• १७ भदौ २०८२, मङ्गलबार

संयुक्त राष्ट्रको सूचीमा चीनको नवप्रवर्तन क्षेत्र विश्वकै शीर्षमा

blog

जेनेभा, भदौ १६ गते । संयुक्त राष्ट्रको विश्व बौद्धिक सम्पत्ति सङ्गठन (डब्लुएपीओ) ले २०२५ को नवप्रवर्तन सूचकाङ्कमा चीनको शेनझेन-हङकङ-गुआङ्जो समूहलाई विश्वकै शीर्ष नवप्रवर्तन केन्द्र घोषणा गरेको छ । यस समूहले जापानको टोकियो-योकोहामालाई पछि पार्दै पहिलो स्थान ओगटेको हो । 

नयाँ सूचकाङ्कमा लगानी पूँजीलाई समावेश गरेपछि सूचीमा ठुलो परिवर्तन आएको छ, जसले नयाँ व्यवसाय र उत्पादन विकासमा केन्द्रीत नवप्रवर्तन गतिविधिलाई प्रभावकारी रूपमा देखाउँछ । डब्लुएपीओका अनुसार, शेनझेन-हङकङ-गुआङ्जो र टोकियो-योकोहामा विश्वका करिब एक पाँचौं भाग पेटेन्ट आवेदन र वैज्ञानिक प्रकाशनहरूको मुख्य स्रोत हुन् । 

सेन जोस-सेन फ्रान्सिस्कोले तेस्रो स्थान ओगटेको छ भने लन्डन र बेङ्गलुरूले पनि उल्लेखनीय उछाल देखाएका छन् । नयाँ मूल्याङ्कन अनुसार पूर्वी एसियाली समूह केही घटेका छन् भने अमेरिकी समूहहरू बढेका छन्, साथै भारतका नवप्रवर्तन समूहहरू पनि यस वर्ष प्रगति गरेका छन् ।

चीनले लगातार तेस्रो वर्ष सबैभन्दा धेरै २४ नवप्रवर्तन समूह शीर्ष १०० मा राखेको छ, जुन संयुक्त राज्य अमेरिकाको २२ समूहभन्दा बढी हो । जनसङ्ख्याको अनुपातमा सेन जोस–सेन फ्रान्सिस्को र बेलायतको क्याम्ब्रिज सबैभन्दा नवप्रवर्तनशील क्षेत्रका रूपमा पहिचान भएका छन् । यी समूहले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नवप्रवर्तन प्रणालीलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । रासस/एएफपी