यादवराज पुरी
रौतहट, भदौ ९ गते । रौतहटमा पछिल्लो एक साताभित्रै दुई जनाको हत्या र एक जनाको रहस्यमय मृत्युको घटनाले सुरक्षा निकायमा चुनौती थपिएको छ । सदरमुकाम गौरमै भएको उक्त घटनाले जिल्लामा त्रासको वातावरण सिर्जना भएको छ भने जिल्लामा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी गम्भीरतापूर्वक लागि परेको छ ।
गत बुधबार गौर नगरपालिका–५ बरहवाताल पुल नजिक यमुनामाई गाउँपालिका–५ का २२ वर्षीय सहाबुद्दीन मियाको चक्कु प्रहारबाट हत्या भएको थियो । हत्यालगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले घटनास्थलबाट भाग्दै गरेका गौर–३ का २० वर्षीय सनोज रामलाई नियन्त्रणमा लिई हत्यामा प्रयोग भएको चक्कुसमेत बरामद गरेको छ ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजु कार्कीले हत्या भएका मिया र प्रहरी नियन्त्रणमा लिइएका राम दुबै जना लागुऔषध सेवनकर्ता रहेको जानकारी दिनुभयो । उहाँका अनुसार लागुऔषध सेवनपछि दुबै जनाबिच झगडा भएको र झगडाले उग्ररुप लिएपछि रामले मियालाई चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
यसैगरी, गत सोमबार सप्तरीको खडक नगरपालिका–७ का ५९ वर्षीय उपेन्द्रकुमार भगतको शव गौरको एक लजमा फेला परेको छ । साउन २५ गतेदेखि बेपत्ता रहनुभएका भगतको खोजतलासका लागि परिवारजनले साउन २६ गते सप्तरी प्रहरीमा निवेदन दिएको बताइएको छ । श्यामबाबा राइस एण्ड ओइल मिल प्रालीका म्यानेजर रहनुभएको भगतका छोरा विकास कुमारले आर्थिक लेनदेनको विवादमा बाबुको अपहरणपछि हत्या भएको आरोप लगाउनुभएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीका अनुसार गौरमा रहेको नेपाल लजको कोठा नम्बर २०२ मा मृतक भगत शव रहेको थियो । उहाँको शरीरमा कुनै घाउचोट नदेखिएको अवस्थामा शव कोठामा फेला परेको हो । हालसम्म ल्याब रिपोर्ट नआएकोले मृत्युका कारण यकिन गर्न सकिएको छैन । लज सञ्चालक अमित केशरीले भगत यसअघि दुई पटक लजमा बसेको बताउनु हुँदै उहाँको मृत्यु बारे आफू अनभिज्ञ रहेको बयान दिनुभएको छ ।
आइतबार गौर नगरपालिका–२ महादेवपट्टीमा डेरा गरी बस्दै आउनुभएकी २६ वर्षीया रुबीकुमारी साहको शव सुटकेसमा फेला परेको छ । भारतको मुजफरपुर, रक्साटोलकी साह छोराको पढाइका लागि गौर बस्दै आउनुभएकी थिइन् । शनिबार साँझ ६ बजे बजार जाने भन्दै डेराबाट निस्किनुभएकी उहाँको शव सिर्सिया नजिक सुटकेसमा भेटिएको हो ।
उहाँका श्रीमान् शिवसागर साह रौतहट आइसक्नुभएको छ । प्रहरीले सिसी क्यामेरा फुटेज र मोबाइल लोकेशनको आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरी उपरीक्षक गिरी भन्नुहुन्छ, “तीनवटै घटनाको अनुसन्धान तीव्र रूपमा अघि बढाइएको छ । सहाबुद्दीनको हत्यामा अभियुक्त पक्राउ परिसकेको र अन्य दुई घटनामा प्राविधिक प्रमाण सङ्कलन भइरहेको छ । सुरक्षा चुनौतीपूर्ण बने पनि अपरााधीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन हामी प्रतिबद्ध छौँ ।”