• १२ भदौ २०८२, बिहिबार

भिमादमा आधुनिक साइलेज उद्योग स्थापना

blog

साइलेज उद्योग अवलोकन गर्दै मन्त्री भगवती न्यौपाने । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, भदाै १२ गते । भिमाद नगरपालिका–६, मालेबगरमा किसानलाई लक्षित गरी आधुनिक साइलेज उद्योग स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत प्रदेश सरकार (७० प्रतिशत) र भिमाद नगरपालिकाको (३० प्रतिशत) लागत साझेदारीमा उद्योग सञ्चालनमा आएको हो ।

उद्योग सञ्चालनको जिम्मेवारी भिमाद कृषि उद्यम सहकारी संस्थाले पाएको छ भने नगर प्रमुख दधिराज सुवेदीको संयोजकत्वमा निर्देशक समिति गठन गरिएको छ । सहकारी अध्यक्ष नारायणप्रसाद पौडेलका अनुसार किसानले आफ्ना खेतमा उत्पादन गरेका मकै वा नेपियर घाँस उद्योगमा ल्याएर बिक्री गर्न सक्ने छन् । 

मकै प्रतिकिलो ८ रुपियाँ र नेपियर ४ मा खरिद हुने व्यवस्था गरिएको छ। किसानले आफैं ल्याएर साइलेज बनाउँदा प्रतिकिलो रु ५ र तयारी साइलेज खरिद गर्दा मकैको रु १६ तथा नेपियरको रु १२ पर्ने व्यवस्था मिलाइएको छ । यसले वर्षायाममा उत्पादन हुने हरियो घाँसलाई सुक्खा मौसमका लागि भण्डारण गर्न सहज बनाउँछ ।

साइलेज उद्योग भिमाद नगरपालिकामा हस्तान्तरण गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सहकारी संस्थालाई उद्योग सञ्चालनको जिम्मेवारी हालै हस्तान्तरण गरिएको हो । मन्त्री न्यौपानेले प्रविधिमा सहयोग र उत्पादनमा आधारित प्रोत्साहनले किसानलाई व्यवसायिक बन्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । “यस्ता प्रविधिले किसानलाई मात्र होइन, स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने छन्,” उहाँले भन्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व अर्थमन्त्री जितप्रकाश आले, नगर प्रमुख दधिराज सुवेदी, उपप्रमुख शारदा खनाल, स्थानीय र प्रदेश तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। नगरपालिकाले पशु कुपोषण हटाई किसानलाई लाभ दिलाउन साइलेज प्रविधि प्रयोगमा ल्याएको जनाएको छ ।

मुख्यमन्त्री नवप्रवर्धन कार्यक्रमअन्तर्गत खरिद गरिएको मेसिनमार्फत घाँसलाई पोषण तत्व कायम राखेर प्लास्टिकमा भण्डारण गर्न सकिने छ। साइलेज प्रविधिबाट सस्तो आहार उपलब्ध, दुध उत्पादन बढ्ने, लागत कम र पशु स्वास्थ्यमा सुधार हुने नगर प्रमुख सुवेदीले जानकारी दिनुभयो। दुधिलो मकैको बोट र ‘टियो सेन्टी’ घाँस यसका लागि उपयुक्त रहेका छन् । 

गण्डकी प्रदेश सरकारको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा एक करोड सात लाख रुपैयाँमा उद्योग स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले जानकारी दिनुभयो । जसमा ८२ लाख रुपियाँ मेसिन खरिद र २५ लाख रुपियाँ संरचना निर्माणमा खर्च भएको छ ।