ठाकुरप्रसाद आचार्य
म्याग्दी, भदौ ११ गते । बेनीमा नेवार समुदायको वर्षौं पुरानो मौलिक संस्कृतिका रुपमा रहेको धानको बाला नाच प्रदर्शन गरिएको छ । हरितालिका तीजको अवसर पारेर नेवार समुदायका युवाहरुको नेतृत्वमा २० वर्षपछि धानको बाला नाच प्रदर्शन गरिएको हो ।
धानको बाला नाच बेनीका नेवार समुदायको करिब चारसय वर्ष पुरानो माौलिक संस्कृति हो । पछिल्लो समय युवाहरुको सक्रियतामा धानको बाला नाच प्रदर्शन गरिएको नेवार समुदायका अगुवा अम्बि श्रेष्ठले बताउनुभयो । मङ्गलबार प्रदर्शन गरिएको नाचमा बेनी नगरपालिका– ७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले जोक्करको भूमिका निर्वाह गर्नुभएको थियो ।
मुखिया, लाहुरे र जोक्करको भेषमा सजिएका कलाकारहरु धानको बाला गीत गाउँदै नाचेका थिए । जातीय भेषभूषामा सजिएका अन्य कलाकारहरुले धानको बाला लहरीबरी देशै रमाइलो भन्दै गीत गाएका थिए भने युवायुवतीहरु नाचेका थिए ।
केटाले : यो तीजमा भयौं भेट,कति राम्री गोरी,
लाने भयौं,मनै चोरी कसकी होला छोरी ?
केटी : हेर्दा झिल्के बानी मिलेको छैन चिनजानी
झुक्काएरै, लाइदियौं कि, माया र मोहनी ।
जस्ता गीत गाउँदै बजारमा ५० भन्दा बढी कलाकारहरुले गीत र संगीतको तालमा नाच्दै बजार परिक्रमा गर्दा सांस्कृतिक रौनक छाएको थियो ।
नेवार समुदायले देखाउने बर्खे नाचअन्तर्गत धानको बाला नाच मौलिक संस्कृति भएकाले यसको संरक्षण र पुस्तान्तरण आवश्यक भएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
नेवार समुदायले एकमहिना अवधिभर प्रदर्शन गर्ने बर्खे नाचअन्तर्गत धानको बाला नाच पनि पुरानो मौलिक नाच भएकाले नाचको संरक्षणका लागि २० वर्षपछि प्रदर्शन गरिएको नेपाल भाषा मंका खलः म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘धानको बाला नाच नेवार समुदायको मौलिक संस्कृतिभित्र पर्दछ । यो नाच करिब चारसय वर्ष पुरानो हो । पहिला वार्षिक रुपमा निकाल्ने गरिन्थ्यो । पछिल्लो दुई दशक यता कलाकारहरुको अभावका कारण देखाउन छाडिएको थियो । यो वर्ष युवाहरुको सक्रियतामा २० वर्ष पछि प्रदर्शन गरिएको छ जसले संस्कृति पुस्तान्तरणमा टेवा पुग्छ ।’’
बजारमा धानको बाला नाच प्रदर्शन भएपछि अवलोकन गर्नेहरुको निकै भिड लागेको थियो । तीजको दिन पारेर युवाहरुले बजारमा लाखे नाच समेत प्रदर्शन गरेका छन् । तीजका दिनमा मङ्गलबार साँझ दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित एकमहिने बर्खे नाच समापन गरिएको नेपाल भाषाः मंका खलका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।