फडिन्द्र अधिकारी
लेखनाथ, भदौ १२ गते । पर्यटन राजधानी पोखराले चीनको हुआङसान सहरसँग मितेरी सम्बन्ध गाँसेको छ । युनेस्कोको सम्पदा सूचीमा रहेको सुन्दर सहर हुआङसान र पोखरा महानगरबिच भगिनी सम्बन्ध स्थापना गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो ।
पोखरा महानगरका प्रमुख धनराज आचार्य र हुआङसानका उपप्रमुख झाङ युकाङले हस्ताक्षर गर्नुभयो । सम्झौताले पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्ने नगर प्रमुख आचार्यको विश्वास छ । उहाँले भन्नुभयो, “नेपाल–चीनबिचको मित्रतालाई अझ मजबुत बनाउन यसले योगदान पुर्याउने विश्वास लिएको छु ।”
सम्झौतामा पर्यटन, संस्कृति, शिक्षा तथा सहरी विकास जस्ता क्षेत्रमा सहकार्य गर्ने उल्लेख छ । पोखरा महानगरपालिका अन्तर्राष्ट्रिय सम्बन्ध तथा मामिलालाई बलियो बनाउन लागि अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय बनाइएको छ ।
पोखराले अहिलेसम्म नेपालका भरतपुर महानगरपालिका र धरान उपमहानगरपालिकासँग मितेरी सम्बन्ध कायम गरेको छ । सँगसँगै जापान, चीन, टर्की, दक्षिण कोरिया, जापान, अमेरिका, बेलायतका १९ सहरसँग यसको भगिनी सम्बन्ध कायम भइसकेको छ ।