अर्जुन कार्की
काठेखोला (बागलुङ), भदौ ११ गते । एक दशकअगाडिसम्म बागलुङका गाउँघरमा कुटानी पिसानीका लागि परम्परागत उपकरण ढिकी, जाँतो प्रयोग गरिन्थ्यो । धान, मकै कुट्न ढिकी र चामल, कोदो, गहुँलगायतका अन्न पिस्न जाँतो प्रयोग गरिन्थ्यो । घरमा ढिकी र जाँतो अनिवार्य अङ्ग जस्तै थिए तर अचेल गाउँघरमा ढिकी लोप भइसकेको छ भने जाँतो पनि धेरै घरको कुनामा थन्किएको देखिन्छ । केही ठाउँमा त ढिकी, जाँतो सङ्ग्रहालयमै सीमित भएका छन् । ढिकी र जाँतो केवल पिस्ने कुट्ने साधन मात्र थिएनन्, नेपाली समाजको आत्मनिर्भर जीवनशैली झल्काउने औजार थिए ।
हरेक घरमा बिहानीको सुरुवातमा ढिकीको ‘धुम धुम’ आवाज गाउँभरि गुञ्जिन्थ्यो । त्यो आवाज आफैँमा घरको जागरण जस्तै लाग्थ्यो तर अहिले आधुनिक प्रविधिको विकाससँगै कुटानी पिसानीका लागि आधुनिक मिल आएपछि ढिकी, जाँतोप्रतिको आश्रय घट्दै गएको छ ।
मानिस उत्पादनमुखीभन्दा पनि बाहिर बजारबाट आउने चामल, दाललगायत सामग्री प्रयोग गर्ने भएकाले पनि ढिकी, जाँतोको चलन हराउँदै गएको स्थानीय बासिन्दा बताउँछन् । कुटानी पिसानीको सहज माध्यमका रूपमा बजारमा विद्युत् तथा पेट्रोल, डिजेलबाट चलाउन सकिने आधुनिक मिल आउन थालेपछि ढिकी, जाँतोको प्रयोग न्यून हुन पुगेको हो । विगतमा घण्टौँ लगाएर ढिकी र जाँतोमा धान कुट्ने, गहुँ, कोदो, मकै, फापर, दाललगायत पिस्ने काम गरे पनि पछिल्लो समयमा आधुनिक मिलको सहायताले गाउँघरका मानिस कुटानीपिसानी गर्दै आएका छन् ।
दशकअघिसम्म एउटा घरमा ढिकी, जाँतो अनिवार्य हुने गरेको भए पनि त्यो चलन हराउँदै गएको काठेखोला गाउँपालिका–२, भीमापोखराकी ६२ वर्षीय दिलमाया थापा बताउनुहुन्छ । आधुनिक प्रविधिको विकासले परम्परागत सामग्रीको प्रयोग हराउँदै गएको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “गाउँमा विद्युत्को विस्तार भएपछि आधुनिक मिल आए । अहिले मिलबाट कुटानी र पिसानीको काम हुन्छ । परम्परागत ढिकी जाँतोको चलन पछिल्लो पुस्ताले त बिर्सिन थालिसके ।”
आधुनिक प्रविधिको विकासले मानिसलाई कुटानीपिसानीका लागि घन्टौँ दुःख गर्नुपर्ने अवस्थाको अन्त्य गरिदिएको छ । पहिले रातभर लगाएर जाँतोमा गहुँ, कोदो, मकै, फापर पिस्नुका साथै ढिकीमा धान कुट्ने प्रचलन थियो । जाँतोमा रातभरि लगाएर मुरी कोदो पिस्नुपर्ने बाध्यता थियो । परम्परागत औजारको प्रयोग गरेर काम गर्दा धेरै जनशक्ति र समयको खर्च हुन्थ्यो । थापाले भन्नुभयो, “गाउँमा मिल राखेपछि धेरै सजिलो भने भएको छ ।”
गाउँघरमा विद्युत् पुगेसँगै अधिकांश ठाउँमा विद्युत्बाट चल्ने मिल राखेर धान कुटानी, तेल पेल्नेदेखि पिठो पिसाउन थालेपछि गाउँमा परम्परागत रूपमा चल्दै आएका ढिकी, जाँतो हराउन थालेका यहाँका स्थानीयले बताएका छन् ।
ढिकी, जाँतोमा कुटेका खानेकुरा स्वस्थकरसँगै स्वादिष्ट हुने गरेको भए पनि अहिले आधुनिक मिलमा पिसेको पिठो र चालमको खाना खासै मिठो नहुने गरेको बडीगाड गाउँपालिका–३ का सङ्गमकुमार घर्तीमगर बताउनुहुन्छ । आधुनिक मिलले मानिसको दैनिक जीवनमा सहजता प्रदान गरे पनि खाद्यान्नमा हुने पौष्टिक तत्व नष्ट हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “आधुनिक मिलमा कुटानी, पिसानीका लागि सहज छ तर यसरी कुटिएको अन्नको स्वाद राम्रो हुँदैन ।” ढिकी, जाँतोमा कुटेर, पिसेर खाँदा स्वाद नै फरक हुने उहाँ बताउनुहुन्छ ।