बुटवल समाचारदाता
बुटवल, भदौ ९ गते । १९६७ सालमा स्थापना भएको लुम्बिनी प्रदेशको सबैभन्दा पुरानो लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले आइतबारदेखि दिवासँगै रात्रिकालीन सेवालाई प्रभावकारी बनाउने भएको छ । प्रादेशिक अस्पतालमा रातिको समयमा पनि अलग्गै चिकित्सकीय सेवासहितको उपचार सेवा व्यवस्था गर्ने तयारी अन्तर्गत आइतबारदेखि सेवा सुरु गर्न लागेको हो ।
अस्पतालले भदौ ८ गते आइतबारदेखि रातिमा पनि जटिल प्रकारका उपचार सेवाका साथै विशेषज्ञसँग समन्वयका लागि चिकित्सकसहितको टिमको व्यवस्था गर्न लागिएको जनाएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले अब हरेक दिन साँझको ८ बजेदेखि बिहान ८ बजेसम्म फरक फरक चिकित्सक तथा कर्मचारीलाई ड्युटी अफिसरका रूपमा खटाएर रात्रिकालीन सेवालाई प्रभावकारी बनाउन लागिएको जानकारी दिनुभयो ।
यो सेवा शुभारम्भ गर्ने गरी तयारी पारिएको कार्यविधिमा अस्पतालको आकस्मिक कक्ष तथा मेडिकल वार्डमा भर्ना भएका बिरामीको उपचार व्यवस्थापन, रेखदेखसम्बन्धी सहजीकरण, समन्वय तथा अनुगमनको काम ड्युटी अफिसरले गर्ने छन् । प्रत्येक रातको उपचार सेवा र गतिविधिबारे सम्बन्धित ड्युटी अफिसरले अस्पताल प्रशासनलाई जानकारी गराउनुपर्ने छ भने सोही अनुसार सुधारका लागि आवश्यक कदम चालिने जानकारी ढकालले दिनुभयो । लुम्बिनी प्रादेशिक अस्पतालले रातिको समयमा अहिलेसम्म त्यस्तो सेवा दिने व्यवस्था गरेको थिएन ।
यो अस्पतालमा दैनिक दुई हजार बिरामीले उपचार सेवा लिने गरेका छन् । अस्पतालको पछिल्लो वर्षको तथ्याङ्क अनुसार एक वर्षमा तीन लाख ४८ हजार ९७१ जनाले बहिरङ्ग सेवा लिएका छन् भने आकस्मिक कक्षमा मात्रै ७२ हजार २४४ जनाले सेवा लिएका छन् । त्यसै गरी यो अस्पतालले एक वर्षको अवधिमा १२ हजार ९५ जना गर्भवतीलाई प्रसूति सेवा उपलब्ध गराएको छ ।
त्यसमध्ये चार हजार ५४७ जना गर्भवतीको शल्यक्रिया गरिएको छ भने आठ हजार ५४८ गर्भवतीले सामान्य रूपमै शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ । प्रसूति सेवालाई थप विशिष्टीकृत गर्दै लगेपछि सेवाग्राहीको आकर्षण पनि बढ्दै गएको अस्पतालको दाबी छ । प्रसूति तथा स्त्रीरोग बिरामीका लागि छुट्टै भवन र शल्यक्रिया कक्षको विस्तार भएपछि उपचार सेवा गुणस्तरीय र सुलभ बन्दै गएको छ ।