बुटवल समाचारदाता
बुटवल, भदौ ११ गते । बुटवललाई सुरक्षित र आकर्षक सहर बनाउने उद्देश्यसहित सुरु गरिएको उज्यालो बुटवल अभियान अन्तर्गत सडक बत्ती जडानको काम धमाधम भइरहेको छ । २०८० माघ १२ गते सुरु भएको यो अभियान २०८१ जेठ ३१ गतेसम्म सक्ने योजना भए पनि कामको आवश्यकता अनुसार म्याद थप गरी निरन्तरता दिइएको हो ।
प्राविधिक सर्वे अनुसार कुनै स्थानमा १२ मिटर त कुनै स्थानमा १६ मिटर अग्ला पोलमा बत्ती जडान भइरहेका छन् । चालु आर्थिक वर्षमा बुटवल उपमहानगरपालिकाले थप १९ वटा स्थानमा बत्ती जडान गर्ने लक्ष्य लिएको छ । गत वर्ष भने २३ स्थानमा लाइट जडान भइसकेका छन् । यस पटक भने मुख्य बजार क्षेत्रभन्दा भित्रका बस्ती र पार्क क्षेत्रमा प्राथमिकता दिइएको छ ।
उपमहानगर प्रमुख खेलराज पाण्डेयका अनुसार हालसम्म जडान भएका बत्तीले रातिको समयमा हुने चोरी तथा आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुगेको छ । उहाँले यस पटक जडान हुने बत्तीमा डिजिटल डिस्प्ले पनि रहने उल्लेख गर्दै नगरको सूचना प्रवाहसँगै विज्ञापनको अवसर उपलब्ध गराइने र त्यसबाट उठ्ने राजस्व विद्युत् महसुल तिर्न प्रयोग गरिने जानकारी दिनुभयो । विज्ञापनसहितका १९ वडा बत्ती जडानका लागि उपमहानगरपालिकाले आन्तरिक स्रोतबाट दुई करोड ६४ लाख ३४ हजार रुपियाँ बजेट छुट्याएको छ । समग्र योजना अनुसार बुटवलका ५२ स्थानमा बत्ती जडान गरिने भएका छन् ।
यसका लागि दुई करोड ५४ लाख ४७ हजार रुपियाँमा त्रिसन्ध्या मार्क जेभीसँग सम्झौता गरिएको छ । नगरप्रमुख पाण्डेयले यस अभियानले बुटवललाई आधुनिक र समुन्नत सहरका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
भवन निर्माण महाशाखा प्रमुख सुमन श्रेष्ठका अनुसार गत वर्ष पहिलो र दोस्रो चरणमा मुख्य सडक र बजार क्षेत्रमा लाइट जडान भएकोमा अहिले तेस्रो चरणमा भित्री बस्ती र पार्कमा विस्तार गरिएको हो । हालसम्म योगीकुटी, कालिका चोक, बसपार्क, अस्पताल लाइन, लक्ष्मीनगर गेट, बिटिआई चोक, राजमार्ग चौराहा, जितगढी किल्ला, गोलपार्क, मैनाबगर अटोभिलेज, बिपी चोक, जेसिज चोक, तीनकुने, देवीनगर चौपारी चोक र देवसिद्ध चोकमा लाइट जडान सम्पन्न भइसकेको छ ।