• ९ भदौ २०८२, सोमबार

‘स्वर्णविन्दु प्राशन’ स्थगन गर्न माग

blog

काठमाडौँ, भदौ ९ गते । सरकारले सुरु गरेको ‘राष्ट्रिय स्वर्णविन्दु प्राशन’ अभियान तत्काल स्थगन गर्न माग गरिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले भदौ ५ गते देशका २५ वटा आयुर्वेदिक संस्थाबाट स्वर्णविन्दु प्राशन थोपा खुवाउने अभियान सुरु गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिमको धनगढीबाट पुगेर स्वर्णविन्दु प्राशन थोपा खुवाउने कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

बालरोग विशेषज्ञहरुको संस्था नेपाल पेडियाट्रिक सोसाइटीले सरकारले बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले सुरु गरेको ‘राष्ट्रिय स्वर्णविन्दु प्राशन’ अभियानप्रति असहमति जनाउँदै स्थगन गर्न माग गरेको हो । 

सोसाइटीले स्वर्णविन्दु प्राशनमा हालसम्म कुनै पनि वैज्ञानिक प्रमाण, बाल सुरक्षा, गुणस्तर, जोखिम मूल्याङ्कन र नियामक स्पष्टतामा कमी रहेको कारण देखाउँदै उक्त अभियान तत्काल रोक्न स्थगन गर्न सरकारसमक्ष आग्रह गरेको छ । 

शिशुमा स्वर्णकल्प सेवनबाट प्रतिरक्षा प्रणाली बढ्छ भन्ने दाबीको वैज्ञानिक आधार नभएको र सो पदार्थमा हेभी मेटल (सुन) को सम्भावित जोखिम रहेको सोसाइटीको ठहर छ ।