हरिकृष्ण ऐडी
मुगु, भदौ १२ गते । मुगुको उत्तरी भेगको मुगुमकार्मारोङ गाउँपालिका–१ मा पर्ने डोल्फुगाउँका स्थानीय जिम्बु (भोटेजिरा) को सङ्कलनमा व्यस्त छन् । डोल्फुगाउँको वनक्षेत्रभित्र पाटनमा पाइने यो सुगन्धित जिम्बु उत्पादन हुने गर्छ । भदौदेखि यहाँको पाटन क्षेत्रमा जिम्बु सङ्कलन गर्न जानेको सङ्ख्या बढ्छ ।
डोल्फुगाउँका स्थानीयवासी मात्र नभई छिमेकी जिल्ला जुम्लाको पातारासी गाउँपालिकाबाट पनि आएका पतरासी–४ का तोर्जिङ लामाले बताउनुभयो । खेतबारीमा खाद्यान्न उत्पादन नहुने भएकाले जङ्गलमा उत्पादन हुने जडीबुटी सङ्कलन गरेर बिक्री गरी आएको पैसाले दैनिक पारिवारिक समस्या समाधान गर्दै आएको उहाँले बताउनुभयो । तोर्जिङ लामा जस्तै डोल्फु गाउँपालिका–१ का पेपा लामाका अनुसार भोटेजिरा जिल्लाका स्थानीय व्यापारीलाई प्रतिकेजी १० हजारदेखि १२ हजार रुपियाँसम्म बेच्ने गरिएको छ ।
यहाँ हिमाली भेग भएकाले राम्रोसँग अन्नबाली उत्पादन हुँदैन, उत्पादनका नाममा आलु मात्र उत्पादन हुने गर्छ । त्यसैले स्थानीयले दैनिकी चलाउन यार्चागुम्बा र अन्य जडीबुटी सङ्कलन गरेर बेच्ने गरेको लामाले बताउनुभयो ।
दुई छोरा काठमाडौँमा पढाउँदै आएका पेपा लामा बर्सेनि जिम्बु बेचेर आएको आम्दानीले छोराको पढाइ खर्च जुटाउँदै आएको बताउनुहुन्छ । अहिले जेठो छोरो ११ र कान्छो छोरा ७ कक्षामा काठमाडौँ पढ्दै छन् । जिल्लाको उपल्लो मुगुबाट सदरमुकामसम्म पिठिउँमा बोकेर ल्याएको जिम्बु, प्रतिमाना एक सय रुपियाँका दरले बिक्री हुने गरेको छ । सिमी, चामल र नगद रुपियाँमा पनि बिक्री हुने गरेको स्थानीय व्यापारी कुन्जुकपेपा लामाले बताउनुभयो । भोटेजिरा जिल्लाबाहिर र अन्य ठाउँमा निर्यात गरिँदै आएको उहाँको भनाइ छ । जिल्लाको उपल्लो डोल्फुको हिमाली भागमा चौँरी पाटनमा उम्रिने यो जिम्बु दाल तथा तरकारीमा राख्दा बास्नादार हुने भएकाले अत्यधिक प्रयोग हुँदै आएको डिभिजन वन कार्यालय मुगुका वन अधिकृत ललित कर्णले बताउनुभयो । डोल्फुगाउँको वनक्षेत्रमा पाइने जिम्बु देशका विभिन्न ठाउँमा अत्यधिक माग हुने भएकाले गत आव २०८१/८२ मा चार सय केजी निकासा भएको छ ।
मुगुमकार्मारोङ गाउँपालिका–१ का वडाध्यक्ष कार्मा तुन्डुप लामाका अनुसार अहिलेसम्म सडक सञ्जालसँग नजोडिएको मुगुमकार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा प्रशस्त मात्रामा भोटेजिरा पाइन्छ । यसमा कर लगाउने भने पनि ठुलो मात्रामा व्यावसायिक अभ्यास सुरु नभएका कारण करको दायरामा ल्याउन अझै समय लाग्ने गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताउनुभयो ।