चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ ९ गते । ताप्लेजुङस्थित निर्माणाधीन तमोर–५ जलविद्युत आयोजनाको टिप्पर तमोर नदीमा खस्दा सोमबार एकजना बेपत्ता भएका छन् ।
प्रहरीकाअनुसार जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको हान्द्रुङस्थित तमोर कोरिडोर सडक खण्डदेखि तमोर नदीमा टिप्पर खस्दा एकजना बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतले तनहुँको सुक्लागण्डकी गाउँपालिका–४ का २४ वर्षीय सुदीप सुवेदी बेपत्ता भएको जानकारी दिनुभयो ।
तमोर–५ जलविद्युत आयोजनाको ग १ क ६३१८ नम्बरको टिप्परमा समस्या आएपछि मर्मत गरेर चेक (जाँच) गर्ने क्रममा सो टिप्पर अनियन्त्रित भई तमोरमा खसेको हो ।
टिप्पर तमोर नदी बिचमा देखिएको छ भने सुवेदी बेपत्ता भएका छन् । प्रहरी निरीक्षक बस्नेतअनुसार तमोर नदीमा बेपत्ता भएका सुवेदी तमोर–५ जलविद्युत आयोजनामा मेकानिकका रुपमा कार्यरत थिए ।
यता बेपत्ता सुवेदीको लेलेपको लुङ्थुङ प्रहरी चौकीबाट खटेको प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् ।