अविनाश चौधरी
धनगढी, भदौ ९ गते । कैलाली कारागार प्रशासनले झडपमा परेर घाइते भएका थप सात कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरेको छ ।
कारागारले आज चार जनालाई डडेल्धुरा कारागार र तीन जनालाई डोटी कारागारमा स्थानान्तरण गरेको हो । कारागारले यसअघि, तीन जनालाई कञ्चनपुर, एक जनालाई नवलपरासी र तीन जनालाई काठमाण्डौं स्थानान्तरण गरेको थियो ।
हालसम्म १४ कैदीबन्दीलाई स्थानान्तरण गरिसकेको कारागारका जेलर प्रकाश ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले थप अरु पनि कैदीबन्दी स्थानान्तरणको प्रक्रियामा रहेको बताउनुभयो ।
गत साउन २३ गते मध्यराति ब्लक ए मा रहेका कैदीले ब्लक बी का कैदीमाथि आक्रमण गर्दा एक कैदीबन्दीको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए ।
घाइते कैदीबन्दीलाई सेती प्रादेशिक अस्पतालले उपचार पश्चात डिस्चार्ज गरिसकेको छ । डिस्चार्ज गरिएका सबै कैदीबन्दीलाई कारागारमा नपठाइ कोरोना अस्पतालमा राखिएको छ ।