- सरकारी सूचनाको सम्प्रेषण गोरखापत्रबाट नै हुन्थ्यो र अहिले पनि हुने गरेकै छ । यसरी गोरखापत्रले जनता र सरकारबिच सेतुको काम गर्ने गरेको थियो । जनताका समस्या सरकारसम्म पुर्याउने र सरकारका निर्देशन या जनतासँग जोडिएका विषयवस्तु जनतासम्म पुर्याउने काम गोरखापत्रले नै गर्ने गरेको थियो ।
गोरखापत्र (प्रकाशन हुँदाका समयको नाम गोर्खापत्र) विसं १०५८ वैशाख २४ गते सोमबार प्रकाशनमा आएको हो । हुन त नेपालमा यसअघि नै पत्रिका प्रकाशनमा आएका थिए । ‘गोरखा भारत जीवन’ पत्रिका नेपाली भाषामा छापिएको पहिलो पत्रिकाका रूपमा भारतको बनारस सहरमा उदाएको थियो भने यता नेपाली भूमिमै जन्म लिन पुगेको अर्काे पत्रिका ‘सुधासागर’ हो । विसं १९५५ को साउनमा नेपालमै छापिएको सुधासागर नेपालको पहिलो पत्रिका थियो तर यो म्यागाजिन थियो, अखबार अर्थात् पत्रिका थिएन । यसका ‘कन्टेन्ट’ पनि साहित्यिक थिए, सूचना अर्थात् समाचार थिएनन् । त्यस्तै ‘गोरखा भारत जीवन’ पनि पुस्तकको स्वरूपमा थियो भनिएको छ, पत्रिका अर्थात् अखबारका स्वरूपमा थिएन । यो पत्रिकाको भौतिक स्वरूप भेटिएको छैन र इतिहासका अध्येताले पनि देखेको बताउन सकेका छैनन् ।
त्यसैले पनि समाचारपत्रका हिसाबले गोरखापत्रलाई नै नेपालको पहिलो पत्रिकाका रूपमा लिइन्छ । नेपाली पत्रकारिताको इतिहास खोतल्दा पनि यसअघिका दुई प्रकाशन ‘गोर्खा भारत जीवन’ र ‘सुधासागर’ साहित्यमा आधारित सामग्रीसहितका, म्यागाजिन स्वरूपका र साप्ताहिक प्रकाशनका रूपमा नरहेका कारण गोरखापत्रलाई नेपालको पहिलो समाचारपत्र मान्नु पर्छ । यसरी हरेक सोमबार प्रकाशन हुने गरी अलग्गै सम्पादकको समेत व्यवस्था गरी छपाइ सामग्री र विषयको अधिकारसहित गोरखापत्रको प्रकाशन सुरु भएसँगै नेपाल पनि अखबारी पत्रकारिताको युगमा प्रवेश गरेको हो ।
यस कारण गोरखापत्रको प्रकाशनपछि मात्र नेपालमा अखबारी पत्रकारिताको शिलान्यास भएको मानिन्छ । नेपालबाटै प्रकाशित भएको पहिलो म्यागाजिन ‘सुधासागर’ भन्दा गोरखापत्र दुई वर्ष नौ महिना कान्छो हो भने नेपाली भाषाको प्रकाशनको हिसाब गर्दा यो तेस्रो प्रकाशन हो । अनि नेपालबाटै प्रकाशित पत्रिकाका हिसाबले दोस्रो पत्रिकाका रूपमा गोरखापत्रले नेपाली पत्रकारिताको इतिहासमा नाम लेखाएको छ । एक स्मरणयोग्य तथा उल्लेखनीय घटनाकै रूपमा के स्मरण गर्नु पर्दछ भने नेपालको राजनीतिक इतिहासकै कडा राणाशासनका समयमा गोरखापत्रले जन्म लिनु सानो कुरा थिएन । यसको श्रेय राणा प्रधानमन्त्री देवशमशेरलाई जान्छ । उनको इच्छा र अग्रसरताले नै गोरखापत्रले जन्म लिएको हो । उनलाई अरूका तुलनामा उदारवादी राणा भन्ने गरिएकोमा गोरखापत्रको प्रकाशन पनि यसप्रतिको प्रमुख आधार प्रमाण हो भन्न सकिन्छ ।
यहाँनेर अर्को स्मरणीय विषय के हुनु पर्छ भने बाहिरबाट सरसर्ती हेर्दा कुनै एउटा पत्रिका प्रकाशनका रूपमा मात्र गोरखापत्रलाई लिन मिल्दैन किनभने गोरखापत्र एउटा पत्रिका मात्र नभएर मुलुकको सवा सय वर्ष पुरानो एउटा जीवन्त इतिहास पनि हो । यसले राणा शासन जस्तो नेपालको क्रुर राजनीतिक व्यवस्थाको समयमा जन्म लिएर आजको गणतान्त्रिक व्यवस्थासम्म मुलुकको सेवा गरेको छ । यसले ९० साल र ७२ सालका भूकम्प देखेको मात्र छैन, त्यो कहालीलाग्दो विनाशलाई आफ्ना स्मृतिको कन्तुरमा सजीव चित्र र शब्दसहित जस्ताको त्यस्तै संरक्षित गरिदिएको छ । यसले राणाशासनको अन्त्यदेखि राजतन्त्रको उदय हुँदै राजतन्त्रको अन्त्यदेखि गणतन्त्रको उदयसम्मका दसीप्रमाणलाई आफ्ना पानाका इतिहासमा सकुशल सुरक्षित राखिदिएको छ । त्यसैले गोरखापत्र सवा सय वर्षको नेपाली इतिहासको एउटा जिउँदो साक्षी पनि हो ।
अर्को कुरा यसले नेपाली पत्रकारिताको इतिहासलाई पनि धनी बनाइदिएको छ । जस्तो कि अहिले विश्व पत्रकारिताका अनुसन्धानदाताले विश्वका सय वर्ष पुराना (निरन्तर प्रकाशित, कहिल्यै नरोकिएका) पत्रिकाको खोज अनुसन्धान ग¥यो भने त्यो कोटिको अनुुसन्धानको कित्तामा नेपाल पनि त दर्ज हुन सक्ने भयो । त्यसको श्रेय पनि गोरखापत्रलाई नै जाने छ । यसबाट नेपाली पत्रकारिताको इतिहास पनि पुरानो बन्न जाने छ । नेपालमा सवा सय वर्ष पुरानो पत्रिका छ भन्ने कुराको सञ्चारले धनी हुने त हामी नै हौँ । जस्तो कि दक्षिण एसियाका सय वर्ष पुराना पत्रिकाको खोजी हुँदा पनि हामी उचित स्थानमै पर्छौं होला । सन् १७८० मा प्रकाशनमा आएको भारतीय म्यागाजिन ‘बंगाल गजेट’ सम्भवतः दक्षिण एसियाकै पहिलो पत्रिका मानिन्छ । त्यसपछिका अन्य दैनिक पत्रिका भारतमा आए र श्रीलङ्कामा पनि आए । सम्भवतः यही सम्पन्न इतिहासमा हामी पनि पर्ने छौँ । त्यसैले गोरखापत्रले नेपाली पत्रकारिताको इतिहासलाई सम्पन्न बनाइदिएको छ भन्न मिल्छ । पत्रिकाले काम गर्ने अवसर दिएर नेपालमा धेरै पत्रकारलाई पत्रकारितामा जानकार बनाएको तथा यसका कारण नेपालमा अरू पनि पत्रिका प्रकाशनका लागि पत्रकार जागरुक भएका प्रसङ्गका तथ्यहरू त हामीसँग सुरक्षित नै छन् ।
यसरी नेपालले पनि गोरखापत्रको जन्म र निरन्तरताकै कारण दक्षिण एसिया र विश्वमा नै पत्रकारिताको इतिहासमा आफ्नो नाम लेखाउने कार्यको श्रीगणेश गर्न पाएको छ । आज हामीले दक्षिण एसियामा प्रकाशन भइरहेका सय वर्ष पुराना पत्रिकाको खोजी गर्याैं भने त्यसमा नेपालको गोरखापत्र पनि ‘टप टेन’ मा पाउन सक्ने छौँ । यस हिसाबले विश्लेषण गर्ने हो भने गोरखापत्र केवल एउटा पत्रिका मात्र नभई नेपाली पत्रकारिताको पुरानो र साझा पाठशाला पनि हो भनिएको हो । यसले एक शताब्दीभन्दा लामो नेपाली इतिहास बोकेको छ । गोरखापत्रले नै देशका कैयौँ पत्रकार जन्माएको छ । यसले कैयौँ भाषा र साहित्यका पारखीलाई आफ्नो प्रतिभा तिखार्ने अवसर प्रदान गरेको छ ।
नेपालको सामाजिक जीवनका विभिन्न पक्ष र क्षेत्र जस्तै नेपाली भाषा, साहित्य, कला, संस्कृति, शिक्षा आदिमा यो पत्रिकाले ठुलो योगदान पुर्याएको छ । गोरखापत्रले सवा सय वर्षको उमेर पार गरिरहँदा यसले नै नेपाली पत्रकारिताको जगलाई थप बलियो बनाइदिएको छ । यसअघिका पत्रिका प्रकाशन भएको भए पनि तिनको अस्तित्व र अवशेष नै हाल हाम्रासामु जीवित नरहेकाले नेपाली पत्रकारिताका खोजकर्ता र विद्यार्थी एवं नेपाली भाषाका साधकलाई पनि यसले निरन्तर रूपमा आफ्नो अवस्था र अस्तित्वलाई खुला किताबका रूपमा दिनहुँ पस्किएको छ । यसरी २१ औँ शताब्दीको एक जीवित इतिहासका रूपमा समयानुकूल आफूलाई परिवर्तन र अद्यावधिक गर्दै जीवन व्यतीत गरिरहेको गोरखापत्र एउटा पत्रिका मात्र नभएर देशको सामाजिक जीवनका धेरै क्षेत्रमा योगदान गरिरहेको एउटा संस्था हो । गोरखापत्रको इतिहासलाई केही क्षेत्रगत रूपमा निम्न बुँदामा प्रस्तुत गरिएको छ ।
१. पत्रकारिता र इतिहासमा योगदान
करिब सवा सय वर्षसम्म जीवितै रही देशको राजनीति, संस्कृति, परम्परा, भाषा, भूगोल, शिक्षा, उन्नति, अधोगति, विकास, विनाश, प्रकोप, इतिहासलगायत बेहोरेको, भोगेको र देखेको गोरखापत्रको मुलुकप्रतिको योगदानको खोजी गर्दा यसको पहिलो योगदान त मुलुकको पत्रकारिता क्षेत्रकै लागि छ भन्नु पर्दछ । यो अखबारको प्रकाशनबाट नै नेपालमा पत्रिकारिताको भरपर्दो इतिहासको सुरुवात भएको हो । गोरखापत्र नेपालमा पत्रकारिताको इतिहास सुरु गराउने समाचारपत्र हो । गोरखापत्रकै यो निरन्तरताले नै अहिले हामी नेपालमा पत्रकारिताको इतिहास कति पुरानो छ भनेर किटेरै भन्न सक्छौँ ।
अर्काे कुरा नेपालमा पत्रकारिताको अभ्यास गर्ने एउटा साझा थलोका रूपमा पनि गोरखापत्रले योगदान दिन सकेको छ । यस कारण पनि यसलाई नेपाली पत्रकारिताको एउटा पुरानो र साझा पाठशालाका रूपमा लिन सकिन्छ । अहिले त मानिसले पत्रकारिता गर्नका लागि प्रशस्तै ठाउँ पाएको छ । पाएन भने पनि सहजै र सस्तोमै अनलाइन मिडिया स्थापना गरेर पनि पत्रकारिता गर्न सक्दछ । त्यो पनि नभए नागरिकले आफ्ना विचारको अभिव्यक्ति गर्ने माध्यमका रूपमा सामाजिक सञ्जाल नै रहेका छन् तर आजभन्दा ५० वर्ष, सय वर्षअघिको कल्पना गरौँ त । लेख्न या आफ्ना विचार अभिव्यक्त गर्न चाहेर पनि मानिसले कहाँ र कसरी पाउँथे होला र ? त्यस्तो बेलामा पनि मानिसले यही संस्थामा नै पत्रकारिता गर्न पाएका थिए । यो पुरानो संस्थामार्फत नेपालमा सयौँ, हजारौँ पत्रकार जन्मिएका छन् । विगतमा पत्रकारिताको अभ्यास गर्नका लागि गोरखापत्रबाहेकको अर्को विकल्प थिएन । हुन त नेपालमा २००७ सालमा प्रजातन्त्रको स्थापनापछि र पञ्चायतकालमा पनि धेरै पत्रिका निस्किए तर ती दिगो भएनन् । त्यसैले गोरखापत्र नै नेपाली पत्रकारका लागि नेपालको इतिहासमा लामो समयदेखिको पत्रकारिता सिक्ने पाठशालाका रूपमा रह्यो । यसै कारण अहिले पनि नेपालमा पत्रकारिताको पर्यायका रूपमा गोरखापत्र चिनिन्छ ।
२. सूचना र शिक्षाको संवाहक
अहिलेका बग्रेल्ती सूचनाका माध्यम र स्रोतबाट दिमागलाई बाहिर निकालेर ऊबेलाको सूचनाका माध्यमको स्मरण गर्यौँ भने यहाँनेर गोरखापत्रको योगदान हाम्रा आँखामा झलझल्ती आउने छ । जस्तो अहिले मानिसका घर घरमा मात्र होइन कि कोठा कोठामा क्यालेन्डर झुन्डिएका छन् र हामीलाई तिथि, मिति बार आदि हेरकोर गर्न अप्ठ्यारो छैन । त्यतिले मात्र नपुगेर अहिले त झन् मोबाइलमा नै पात्रोहरू छन्, बसिरहेको ठाउँबाट क्यालेन्डर हेर्न कोठाको भित्तासम्म नै पुग्नु परेन । ऊबेला यही कामका लागि कि त पढेलेखेको भएर पात्रो हेरेर दिनबार खुट्याउन सक्नुपर्दथ्यो या ज्योतिषीकोमा नै पुगेर हेर्नु पर्दथ्यो ।
हो, सूचनाको हालत पनि त्यस्तै थियो । रेडियो नेपाल र गोरखापत्रबाहेक सूचना दिने अरू स्रोत या माध्यम त अरू के नै हुन्थे र ? त्यस्तो बेलामा गोरखापत्रले दिने सूचनाको खुब ठुलो महत्त्व थियो । त्यसैले सार्वजनिक स्थलमा पनि गोरखापत्र टाँसिएको हुन्थ्यो । रेडियो नेपालले सिंहदरबारबाट दिने सूचनाले देशैभरि क्रान्ति ल्याउन सक्थ्यो ।
हुन त कति मानिसका घरमा रेडियो सेट थिए, कति मानिसले गोरखापत्र पढ्न सक्ने अवस्थामा थिए तथा कहिले पत्रिका पुग्थ्यो भन्ने पनि प्रश्न आउँछ तर पनि माध्यम छ र त्यसले सञ्चार गरेको अवस्था छ भने त्यहाँबाट विस्तारित हुन पनि समय लाग्दैनथ्यो, सञ्चार हुन्थ्यो । सञ्चार पनि यसरी हुन्थ्यो कि अहिलेका अनगन्ती मिडियाले अनगन्ती सूचना दिँदा त्यो सूचना पत्याउने कि नपत्याउने जस्तो अवस्था ऊबेला थिएन । किनभने गोरखापत्रले छापेको, रेडियो नेपालले पढेको भनेपछि त्यसमा आशङ्का गर्नुपर्ने अवस्था थिएन ।
शिक्षाको पनि संवाहक हो–गोरखापत्र । यसले देशमा शिक्षाको महत्त्व दर्साउँदै समाचार तथा लेख आलेखहरू प्रकाशन गर्ने हुँदा त्यसबाट उत्प्रेरित हुने व्यक्ति पनि धेरै हुन्थे । जस्तो कि त्यस समयमा छोरीलाई पनि स्कुल पठाऔँ भनेर गोरखापत्रले छाप्ने समाचारले पनि त छोरीलाई स्कुल नपठाउने बुवाआमाको मनमा केही न केही बदलाव त ल्यायो होला । अनि शिक्षकले पनि गोरखापत्रमा छापिने विद्वान्का लेख, विचार एवं समाचारबाटै पनि शिक्षित हुन पाए होलान् । मुलुकमा शिक्षाको महत्त्व र आवश्यकताका बारेमा गोरखापत्रले दिने समाचारले समाजलाई पनि प्रेरणा प्रदान गरेको छ ।
गोरखापत्रले शिक्षा र सामाजिक विकासका महत्त्वपूर्ण विषयमा लेख, विशेष रिपोर्ट र अनुसन्धानात्मक सामग्री प्रकाशित गरेर जनतालाई शिक्षित र सचेत बनाएको छ । यसले विभिन्न सरकारी योजना र परियोजनाबारे जनतालाई जानकारी दिलाएको मात्र नभएर तिनमा नागरिकको सहभागिता बढाएको छ । यस कारण शिक्षा, सूचना र चेतनामा गोरखापत्रको योगदान रही आएको छ ।
३. पत्रकारिताको मानक, पत्रिकाको पर्याय
गोरखापत्र नेपाली पत्रकारिताको मानक नै हो । मानक भनेको धेरैमा कुन सही भनेर छुट्याउनु पर्दा मान्ने अथवा अपनाउने नापो पनि हो । पत्रकारिताका विषयमा अपनाउनुपर्ने मानकका रूपमा गोरखापत्रको नाम आइहाल्छ । जस्तो कि पहिले पनि भाषामा कुनै विवाद भयो र के लेख्ने या के अपनाउने भन्ने दुविधा सिर्जना भयो भने त्यस्तोमा पनि गोरखापत्रमा के आएको छ हेरौँ भन्ने हुन्थ्यो । जस्तो कि कुनै विदेशीको नाम नेपालीमा लेख्नुपर्ने भयो भने सही कुन हो भनेर गोरखापत्र नै हेर्नुपर्ने अवस्था विगतदेखिकै हो । अहिले पनि सरकारी पत्रका रूपमा यसलाई अपनाउँदा सहजै मान्ने गरेका छन् यस क्षेत्रका व्यक्तिले । गोरखापत्रले पत्रकारिताको क्षेत्रमा उच्च मानक र व्यावसायिकता स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । त्यसै गरी यसले समाचारको विश्वसनीयता र निष्पक्षतालाई प्राथमिकता दिँदै पत्रकारिता पद्धतिमा सुधार ल्याएको छ । धेरै थरी सूचना आउँदा पनि कुन सही हो र कुन गलत भन्ने छुट्याउनका लागि पनि गोरखापत्र मानक बन्ने गरेको छ । अहिले पनि सूचना या विषयवस्तुको विविधताका बिचमा एक रूपता खोज्नुपर्दा गोरखापत्रमा हेरौँ त के छ भन्ने प्रचलन छँदै छ ।
अर्कातर्फ नेपालमा पत्रिकाको पर्याय भनेको गोरखापत्र नै हो । किनभने नेपालमा पत्रिकाको प्रचलन सुरु भएदेखि नै मानिसको बोलीचालीको भाषामा झुन्डिएको पत्रिका नै गोरखापत्र हो । मानिस कान्तिपुर पत्रिका प्रकाशनमा आएपछि पनि पत्रिका पसलमा पत्रिका किन्न जाँदा त्यो कान्तिपुर गोरखापत्र दिनु त भनेर माग्ने गर्दथे । मानिस पत्रिका भनेकै गोरखापत्र हो भन्ने सोच राख्दथे धेरै नभएर केही दशक मात्र अघिसम्म पनि । नेपालको अखबारी पत्रकारिताको सुरुवात हुनुका साथै दशकौँसम्म गोरखापत्र नै पत्रिकाका रूपमा स्थिर रूपमा अस्तित्वमा रहेकाले नेपालमा पत्रिका भनेकै गोरखापत्र हो भन्ने मानक बनेको हो । पछि दैनिक पत्रिकाहरू त आए तर मानिसको सय वर्षअघिदेखिको गोरखापत्रको इतिहास रहेकाले मानिसका दिमागमा पछिसम्म नै गोरखापत्र नै रहेको छ ।
४. सामाजिक चेतना र जनजागरण
गोरखापत्रले नेपाली समाजमा सामाजिक चेतना र जागरुकता फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । यसले समाजका विभिन्न समस्या र चुनौतीलाई उजागर गर्दै समाधानका उपाय प्रस्तुत गरेको छ । जसले गर्दा नागरिकको सोचमा पनि परिवर्तन ल्याएको छ । विगतमा सामाजिक चेतना बढाउने र जनता जगाउने माध्यम नै के थिए र ? मानिसले समाजमा परिवर्तन ल्याउनका लागि अपनाउने साधन र माध्यम पनि निकै कम थिए । विकल्प अहिलेका जस्ता सबै खुला थिएनन् । न च्याट जिपिटी खोलेर यसको अर्थ के हो भनेर सोध्ने विकल्प थियो, न त युट्युब हेरेर र खोलेर नै आममानिसको सम्पर्कमा पुग्न र बुझ्न सकिने अवस्था थियो । त्यो बेलाको विकल्प गोरखापत्र नै थियो । त्यसैले गोरखापत्र पत्रिकाको पर्याय बन्न सफल भएको हो । गोरखापत्रमा छापिने एउटै नाटक, कुनै नयाँ विचार र सुझावले नै समाजमा सचेतनाको काम गथ्र्याे होला । समाजमा चेतनामूलक सन्देश ‘भेन्टिलेट’ गोरखापत्रले नै गरेको थियो ।
५. राजनीतिक चेतना र नेपाली समाजको प्रतिनिधित्व
गोरखापत्रले देशका विभिन्न भूभाग र भाषिक समूहको प्रतिनिधित्व गर्दै विविधता समेटेको छ । एकातर्फ यसले प्रत्येक नेपाली नागरिकलाई यसको सामग्रीमा समेट्ने प्रयास गरेको छ र जसका कारण समाजमा समानता र समान अवसरको भावना फैलाउन सफल भएको छ भने अर्कातर्फ यसले पत्रिकाको पेजमा नेपालको सम्पूर्ण समाजको विविधतासहितको प्रतिनिधित्व के कसरी हुन्छ भनेर यथेष्ट रूपमा सोचेको पनि छ । त्यसै गरी गोरखापत्रले नेपालमा राजनीतिक चेतना जगाउने काम पनि गरेको छ । जसले नागरिकलाई आफ्नो अधिकार र कर्तव्यबारे अवगत गराएको छ, आफ्ना र समाजका बारेमा सचेत र सजग गराएको छ । गोरखापत्रले राजनीतिका कुराभन्दा पनि विचार र समाचारमार्फत राजनीतिक चेतना र यसको जागरुकतासहितको आवश्यकताका बारेमा पाठ्यसामग्री प्रदान गर्ने गर्दछ । जसका कारण राजनीतिक स्थायित्व, लोकतान्त्रिक मूल्य र शासन प्रणालीको सुधारमा योगदान पुग्न गएको छ । जस्तो कि गोरखापत्रले आफ्ना समाचारका दायरालाई फैलाउन पाएका बखत कसरी राजनीतिक सचेतनाको वकालत गर्न सक्दछ भन्ने उदाहरण नेपालमा जनमतसङ्ग्रहको घोषणा र निर्वाचन भएको विसं २०३६ देखि २०३७ सम्मको एक वर्षको अवधिको अध्ययन गरेर पत्ता लगाउन सकिन्छ ।
त्यस समयमा यस प्रकाशनमा आएका समाचार कुनै पक्षविपक्षभन्दा पनि नागरिकका विचार र उनीहरूले अपनाउने निर्वाचन प्रणालीका विचारमा थिए । हुन त देशमा राजा थिए र राजाले नै जनमतसङ्ग्रहको घोषणा गरेका थिए तर पनि गोरखापत्रले पञ्चायती व्यवस्थाको मात्र वकालत गरेको थिएन, नागरिकलाई आफ्ना विचारमा लाग्न र मतदान गर्नका लागि प्रेरित गरेको थियो । त्यो एक वर्ष पञ्चायत सरकारले मिडियालाई तुलनात्मक रूपमा स्वतन्त्रताको अवसर दिएको रहेछ । त्यसको सदुपयोग गोरखापत्र र राससले सक्दो रूपमा गरेका रहेछन् । ऊबेलाका समाचार सामग्रीको अध्ययन गर्ने हो भने त्यो कुरा स्पष्ट हुने छ ।
६. समाज सुधार र न्यायको प्रवर्धन
गोरखापत्रले समाजमा सुधार र न्यायको पक्षमा आवाज उठाएको कुरा त यहाँ भनिरहनै पर्दैन । विशेष गरी महिलाका अधिकार, दलित समुदायको अवस्था र समानताका मुद्दामा गोरखापत्रले राम्रैसँग वकालत गरेको छ । यसले सामाजिक असमानताका विरुद्धमा लेख र समाचार प्रकाशित गरेर सकारात्मक परिवर्तनको प्रयास गरेको छ । यो एउटा राज्य भएर यसरी आवाजविहीनको आवाजका रूपमा आफ्नो पेसागत धर्मको वकालत गरेको छ कि जसका कारणले समाजमा परिवर्तन ल्याउन, मानिसका विचार र सोचमा परिवर्तन ल्याउन सघाएको छ । नेपालमा सामाजिक रूपान्तरणका लागि गोरखापत्रको यो योगदानको पनि स्मरण गर्नु पर्दछ भन्ने मलाई लाग्छ ।
७. सामाजिक समावेशिता र विविधताको सम्मान
गोरखापत्रले नेपाली समाजको विविधता र बहुसांस्कृतिक पक्षलाई कसरी सम्मान गरेको छ भन्ने कुरा हिजोआजकै यसका पृष्ठ हेर्दा पनि छर्लङ्ङ देख्न सकिन्छ । गोरखापत्रले नै राज्यको एक समावेशी प्रकाशनका रूपमा सबै जात, धर्म, भाषा र समुदायको सम्मान गर्दै उनीहरूको प्रतिनिधित्वलाई अखबारको पेजमा नै स्पष्ट रूपमा देखाउने काम गरेको छ । यसको प्रकाशनमा विभिन्न भाषा, संस्कृति तथा सबै जातजाति वेशभूषा र परम्परालाई समावेश गरेर नेपालका विभिन्न समुदायको आवाज आफ्ना प्रकाशनमा पनि दिएको छ । यस कारण पनि राज्यले आफ्नो समावेशी शासन प्रणालीको उदाहरणका रूपमा गोरखापत्रका पृष्ठ हेर्न मिल्ने यसले बनाएको छ । यसबाट राज्यको समावेशी चरित्र देख्न सकिन्छ भने विभिन्न जातजाति, भाषा र सम्प्रदायले आफ्ना भाषाका लिपिलाई राज्यको यस प्रकाशनको पेजमा लेख्न, देख्न र सुरक्षित राख्न सक्ने भएका छन् । गोरखापत्रले समावेशिताका पक्षमा योगदान गर्दै विविध समुदाय र भाषिक समूहको प्रतिनिधित्व गरेको छ । आजका मितिसम्म आइपुग्दा गोरखापत्रले विभिन्न ४५ भाषामा समाचार सामग्री प्रकाशित गर्दै राज्यका प्रायः सबै जसो वर्ग र समुदायलाई समेट्ने प्रयत्नलाई अहिले पनि जारी नै राखेको छ ।
८. सञ्चार प्रविधिको विकास र प्रचार
गोरखापत्रले सञ्चारको क्षेत्रलाई आधुनिक बनाउन, नयाँ प्रविधिको प्रयोग र अनलाइन संस्करण सुरु गर्न योगदान दिएको छ । यो समाचारपत्र नेपालमा पहिलो पटक डिजिटल र अनलाइन समाचार वितरणको क्षेत्रमा प्रवेश गर्ने प्रकाशन पनि हो । गोरखापत्रको यो स्वरूपको सेवाले सूचनाको पहुँचलाई सरल, सहज र छिटो बनाइदिएको छ । गोरखापत्रलाई जसरी एउटा पुरानो प्रकाशनको परम्परागत सोचबाट हेर्ने र पढ्ने गरिन्थ्यो, त्यो सोच र विचारलाई यसले आफ्नो डिजिटल स्वरूपको अगुवाइबाट पनि जवाफ दिन सकेको छ ।
९. राष्ट्रिय एकता र अखण्डताको प्रवर्धन
गोरखापत्रले नेपाली समाजको एकता र अखण्डतालाई प्रवर्धन गर्दै विविधता र सहिष्णुताको भावना बलियो बनाउन सघाएको छ । यसले सबै वर्ग र समुदायलाई समान दृष्टिकोणबाट देखेर राष्ट्रिय एकताको सन्देश दिएको छ । जब जब कुनै विषय या पृष्ठभूमिबाट देशमा राष्ट्रिय एकताको भावना र आवश्यकता खड्किन्छ, त्यसबेला गोरखापत्रले अखण्डताका पक्षमा जनमत बलियो बनाउने काममा लाग्ने गर्दछ । जहाँनेर राज्य बलियो बन्नु र बनाउनुपर्ने अवस्था आउँछ, त्यहाँनेर गोरखापत्रले आफ्ना प्रस्तुतिमार्फत नै निकै दरिलो उपस्थिति दर्साउने गरेको छ । यसका कैयौँ उदाहरण छन्, जसले राष्ट्रिय एकता र अखण्डतालाई थप बलियो बनाएको छ । राष्ट्रियता र राष्ट्रिय अखण्डताका पक्षमा राज्यको एकमत अर्थात् ऐक्यबद्धताको आवश्यकता पर्दछ त्यसबेला गोरखापत्रले त्यो जनमत सिर्जना गर्ने गरेका प्रशस्त उदाहरण हामीले पाउन सक्दछौँ ।
१०. नेपाली भाषा र साहित्यको संरक्षण र विकास
गोरखापत्रले नेपाली भाषा र साहित्यको संरक्षण र प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ । एकातर्फ भाषाको सुधारमा गोरखापत्रले योगदान गर्दै नेपाली भाषालाई थप विकसित बनाउँदै लैजाने काम गरेको छ भने अर्कातर्फ यसले नेपाली साहित्यकारका सिर्जनालाई स्थान दिएको थियो । जसका कारण साहित्यिक प्रतिभाले आफ्नो भाषाको विकास र क्षमता अभिवृद्धिमा लाग्न सक्ने भएका थिए । पछि गएर उनीहरूकै अगुवाइबाट नेपालमा भाषाको विकास तथा विस्तारमा सहयोग पुगेको थियो । जस्तो कि गोरखापत्रका पुराना अङ्क हेर्यो भने त्यसमा निकै नै पुरानो भाषाको लेखाइ र शब्द भेटिन्छन् । अहिले त्यसमा निखार आइसकेको छ । गोरखापत्रको भाषा आफैँ परिमार्जित र विकसित हुँदै गएको पनि छ । यसरी नेपाली भाषाको सुधार एवं प्रवर्धनमा गोरखापत्रले पनि योगदान पुर्याएको छ भन्दा फरक पर्दैन ।
त्यसै गरी गोरखापत्रले नै भाषाका अतिरिक्त नेपाली संस्कार र संस्कृतिको संरक्षण र प्रचार गरी नेपाली संस्कृति र परम्परालाई पनि सम्पन्न बनाउने काममा योगदान पुर्याएको छ । लेख, विचार तथा समाचार सामग्रीको प्रकाशनबाट गोरखापत्रले यस कार्यमा योगदान थप्दै गएको छ । यसका कारण पनि नेपालको सांस्कृतिक धरोहर र परम्पराहरूको प्रचार भई प्रवर्धन हुन पुगेको छ । अहिले नै हामीले हेर्यौँ भने विभिन्न जातजाति, भाषा र सम्प्रदायका नागरिकका चाडपर्व एवं संस्कार र परम्पराका बारेमा गोरखापत्रले निकै सन्तुलित रूपमा समाचार प्रकाशन गर्ने गर्दछ । त्यसै गरी ती सम्प्रदाय र संस्कृतिका बारेमा विदेशीले पनि ‘दी राइजिङ नेपाल’ मा पढेर थाहा पाउन सक्दछन् । यो पनि नेपालको संस्कृतिका बारेमा विश्वव्यापी रूपमा दिइने सूचनाको स्वरूप हो ।
११. कृषि, व्यवसाय र अर्थतन्त्रमा योगदान
गोरखापत्रले नेपाली अर्थतन्त्र र व्यवसायका बारेमा महत्त्वपूर्ण समाचार र जानकारी प्रदान गरेको छ । पहिले किसानले जेटिए, कृषि सामग्री तथा खेती किसानीका तरिकाका बारेमा जानकारी पाउन नसक्ने अवस्था रहँदा पनि गोरखापत्रले सुरु सुरुमा किसानलाई खेती गर्ने तरिकासम्म सिकाएका उदाहरण गोरखापत्रका पुराना अङ्कमा नै भेटिन्छन् । पछिल्ला समयमा जेटिएका विचार र खेती गर्ने तरिका सिकाएर होस् या अन्य कुनै तरिकाका बारेमा समाचार लेखेर पनि किसानलाई यसले खेती गर्न सिकाएको छ । जस्तो कि धेरै पहिलेका गोरखापत्रका प्रकाशनमा खेतीमा गभारो किरा लाग्यो भने घरायसी औषधी के प्रयोग गर्ने र कसरी गर्ने भन्ने सिकाएको देखिन्छ । करिब ५० वर्षअघिको गोरखापत्रको एक समाचारमा साग तथा तरकारीमा किरा आदि लाग्यो भने त्यसमा गाईको गहुँत हाल्नाले किरा मर्ने छन् भनेर लेखिएको छ । यसले त खेतीमा किराको प्रकोपबाट सताइएका किसानलाई निकै नै ठुलो सूचना दियो नि । हुन त त्यस समयमा कति किसानले गोरखापत्र हेर्थे या पढ्थे भन्ने पनि एक प्रश्न हुन सक्दछ तर पनि कुनै एक गाउँमा एक जना किसानले पढे भने त त्यो उनले जानेको कुरा सबैतिर फैलिन पनि त सक्थ्यो । फेरि अहिले सञ्चारका माध्यम भए जस्तै ऊबेला मानिस हिँडडुल नै गर्ने गर्दथे । उनीहरू एक गाउँका सूचना र जानकारी अर्का गाउँमा लैजाने गर्दथे ।
त्यसो गर्नाले एक गाउँको चालचलन, प्रविधि तथा तौरतरिका अर्को गाउँमा पुग्थ्यो पनि । गोरखापत्रले दिएका त्यस समयका खेतीबालीका कुरा, ज्ञानगुनका कुरा तथा अन्य तौरतरिका सिकाउने कुरा कुनै एक ठाउँबाट अर्काे ठाउँमा यसरी पनि पुग्ने गर्दथ्यो भनिएको छ । यसलाई पनि गोरखापत्रले सञ्चार गरेको राम्रो शिक्षाका रूपमा लिन सकिन्छ ।
गोरखापत्रले मुलुकको अर्थतन्त्रको विकास र विस्तारमा पनि सहयोग पु्र्याएको छ । त्यस समयको सानोतिनो बन्द व्यापारमा यसको योगदान महत्त्वपूर्ण छ । त्यसो त नेपालको अर्थतन्त्रको विकासमा नै गोरखापत्रको योगदान छँदै नै छ । गोरखापत्रको प्रकाशनका बारेमा देवशमशेरले सम्पादकलाई दिएको सनदमा पनि ‘कलकत्ता र यहाँको दरभाउको कुरा छाप्नू’ भनेर लेखिएको छ । कोलकाता त्यस समयको नेपालको सबैभन्दा बढी बन्द व्यापार हुने अथवा नेपालको नजिकको बजार गर्ने सहर हो । त्यहाँको बजारभाउले यहाँका किसानलाई कुन सामानको कति मूल्य भन्ने एउटा बजारको दरभाउ तोक्न सजिलो हुने तथा व्यवसायीले भारतीय बजारको सूचना पाउन सायद सजिलो हुन्थ्यो होला । अर्काे कुरा उपभोक्ताले पनि कुन सामानको कोलकातामा कति भाउ रहेछ र यहाँ कति रहेछ भन्ने पनि जान्न पाउने भए । यसले दुवैतर्फ हित हुने भयो ।
त्यसै गरी सुनखानी पाएको नछाप्नु तर धाउ (फलाम) खानी पाएको छाप्नू भनी दिइएको सो सनदले पनि नेपालको उद्योगधन्दाको विकास र राष्ट्रिय अर्थतन्त्रको विकासमा गोरखापत्रले सन्देश दिन खोजेको छ । त्यस समयमा फलाम खानी पाइएको समाचार छाप्नाले त्यसको उत्खनन गरी आवश्यक मात्रामा त्यसको प्रयोग गर्न सकिने नै भयो । यसका साथै सुनखानी पाएको समाचार नछाप्नू भन्ने सन्देशले त्यस समयमा हामीसँग सुन भएको खबर नै भए पनि त्यसलाई झिक्ने प्रविधि र प्रयोगको मोडालिटी नहुनाले कतै विदेशीले त्यसको चोरीपैठारी पो गर्लान् कि अर्थात् देशभित्रै पनि त्यो सम्पत्तिलाई सकुशल जोगाउन गाह्रो पर्ने भएर पनि सो समाचार नदिनू भन्ने सन्देश दिन खोजिएको हो कि ? त्यस समयको त्यस विचारका बारेमा कुनै आधिकारिक तथ्य नभेटिएको भए पनि धाउ र सुनका यी दुई सूचनाको अर्थ राष्ट्रिय अर्थतन्त्रसँग नै जोडिन्छ ।
१२. जनताको साथी, सरकारको सारथि
जुम्लाका जनताले नुन खान नपाएको समाचार गोरखापत्रमा छापिएको छ । महिना दिनदेखि जुम्लाका जनताले नुन नपाएपछि अलिनो बस्न बाध्य भएको समाचार गोरखापत्रमा छापिएपछि काठमाडौँको सरकारले सो समाचार पढेको र सरकारी अधिकारीलाई त्यहाँ खटाई पठाएर नुनको प्रबन्ध गरिएको समाचार पनि गोरखापत्रमै छापिएको छ ।
त्यस्तै विसं २०२३ तिर बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारमा पढ्न बसेका विद्यार्थी डिल्लीप्रसाद शर्माले बागलुङका व्यापारीले एक रुपियाँ साट्दा १० पैसा कटाउने गरेको बारेमा गोरखापत्रमा पाठकपत्र लेख्नुभएको रहेछ । अन्यत्रतिर एक रुपियाँ साट्दा पाँच पैसा मात्र कटाउने गरेकामा त्यहाँ भने एक रुपियाँ साट्दा १० पैसा कटाउने गरेको घटनालाई उहाँले गोरखापत्रमा पाठकपत्रका रूपमा पठाउनुभएछ । गोरखापत्रमा सो पत्र छापिएछ जिल्लामा हल्लाखल्ला भयो र पाँच पैसा मात्र कटाउने व्यवस्था भयो ।
यी दुई प्रतिनिधि घटना मात्र हुन्, जनता अन्यायमा परेका र जनताले दुःख पाएका यस्ता कैयौँ समाचार गोरखापत्रमा छापिएपछि नागरिकले न्याय पाएका प्रशस्तै उदाहरण छन् । त्यसैले जनताले गोरखापत्रलाई आफ्ना पिरमर्का पोख्ने र त्यतिबेला काठमाडौँमा मात्र बस्ने सरकारसामु समस्या राख्ने साथीका रूपमा गोरखापत्रलाई लिएका थिए । यसरी गोरखापत्रले शासक र जनताबिच पुलको काम गरेको थियो ।
उता सरकारले भने आफ्नो सारथिका रूपमा गोरखापत्रलाई प्रयोग गरेको थियो । आफ्ना सूचना मात्र नभएर जनतालाई दिनुपर्ने सहुलियत, सेवा, निर्देशन आदि जस्ता काम गोरखापत्रको पेजबाट नै थाहा दिने गरेको थियो । सरकारी सूचनाको सम्प्रेषण गोरखापत्रबाट नै हुन्थ्यो र अहिले पनि हुने गरेकै छ । यसरी गोरखापत्रले जनता र सरकारबिच सेतुको काम गर्ने गरेको थियो । जनताका समस्या सरकारसम्म पुर्याउने र सरकारका निर्देशन या जनतासँग जोडिएका विषयवस्तु जनतासम्म पुर्याउने काम गोरखापत्रले नै गर्ने गरेको थियो ।
लेखक राससका पूर्वप्रधान सम्पादक हुनुहुन्छ ।
प्रस्तुत आलेख ‘ नेपाली समाज र सञ्चार विकासमा गोरखापत्रको भूमिका’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।