• ६ वैशाख २०८१, बिहिबार

विपत् व्यवस्थापन र उद्धारका लागि तयारीमा सेना

blog

काठमाडौँ, असार १२ गते । मनसुन सुरु भएसँगै सम्भावित बाढीपहिरो र डुबानबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण तथा उद्धारका लागि नेपाली सेना तयारी अवस्थामा रहेको छ । गृह मन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०७९ पारित गरी उद्धार, पुनस्र्थापना तथा राहतमा नेपाली सेनाको नेतृत्वमा अन्य तीनवटा सुरक्षा निकायलाई परिचालन गर्ने निर्णय गरेको छ ।

मनसुन पूर्ण रूपमा सक्रिय हुनुपूर्व हुन सक्ने जनधनको क्षति कम गर्न तथा खोज एवं उद्धारमा प्रभावकारी रूपमा परिचालन हुनेगरी सेना पूर्वतयारीमा जुटेको हो । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले सम्भावित विपत् व्यवस्थापन तथा उद्धारका लागि नेपाली सेना ७७ वटै जिल्लामा तयारी अवस्थामा रहेको बताउनुभयो ।

सेनाले सम्भावित क्षेत्रको पहिचान गरी पूर्वतैनाथी तथा तयारी गरेको छ ।राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपटक वर्षा र बाढीपहिरोका कारण देशभर चार लाख २६ हजार घरधुरीमा क्षति पुग्ने र २० लाख जनसङ्ख्या प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ ।

नेपाली सेनाले विपत् व्यवस्थापनका लागि देशका चारवटा कमान्ड मुख्यालय तथा ७७ वटै जिल्लामा रहेका गण तथा प्लाटुनबाट जुनसुकै अवस्थामा परिचालन हुनेगरी एक हजार २७६ सैनिक तयारी अवस्थामा राखेको छ । नौ हजार ७१६ विशेष तालिम प्राप्त सैनिक रिजर्भ फोर्सका रूपमा तयारी अवस्थामा राखिएको छ ।

सम्भावित क्षति कम गर्न सामुदायिक विपत् प्रतिकार्य तालिम २० हजार ३६३ स्थानीयलाई सेनाले तालिम प्रदान गरिसकेको छ । डुबान तथा बाढीले क्षति पु-याउन सक्ने मध्यतराई तथा नदी क्षेत्रमा उद्धारका लागि ७१ वटा मोटरबोट र ८० वटा रबरबोट तयारी अवस्थामा राखिएको छ । 

बाढीपहिरोबाट राजमार्ग अवरुद्ध हुन सक्ने पूर्वानुमानअनुरूप त्यस्तो अवस्थामा तत्काल राजमार्ग सुचारु गर्न पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर र चितवनको नारायणघाट तथा पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी र काठमाडौँको थानकोटमा आकस्मिक पुल (एक्रोब्रिज)समेत तयारी अवस्थामा राखिएको छ । विपत् व्यवस्थापनमा निर्देशनालयमा २९ जना, राष्ट्रिय विपत् व्यवस्थापन शिक्षालयमा १०५ जना र विपत् व्यवस्थापन गणमा ५७१ गरी जम्मा एक हजार २७६ जना रहेका छन् । 

केन्द्रीय सुरक्षा समिति, स्थानीय प्रशासन, जिल्ला दैवीप्रकोप समिति तथा स्थानीय निकायबाट उद्धारका लागि माग भएमा नेपाली सेना आवश्यक समन्वय गरी खोज तथा उद्धार कार्यमा परिचालन हुने गरेको छ । कठिन भौगोलिक बनावट रहेका स्थानमा ‘ट्याक्टिकल लेभल सर्च एन्ड रेस्क्यु’ र दुर्गम स्थानमा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन आफूसँग रहेका हवाई साधनलाई समेत उपयोग गर्नेगरी तयारी अवस्थामा राखेको सेनाले जनाएको छ । 

उच्च सतर्कता अपनाउन आग्रह

पछिल्ला दिनमा निरन्तर वर्षा भइरहँदा नदीनालामा पानीको बहाव बढ्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान शाखाका बाढीविज्ञ सुनील पोखरेलले एक सातायताको समयमा ठूला, मझौला, साना नदी तथा खहरेमा बहाव बढ्न थालेकाले सतर्कता अपनाउन आग्रह गर्नुभयो । 

उहाँका अनुसार विशेषगरी पाल्पा र नारायणीआसपासका नदी तथा खहरेमा शुक्रबारदेखि नै बहाव तीव्र रूपमा बढेको छ । शनिबारबाट प्रदेश १ को इलाम, सङ्खुवासभा, उदयपुर, बागमती प्रदेशका दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गण्डकी प्रदेशका गोरखा, लमजुङ, कास्की, म्याग्दी, बागलुङ र लुम्बिनी प्रदेशको रोल्पाका नदी तथा खहरेमा पानीको बहाव बढ्दै गएको छ । 

उहाँले आइतबारदेखि बूढीगण्डकी, त्रिशूली, कालीगण्डकी, कोसी, पश्चिम राप्ती, बागमती, कनकाईलगायतका ठूला नदी र आसपासका साना नदीमा बहाव बढ्ने तथा केही खहरेमा आकस्मिक बहाव हुने भएकाले सतर्क  रहनुपर्ने बताउनुभयो । सोमबारदेखि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका ठूला तथा साना नदीमा बहाव सतर्कता तहसम्म पुग्ने अनुमान बाढी पूर्वानुमान शाखाले गरेको छ । महाशाखाका मौसमविद् राजु प्रधानाङका अनुसार आउँदा केही दिनभित्र मनसुन देशव्यापी हुने भएको छ । 

महाशाखाकै कृषि मौसम बुलेटिनले जनाएअनुसार साताभर नै निरन्तर बदली र वर्षा हुनेछ । देशका छवटा प्रदेशमा मनसुन फैलिसकेको छ । सुदूरपश्चिम प्रदेशमा मात्र मनसुन भित्रिन बाँकी छ । अन्य प्रदेशमा मनसुनको जलवाष्पयुक्त वायुको प्रसार भइसकेकाले अब त्यो बाक्लिएर घना वर्षामा परिणत हुन बाँकी रहेको महाशाखाले जनाएको छ । 

Author

चाँदनी हमाल-मित्र भण्डारी