• ११ भदौ २०८२, बुधबार

मालिका भगवतीको मन्दिर पुन:निर्माण

blog

बागलुङ नगरपालिका ५, ६ र ७ को सिमानामा रहेको मालिका भगवती मन्दिरमा पूजा गर्दै भक्तजनहरू । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, भदौ ११ गते । बागलुङ नगरपालिका ५, ६ र ७ को सिमानामा रहेको मालिका भगवती मन्दिर एक करोड लागतमा पुन:निर्माण गरिएको छ । 

गण्डकी प्रदेश पर्यटन मन्त्रालयको ४६ लाख, रुपियाँ अनुदानसहित स्थानीयले मुठीदानसमेत सङ्कलन गरेर १ कराड ९ लाख रुपियाँमा मालिका भगवती मन्दिर पुन:निर्माणसहित पाञ्चायन मन्दिर, सत्तल लगायतका धार्मिक संरचनाहरू निर्माण गरिएको हो । 

किंवदन्ती अनुसार बागलुङ कालीका र मालिकालाई दिदीबहिनी भनेर सम्बोधन गरिन्छ । सडक यातायात सहज बनाउन सकेको खण्डमा मालिका भगवती मन्दिरमा पनि भक्तजन र धार्मिक पर्यटक भित्राउन सकिने स्थानीयवासीको विश्वास छ । 

बागलुङ नगरपलिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले मङ्गलबार मन्दिरको उद्घाटन गर्दै मालिका भगवती मन्दिरलाई पुरातात्विक महत्त्वको बनाउन पहल गर्ने पनि प्रतिबद्वता व्यक्त गर्नुभएको छ । श्रेष्ठले बागलुङलाई धार्मिक गन्तव्य बनाएर पर्यटक भित्र्याउने अभियानमा मालिका मन्दिर अति आवश्यक र उत्तम स्थल भएको बताउनुभयो । 

बागलुङ कालीका, पञ्चकोट, मालिका र बलेवा भैरव लगायतका धार्मिक स्थललाई भक्तजनको आस्थाको केन्द्र र पर्यटकको गन्तव्य बनाउन सक्दा व्यवसायिक भविष्य पनि राम्रो बन्ने नगर प्रमुख श्रेष्ठको भनाइ थियो । मालिका भगवती मन्दिरलाई सिमेन्टको नबनाइ ढुङ्गैढुङ्गाको बनाइएको छ । ढुङ्गा खोपेर बनाएकोले मन्दिर हजार वर्ष टिकाउन सकिने मन्दिर व्यवस्थापन समितिका महासचिव खेमराज सापकोटाले बताउनुभयो । 

कार्यक्रममा उच्च अदालत पाटनका न्याायधिस तेजेन्द्र प्रसाद सापकोटाले धार्मिक गन्तव्य मात्र नभई मालिका सभ्यताको स्थल पनि भएकोले मन्दिर पुननिर्माणसँगै स्थानीयले मानव सभ्यताको खोजी र संरक्षण गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले आँटेको पुग्ने भएकोले मालिका भगवती मन्दिरमा पूजा गर्न धेरै टाढाबाट पनि आउने गरेको बताउनुभयो । 

हरेक वर्ष तिजको अवसरमा मालिकामा मेला लाग्दै आएको छ । यो पटक नयाँ मन्दिर उद्घाटन राखिएपछि सयौं स्थानीय सहभागी थिए । आयोजकले पुरुष तथा महिला छेलो, भलिवल प्रतियोगिता कार्यक्रम राखेको छ । त्यस्तै धार्मिक प्रवचन लगायतको कार्यक्रम पनि राखिएको छ । मेला अझै दुइ दिन चल्ने छ ।