बबई समाचारदाता
बबई (बर्दिया), भदौ ११ गते । सरकारले सशस्त्र प्रहरी बललाई सीमा सुरक्षाको जिम्मेवारी दिएको दुई दशक बितिसक्दा पनि आवश्यक भौतिक पूर्वाधारको निर्माण हुन नसक्दा बर्दिया जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा खटिएका प्रहरीले सास्ती भोग्दै आएका छन् ।
८३ किलोमिटर खुला सीमा रहेको यस जिल्लामा कतिपय स्थानमा सशस्त्र प्रहरीले खुला आकाशमुनि नै ड्युटी गर्नु परेको छ भने कतिपय स्थानमा टिनको छाप्रो बनाएर सीमा सुरक्षामा खटिनु परेको छ । गुलरिया नगरपालिका–१० अन्तर्गत पर्ने रझेनवा सीमा क्षेत्रमा त गर्मीमा तातो टिनको छानामुनि बसेर सुरक्षा दिनुपर्ने बाध्यता छ । बर्खामा भिज्दै ड्युटी गर्नुपर्ने स्थिति यहाँ देखिन्छ । कतिपय पोस्टमा पिउने पानी जस्ता आधारभूत सुविधासमेत अभाव छ ।
रझेनवामा खटिएका एक प्रहरीका अनुसार सीमाको सुरक्षामा खटिएको प्रहरीलाई सामान्य सुविधा पनि नपाउँदा काममा कठिनाइ हुने गरेको छ । रझेनवा चेकपोस्ट कालाबन्जार बोर्डर सुरक्षा पोस्टको मातहतमा पर्दछ । त्यहाँ खटिएका प्रहरीलाई गाडीमार्फत ड्युटी स्थलसम्म पु¥याइन्छ र ड्युटी सकिएपछि गाडीमा फिर्ता ल्याइन्छ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमा क्षेत्रमा आफ्ना सुरक्षाकर्मीलाई पर्याप्त पूर्वाधार र सुविधा उपलब्ध गराए पनि नेपालतर्फ भने अझै आधारभूत संरचनाको कमी रहेको छ । सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीलाई जङ्गली जनावरको समेत त्रास हुने गरेको छ ।
कालाबन्जार बोर्डर सुरक्षा पोस्टका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेका अनुसार रझेनवा क्षेत्रमा भारतसँग जोडिएको संवेदनशील भाग भएकाले त्यहाँ ६–६ घण्टाका लागि दुई–दुई जनाको टोली खटाइने गरिएको छ । सशस्त्र सीमा सुरक्षा कार्यालय बर्दियाका प्रमुख मानबहादुर शाहीले भने उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरेर सुरक्षाकर्मीलाई खटाइएको र सीमा सुरक्षामा कुनै कमजोरी आउन नदिइने बताउनुभयो ।
बर्दियाको ८३ किलोमिटर सीमा क्षेत्रको अधिकांश भाग भारतीय जङ्गलसँग जोडिएको छ । अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले हालसम्म १८ वटा बोर्डर सुरक्षा पोस्ट स्थापना गरेको छ । टिनको छाप्रो र असुविधाजनक अवस्थामा खटिए पनि सुरक्षाकर्मीको निरन्तर प्रयासले सीमा क्षेत्रमा शान्ति र नियन्त्रण कायम गर्न मद्दत पु¥याइरहेको छ ।