सिन्धुली समाचारदाता
सिन्धुलीमाढी, भदौ १२ गते । सिन्धुली जिल्लामा ठुला राष्ट्रिय राजमार्गको जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण कार्य बढ्दै गएको छ । जिल्लाका विभिन्न भाग हुँदै बिपी राजमार्ग, मदन भण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्ग निर्माण भई सञ्चालनमा रहेको छ । ती राजमार्गको क्षेत्राधिकारभित्रका जग्गामा विभिन्न व्यापार व्यवसाय सञ्चालनको उद्देश्यले भौतिक संरचना (घर, टहरा) निर्माण भइरहेका छन् । राजमार्गको जग्गा अतिक्रमण गरी बनाइएका भौतिक संरचनाका कारण सवारी दुर्घटनाको जाखिम पनि बढेको स्थानीयले बताएका छन् ।
राजमार्गको केन्द्रबाट दायाँ २५ र बायाँ २५ मिटर गरी ५० मिटर जग्गा राजमार्गको क्षेत्राधिकार रहे पनि जिल्लाका विभिन्न ठाउँमा उक्त जग्गाभित्र नै मापदण्डबिपरीत घर, टहरा बन्ने क्रम नरोकिएको कमलामाई नगरपालिका–४ निवासी लोकराज देवकोटा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कतै त राजमार्गको कालोपत्रे नै छोएर भौतिक संरचना बनाएको देखिन्छ । पछि उखेलेर अन्यत्र सार्न मिल्नेदेखि पक्की संरचना समेत बनाएका छन् ।”
त्यस्ता संरचना निर्माण गरी गरेको होटेल तथा व्यापार व्यवसायले तत्काललाई केही व्यक्तिलाई रोजिरोटी दिए पनि सडक नै मिचेर गरिने बढ्दो सवारी पार्किङले दुर्घटनाको जोखिम पनि रहेको उहाँको भनाइ छ । सिन्धुली जिल्लामा बिपी राजमार्ग कमलामाई नगरपालिका, सुनकोशी गाउँपालिका र गोलन्जोर गाउँपालिका हुँदै निर्माण भएको छ ।
म्दन भण्डारी राजमार्ग दुधौली नगरपालिका, कमलामाई नगरपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिका हँुदै निर्माण भएको छ । त्यस्तै मध्यपहाडी लोकमार्ग गोलन्जोर गाउँपालिका र फिक्कल गाउँपालिका हँुदै निर्माण भएको छ ।
स्थानीय तहले राष्ट्रिय राजमार्गको क्षेत्राधिकारभित्र कुनै पनि निजी भौतिक संरचना निर्माण गर्न रोक लगाएको छ तर पनि व्यक्तिले त्यसलाई बेवास्ता गर्दै व्यापारिक प्रयोजनाका लागि घर, टहरा बनाउने व्रmम नरोकिएको दुधौली नगरपालिकाका कार्यवाहक नगरप्रमुख चन्द्रकिसार थारू बताउनुहुन्छ । सरकारले सिन्धुली जिल्लामा मदन भण्डारी राजमार्ग निर्माण भएको जग्गाको लगत कट्टा गरी सार्वजनिकसमेत नगरेको उहाँले जानकारी दिनुभयो ।
कार्यवाहक नगरप्रमुख थारूले भन्नुभयो, “उक्त राजमार्ग अहिलेसम्म व्यक्तिकै जग्गामा बनेको छ । राजमार्ग बनेको जग्गाको लगत कट्टा नहुँदा व्यक्तिले अहिलेसम्म त्यसको समेत मालपोत कर तिर्दै आएका छन् ।” उक्त राजमार्गको मुआब्जालगायत विभिन्न समस्याका कारण हालसम्म लगत कट्टा नभएको हो । सडक विभागले राजमार्गको दायाँ बायाँ १५÷१५ मिटर गरी ३० मिटर जग्गा खाली गरिदिनु भनेर पहिले नै नगरपालिकालाई पत्राचार गरेको भए पनि अहिलेसम्म विभिन्न समस्याका कारण कार्यान्वयन गर्न नसकिएको उहाँको भनाइ छ ।
उहाँका अनुसार दुधौली नगरपालिकाले सडकको केन्द्रविन्दुबाट उक्त १५ मिटर र छ मिटरको सेडब्याकसहित २१ मिटर छाडेर मात्रै पक्की घर बनाउनका लागि नक्सापासको अनुमति दिँदै आएको छ । बिपी राजमार्गको भने ३० मिटर जमिन लगत कट्टा गरी सार्वजनिक गरिएको छ । उक्त राजमार्ग निर्माण गर्ने बेला सुरुमा नै नेपाल सरकारले दायाँ र बायाँ गरी ३० मिटर जमिनको मुआब्जा दिएर लगत कट्टा गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
पछि राजपत्रमा सूचना निकालेर बिपी राजमार्गको क्षेत्राधिकार पनि ५० मिटर कायम भएको कमलामाई नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेल राजमार्गको जग्गा अतिक्रमण गरी बनेका संरचना नगरपालिकाले भत्काउनेसम्मको काम गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “२१ मिटरभन्दाबाहिर बन्ने स्थायी संरचनाको नक्सा पासका लागि नगर सभाबाट पास गरी मन्त्रालयमा पत्राचार गरेका छौँ । उताबाट चिट्ठी आएको पनि छैन, यहाँ २१ मिटरभन्दाबाहिर बन्ने घरको नक्सा पास रोकिएको अवस्था छ ।”