रपति डा. मिज्जुसँग आग्रह गर्नुभएको थियो । 

कम्बोडियाका प्रधानमन्त्री डा. महानेटसँगको दुईपक्षीय भेटवार्तामा दुई देशबिचको सम्बन्ध, व्यापार र लगानीका क्षेत्रहरूको विस्तारलगायत विषयमा छलफल भएको थियो । उहाँहरूबिच दुई देशबिचको आपसी सम्बन्धका विविध पक्षमा कुराकानी हुनुका साथै उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने विषयमा पनि छलफल भयो । लाओसका प्रधानमन्त्री सिपानडोनसँगको भेटमा प्रधानमन्त्री ओलीले साझा चासोका विषयमा सहकार्य गर्न सकिनेमा जोड दिनुभयो । साथै उहाँहरूले एकअर्कामा भ्रमणका लागि अनुरोध गर्नुभयो ।  

भेटमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधि सभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवंं प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधि सभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीलगायत सहभागी हुनुहुन्थ्यो ।