• ११ भदौ २०८२, बुधबार

मोरङ कारागारमा महिला कैदी मृत फेला

blog

शशिधर पराजुली

विराटनगर, भदौ ११ गते । मोरङ जिल्ला कारागारमा एक जना महिला कैदीको मृत्यु भएको छ । कारागारको शौचालयमा ३२ वर्षे राधा भट्टराई (राधिका) मृत अवस्थामा भेटिएको जिल्ला प्रशासन कार्यालय मोरङले जानकारी दिएको छ । 

सुनसरी वराहक्षेत्र नगरपालिका-६ घर भई २०८० माघ ५ गतेदेखि मोरङ कारागारमा कैद भुक्तान गरिरहनुभएकी भट्टराई शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको कारागार प्रशासनले जानकारी दिएको छ । कारागारको शौचालयमा बिहान ४ः३० बजे शव भेटिएको खबर पाएको कारागारका जेलर गौरव ढुङ्गेलले जानकारी दिनुभयो । 

भट्टराईविरुद्ध सुनसरी जिल्ला अदालतले २०८१ कात्तिक ७ गते कर्तव्य ज्यान मुद्दामा २० वर्ष जन्मकैद हुने सजाय सुनाएको थियो । 

दुई नाबालक सन्तानसहित सुनसरी मोरङ सिँचाइ योजनाको नहरमा हामफाल्दा दुवै  सन्तानको मृत्यु भएपछि भट्टराईविरुद्ध कर्तव्य ज्यानको मुद्दा चलाइएको थियो । 

कारागारमा रहँदा मानसिक समस्या देखिएपछि परमर्शदाता चिकित्सकबाट नियमित रूपमा उपचार गराइरहेको अवस्थामा घटना भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।