लीलाधर वली
घोराही, भदौ ९ गते । दाङको घोराहीमा पहल थिएटर निर्माण हुने भएको छ । चलचित्र तथा नाट्यकर्मी केएल बुढाथोकीको नेतृत्वमा जिल्लामा पहिलो पटक थिएटर निर्माण हुन थालेको हो ।
दाङमा नियमित नाटक मञ्चन परम्परासँगै साहित्यिक गतिविधिलाई अघि बढाउनेगरी घोराही उपमहानगरपालिका –१५ कर्मचारी मिलन केन्द्रको नजिकै पहल थिएटरको निर्माण सुरु गरिएको नाट्यकर्मी केएल बुढाथोकीले जानकारी दिनुभयो ।
दुई दशक बढी समयदेखि चलचित्र तथा नाट्य क्षेत्रमा संलग्न बुढाथोकीले थिएटरलाई कलाघरका रुपमा विकास गरिने बताउनुभयो । उहाँका अनुसार नाटक मञ्चनसँगै अभियानमा रुचि राख्नेहरुलाई सिक्ने थलोका रुपमा विकास गरिनेछ ।
करिव डेढसय दर्शक अट्ने थिएटर तीनदेखि पाँच महिनाको अवधिमा निर्माण भइसक्ने नाट्यकर्मी बुढाथोकीले जानकारी दिनुभयो । नेपाली मौलिकता झल्कनेगरी थिएटर निर्माणको कामलाई अघि बढाइएको भन्दै उहाँले भन्नुभयो, ‘‘अत्याधुनिकभन्दा पनि आफ्नै नेपाली मौलिकता झल्कने गरी वातावरणमैत्री सानो सुविधासम्पन्न थिएटर बनाउन लागेका छौ ।’’
थिएटरको बरिष्ठ पत्रकार तथा साहित्यकार नारायणप्रसाद शर्माले सोमवार सिलान्याश गर्नुभयो । थिएटरको सिलान्याश गर्दै शर्माले साहित्यिक क्षेत्रको प्रमुख विधाका रुपमा रहेको नाट्य क्षेत्रको दाङमा विकासका लागि थिएटरले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।