शालिग्राम नेपाल
चितवन, भदौ ९ गते । भरतपुर महानगरपालिकाले बजारको मुख्य दुई स्थानमा स्मार्ट शौचालय निर्माण थालेको छ । मुख्य बजार तथा सर्वसाधारणको भीड हुने स्थानमा शौचालयको अभाव हुँदा समस्या हुने गरेको थियो । साधारण शैलीको शौचालय निर्माण गर्दा सरसफाइमा समस्या हुने भएपछि स्मार्ट निर्माण गरी ठेक्कामा सञ्चालनको जिम्मा दिने उद्देश्यले निर्माण थालेको छ ।
भरतपुर महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यले समयको माग अनुसार स्मार्ट शौचालय निर्माण सुरु गरेको बताउनुभयो । “पहिलो चरणमा जिल्ला प्रहरी कार्यालय परिसर भरतपुरमा एउटा र भरतपुरको ओरालो नारायणगढ जाने स्थानमा अर्को निर्माण हुँदैछ” उहाँले भन्नुभयो, “यो आधुनिक सुविधा भएको स्मार्ट शौचालय हुनेछ ।”
यहाँ नुहाउने सुविधा रहनेछ भने सेन्सरबाट धारा खुल्ला र बन्द हुनेछ । शौचालय बाथरुममा हुने सुविधा यहाँ उपलब्ध गराइने इन्जिनियर आचार्यले जानकारी दिनुभयो । भरतपुरको चौबिसकोठी क्षेत्रमा शौचालय निर्माणको अभाव भएपछि जिल्ला प्रहरी कार्यालय परिसरमा निर्माण गरिएको हो, उहाँले भन्नुभयो । प्रहरी कार्यालय अदालत, शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय, जिल्ला समन्वय समिति, नेपाल टेलिकम लगायतका कार्यालय भएको स्थान नजिकै शौचालय निर्माण थालिएको छ ।
महानगरपालिकाले नारायणगढको आँपटारी, पूर्व पश्चिम राजमार्गअन्तर्गत गोन्द्राङ, भरतपुर अस्पताल अगाडि साधारण शौचालय निर्माण गरी सञ्चालनमा ल्याएको छ । निर्माण गरी सञ्चालनमा आएको शोचालयको सररसफाइ उचित नभएपछि स्मार्ट शौचालय निर्माण गरेर ठेक्कामा सञ्चालन गर्न दिने तयारी भएको छ । इन्जिनियर आचार्यका अनुसार कार्यविधि बनाएर आयआर्जन हुने गरी ठेक्कामा सञ्चालन गर्न दिने तयारी भएको छ । शुल्क लिएर प्रयोग गर्न दिने भएपछि सरसफाइँसँगै महानगरपालिकाको आम्दानी वृद्धि हुने उहाले बताउनुभयो । नारायणगढको पुलचोक, लायन्स चोकसहित अन्य बजार क्षेत्रमा पनि शौचालयको माग र आवश्यकता भएको उहाँले बताउनुभयो ।