मनहरी समाचारदाता
मनहरी (मकवानपुर), भदौ ११ गते । चेपाङ समुदायका लागि सञ्चालनमा ल्याइएको चेपाङ विकास कार्यक्रम (तत्कालीन प्रजा विकास कार्यक्रम) रद्द गरिएकोमा चेपाङ समुदायले सरकारसँग जवाफ माग गरेका छन् । चेपाङ समुदायको बाहुल्य रहेको निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँ नै मुख्यमन्त्री बनेको मौका छोपेर चेपाङ समुदायका सवालबारे ध्यानाकर्षण गराइएको हो । नेपाल चेपाङ सङ्घ जिल्ला कार्यकारिणी समिति मकवानपुरले मुख्यमन्त्री बानियाँलाई भेटेर नौ बुँदामा ध्यानाकर्षण गराएको छ ।
विसं २०३४ सालदेखि सञ्चालित चेपाङ विकास कार्यक्रम गणतन्त्र आएपश्चात् रद्द भएको बारे रोष व्यक्त गर्दै यसले समग्र चेपाङ समुदायको विकासमा अवरोध पुगेको उल्लेख गरिएको छ । बागमती प्रदेश सरकारले उक्त कार्यक्रम तत्कालै बजेटको व्यवस्थासहित सञ्चालन गर्नुपर्ने माग गरिएको सङ्घका जिल्ला कार्यकारिणी समितिका अध्यक्ष महेशकुमार चेपाङले बताउनुभयो ।
ध्यानाकर्षण पत्रमा चेपाङ बस्ती रहेका क्षेत्रलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गरी बजेट व्यवस्थापन गरिनुपर्ने, हरेक वर्ष १० जना चेपाङ विद्यार्थीलाई आइटी, विज्ञान, कृषि, स्वास्थ्यलगायत सेवाको प्राविधिक अध्ययनका लागि व्यवस्था मिलाइनुपर्ने, अहिले पनि चेपाङ समुदायमा नागरिकता नभएको पाइएकाले सहज व्यवस्था गरिदिनुपर्ने, चेपाङ समुदायका बालबालिका भोकभोकै विद्यालय जानुपर्ने बाध्यता रहेकाले सो समस्या समाधानमा ध्यान दिनुपर्नेलगायतका विषय समेटिएका छन् ।
सरकारले चेपाङ समुदायका लागि हस्तान्तरण गरेको जग्गाको स्वामित्व विभिन्न बहानामा सरकारकै मातहतमा राखिएकाले ती जग्गाको स्वामित्व सम्बन्धित चेपाङलाई नै दिइनुपर्ने, जल, जङ्गल, जमिनको उपयोगमा चेपाङको पहुँच विस्तार हुनुपर्नेलगायतका विषयमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरिएको छ ।
जिल्ला अध्यक्ष महेशकुमारका अनुसार मुख्यमन्त्री बानियाँलाई चेपाङले उत्पादन गर्ने स्थानीय जातको मौरीको मह, कागुनो, घैयालगायत मौलिक र परम्परागन खाद्य सामग्रीसहितको जाबी (चेपाङले बोक्ने प्वालैप्वाल भएको झोला) हस्तान्तरण गरिएको थियो ।