• १६ चैत २०८०, शुक्रबार

पाल्पाका दश वटै पालिकाले ल्याए बजेट तथा कार्यक्रम

blog

माथागढी गाउँपालिकाको एघारौँ अधिवेशन कार्यक्रममा सहभागी गापा अध्यक्ष, उपाध्यक्ष लगायत । तस्बिर– रेखीराम राना

रेखीराम राना

पाल्पा, असार ११ गते । पाल्पाका दश वटै पालिकाले आव २०७९/०८० का लागि नीति, कार्यक्रम तथा बजेट पेश गरेका छन् । 

जिल्लाको तानसेन नगरपालिकाले आगामी वर्षका लागि एक अर्ब ३९ करोड रुपियाँको बजेट नीति तथा कार्यक्रम प्रस्ताव गरिएको छ । एघारौँ नगरसभामा नगर उपप्रमुख प्रतिक्षा सिंजालीले नीति तथा कार्यक्रम अनुसार समेटेर बजेट प्रस्तुत गर्नुभयो । पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकता राखेर तानसेनले बजेट तथा कार्यक्रम बनाएको हो । 

यस्तै, रामपुर नगरपालिकाले आगामी आवका लागि ७२ करोड, ४७ लाख ९५ हजार बराबरको बजेट तथा कार्यक्रम नगरसभामा पेश गरेको छ । नगरसभाले पूर्वाधार विकास, सुशासन र आर्थिक विकासलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम ल्याएको नगर प्रवक्ता कपिल खाँडले जानकारी दिनुभयो ।  

यस्तै, जिल्लाको निस्दी गाउँपालिकाले ६४ करोड ९८ लाख रुपियाँ बराबरको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । एघारौँ गाउँसभामा कृषि, पूर्वाधार, शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई समेटेर बजेट नीति तथा कार्यक्रम पेश गरिएको पालिका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिनुभयो । 

रैनादेवी छहराका उपाध्यक्ष युवराज थापाले आगामी आवका लागि ६४ करोड ५९ लाखको बजेट तथा कार्यक्रम पेश गर्नुभयो । एघारौँ गाउँसभामा थापाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट पेश गर्नुभएको हो । 

जिल्लाको माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले आगामी आवका लागि पालिकाको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । उहाँले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रम पेश गर्नुभयो । यस्तै, माथागढीकी उपाध्यक्ष विष्णुमाया लुङ्चेले ५७ करोड ७४ लाख बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । शिक्षा, कृषि, पूर्वाधार, सडक निर्माणलाई प्राथमिकतामा राखेर माथागढीले बजेट पेश गरेको हो । 

जिल्लाको पूर्वखोलाले आगामी आर्थिक वर्षका लागि ४८ करोड १७ लाख ७४ हजारको बजेट तथा कार्यक्रम प्रस्ताव गरेको छ । पूर्वखोला गाउँपालिकाले सामाजिक विकास क्षेत्रलाई महत्व दिँदै आगामी आव २०७९÷०८० का लागि बजेट तथा कार्यक्रम पेश गरेको हो । 

रम्भाले ५० करोड २९ लाख ८३ हजार बराबरको बजेट पेश गरेको छ । कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर पालिकाले आगामी वर्षका लागि बजेट पेश गरेको हो । 

तिनाउ गाउँपालिकाले ४८ करोड, २० लाख ९१ हजार बराबरको बजेट सभामा प्रस्तुत गरेको छ । पूर्वाधार विकास, शिक्षा, कृषि, स्वास्थ्यलाई प्राथमिकता राखेर बजेट पेश गरेको पालिकाले जनाएको छ । 

यस्तै, बगनासकाली गाउँपालिकाले ४७ करोड बराबरको बजेट गाउँसभामा पेश गरेको छ । कृषि, पूर्वाधार विकास र शिक्षा क्षेत्रलाई प्राथमिकता राखेर बगनासकालीले बजेट पेश गरेको पालिकाकी अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । 

उता, रिब्दीकोट गाउँपालिकाले ५१ करोड २४ लाख २५ हजार बराबरको बजेट गाउँसभामा पेश गरेको छ । कृषि, पशुपालन, शिक्षा र पर्यटनलाई प्राथमिकता दिएर रिब्दीकोट गाउँसभामा बजेट तथा कार्यक्रम पेश भएको हो ।