फडिन्द्र अधिकारी
लेखनाथ, भदौ ११ गते । चाडपर्वमा लाग्ने गरेका मेला ग्रामीण क्षेत्रमा हराउँदै गए पनि पोखरावासीले तिजमा पुरानै रौनक अवलोकन गर्न पाउँछन् । हरेक चाडपर्व र उत्सवलाई पृथक् तवरले मनाउने पर्यटन राजधानी पोखरामा अहिले ठाउँ ठाउँमा तिज केन्द्रित मेला, महोत्सव जारी छन् । पोखरा महानगरमा आधा दर्जनभन्दा बढी तिज मेला भइरहेका छन् । मेलामा तिज गीत प्रतियोगिता, नृत्य प्रतियोगिता, झाँकी प्रदर्शनी, सामूहिक दरदेखि खेलकुदका गतिविधिसमेत समावेश छन् ।
यस्ता मेलाले मौलिक नेपाली संस्कृति जगेर्नादेखि यहाँको अर्थतन्त्रलाई समेत चलायमान बनाउने आयोजकहरू बताउँछन् । पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) ले मङ्गलबार र बुधबार पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तिज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गरेको छ । नेपाली महिलाले परम्परागत रूपमा मनाउने तिजको शैलीलाई पुनर्जीवित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको टेवान अध्यक्ष शोभा न्यौपाने पाण्डे बताउनुहुन्छ । यो महोत्सवमा तिजगीत प्रतियोगिता, खेलकुद प्रतियोगितासँगै महिला सशक्तीकरणसम्बन्धी दुई वटा ‘टक सो’ समेत हुँदै छन् । पोखरा–१ स्थित पुरानो टुँडिखेलामा पनि तेस्रो संस्करणको तिज महोत्सवको रौनक छ । भदौ १५ गतेसम्म चल्ने महोत्सवमा दैनिक उपभोग्य सामान, कृषि, हस्तकला, बैङ्क तथा वित्तीय संस्थालगायत १५० व्यापारिक कक्ष रहेको आयोजक इन्द्रेणी एकीकृत विकास केन्द्र अध्यक्ष भानुभक्त अधिकारी बताउनुहुन्छ । महोत्सवमा खुला मौलिक तिजगीत, एकल नृत्य, ढिकीजाँतो चलाउने, छेलो हान्ने जस्ता प्रतिस्पर्धासमेत भइरहेका छन् ।
पोखरा वडा नम्बर १६ मा पर्ने लामाचौर र बाटुलेचौर दुई ठाउँमा तिजका महोत्सव एकैसाथ चलिरहेका छन् । लामाचौरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा आइतबार सुरु भएको महोत्सवमा तिज गीत तथा नृत्य, भलिबल खेललगायत जारी छन् । यहाँ ‘कृषि तिज गीत प्रतियोगिता’ हुँदै छ । बाटुलेचौरमा सोमबार सुरु भएको मेलामा महिला दौड, विद्यालय स्तरीय तिज नृत्य र समूहगत तिज गीत प्रतियोगिता भए ।
पर्यटकीय गन्तव्य सराङकोटमा आइतबारदेखि सुरु भएको तिज महोत्सव भदौ १० गतेसम्म चल्यो । सराङकोट धार्मिक क्षेत्र विकास समितिले आयोजना गरेको महोत्सवमा खुला तिजगीत प्रतियोगिता, एकल महिला नृत्य प्रतियोगिता, डोरी तान, छेलो हान्नेलगायत गतिविधि भए । तिजमा उत्ताउला गीत गाउने प्रवृत्ति बढेका बेला केही वर्षदेखि पोखरामा तिज केन्द्रित मेला, महोत्सव हुन थालेका छन् । महानगरका सबैजसो वडा कार्यालयले तिजगीत प्रतियोगिता आयोजना गर्न थालेका छन् भने सञ्चारमाध्यमहरूले पनि तिज महोत्सव गर्न थालेका छन् ।
नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराका प्रमुख मणिराज लामिछानेले सांस्कृतिक अवसरलाई मेला, महोत्सवका रूपमा मनाउँदा पर्यटन क्षेत्रमा समेत योगदान पुग्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पर्यटकीय सम्पदामा रूपान्तरण गर्दै देशको आर्थिक समृद्धिमा अमूल्य योगदान दिन तिज महोत्सवले भूमिका खेल्छ । यस्ता महोत्सव हुनु अर्थतन्त्रको विकास र सांस्कृतिक संरक्षण दुवै दृष्टिले सकारात्मक छ ।”