• ७ वैशाख २०८१, शुक्रबार

समन्वयको अभावले सास्ती

blog

काठमाडौँ, असार १२ गते । विकास निर्माण कार्यमा सरकारी निकायबीच समन्वय अभावको गतिलो उदाहरण काठमाडौँको कपनस्थित आनीगुम्बा–धोबीखोला सडकको नाला निर्माणमा देखिएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत काठमाडौँ उपत्यका विकास प्राधिकरण तथा नेपाल विद्युत् प्राधिकरणबीचको आपसी टकराव र समन्वयको अभावले सडक निर्माण प्रक्रिया प्रभावित भएको हो । 

राज्यका महìवपूर्ण निकायबीचको कलह र असमझदारीका कारण काठमाडौँ महानगरपालिका–६, बूढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ कपनका सर्वसाधारण बर्खायाम सुरु हुनासाथ बाढीको बबन्डर झेल्न बाध्य भएका छन् । विद्युत्का खम्बा सार्ने र गाड्ने कार्यमा दुई निकायबीच समन्वय छैन ।

उपत्यका विकास प्राधिकरण र ठेकेदार कम्पनी ललितपुरको बालकुमारीस्थित हाई हिमालय–पीआर जेभीले विद्युत् प्राधिकरण चाबहिलको गैरजिम्मेवारीका कारण बक्स कल्भर्ट र सडक निर्माणमा ढिलाइ भएको आरोप लगाएका छन् तर विद्युत् प्राधिकरणले ‘साइट क्लियर’ नभएको बहाना गर्दै सडक निर्माणमा भएको ढिलाइको जिम्मेवारी लिनबाट पन्छिएको छ ।

उपत्यका विकास प्राधिकरणका तत्कालीन काठमाडौँ जिल्ला आयुक्त दिनेशकृष्ण पोतेले काम तीव्र रूपमा अघि बढाउने प्रयास गरिए पनि विद्युत् प्राधिकरणले खम्बा सार्न र गाड्न ढिलाइ गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले काम छिटै गर्ने सोच बनाएका थियौँ तर प्राधिकरणबाट असहयोग भयो ।”

प्राधिकरणकै नायब विकास आयुक्त नारायणप्रसाद भण्डारीले पनि विद्युत् प्राधिकरणलाई दोष लगाउँदै ठेकेदारको पनि चरम लापरबाही रहेको उल्लेख गर्नुभयो । ठेकेदार कम्पनी हाई हिमालयका परियोजना व्यवस्थापक राजीवकुमार यादवले पनि उपत्यका विकास प्राधिकरणकै अधिकृतको स्वरमा स्वर मिलाउँदै विद्युत् प्राधिकरणका कारण ढिलाइ भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “बक्स कल्भर्ट र सडक निर्माणमा हाम्रो कारणले ढिलाइ भएको होइन । विद्युत् प्राधिकरणले पोल सार्न र गाड्न ढिलो गरेकाले पनि काम गर्न पाएनौँ ।” 

ढिला नगरेको तर्क

आफ्नो लापरबाही लुकाउन नेपाल विद्युत् प्राधिकरणलाई आरोपित गरे पनि उपत्यका विकास प्राधिकरण र ठेकेदार कम्पनीले आनीगुम्बा–धोबीखोला नाला निर्माणमा चरम लापरबाही गरेको देखिएको छ । प्राधिकरण चावहिलका प्रमुख इन्जिनियर अर्जुन पोखरेलका अनुसार १४ वटा नयाँ खम्बा गाड्न र १३ वटा एक ठाउँबाट अर्को ठाउँमा सार्नका लागि उपत्यका विकास प्राधिकरण तथा ठेकेदार कम्पनीले आवेदन दिएका थिए ।

२०७८ पुस १८ गतेदेखि नाला निर्माणको काम सुरु भए पनि अहिलेसम्ममा आनीगुम्बातर्फ ११ वटा खम्बा मात्रै गाडिएको छ । उहाँले भन्नुभयो, “नाला निर्माण सुरु भएलगत्तै खम्बा गाड्न र सार्न थालेका थियौँ तर साइट क्लियर थिएन । हामीले दुई पटक पत्र लेखेर ठाउँ खाली गर्न अनुरोध गरेका हौँ । हाम्रो पत्रको कुनै प्रत्युत्तर आएन । काम पनि भएन ।”

प्रमुख पोखरेलले कारखाना चोकसम्म खम्बा गाड्ने कार्य सम्पन्न भएको बताउँदै ‘साइट क्लियर’ भए तत्काल काम सम्पन्न गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी काम गर्न तयार छौँ । कहाँसम्म कति वडा खम्बा सार्ने–गाड्ने हो हामीलाई बताउनुप¥यो । तत्कालै काम अघि बढ्छ ।” बूढानीलकण्ठ–११ का स्थानीय अगुवा गोपाल भण्डारीले बर्खायाममा सर्वसाधारणले भोगेको त्रासदीलाई दृष्टिगत गरी उपत्यका विकास प्राधिकरण, विद्युत् प्राधिकरण र ठेकेदार कम्पनीमाथि छानबिन हुनुपर्ने माग गर्नुभयो ।