• ९ भदौ २०८२, सोमबार

पत्रकार पराजुलीको उपान्यास बखानको गृह विमोचन

blog

वसन्त पराजुलीद्वारा लिखित उपन्यास बखानको विमोचन गरिँदै । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल 
चितवन, भदौ ९ गते ।
पत्रकार बसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’को आइतबार पश्चिम चितवनको गुञ्जनगरमा विमोचन गरिएको छ । उपन्यासका मुख्य पात्र बखान सिंह गुरुङले स्थापना गर्नुभएको बखान बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालयमा कृति बखानको बिमोचन गरिएको हो । बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबि निवारण मन्त्री बिनु रायमाझी पौडेलले उपन्यासको बिमोचन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले देशकै पहिलो सहकारी स्थापना गर्नुभएका राजनैतिक र सामाजिक व्यक्तित्व वखान सिंह गुरुङलाई मुख्य पात्र बनाइएको उपन्यास सबैले  अध्ययन गर्नुपर्ने बताउनुभयो । उपन्यासले जिल्लाको इतिहाससँगै सहरकारीको विषयमा समेत उल्लेख गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले पराजुलीले लेख्नु भएको कृतिले बखानसिंहको योगदानलाई सजीव बनाएको बताउनुभयो । उहाँले भन्नुभयो “ओझेलमा परेका एक महत्त्वपूर्ण व्यक्तिलाई पराजुलीले उजागर गर्ने काम गर्नुभएको छ । यो धेरै राम्रो काम हो । इतिहासलाई भुल्दै जाने प्रवृतिलाई कृतिले स्मरण मात्रै होइन जीवित बनाएको छ ।”

वि.सं. २०३९ सालमा कानुन तथा न्याय र भूमिसुधार मन्त्री बन्नुभएका गुरुङका दुई छोरा शहीद हुनुहुन्छ । कार्यक्रममा गुरुङका नाती चन्द्रध्वज गुरुङले बाजे बखान सिंह गुरुङको राजनैतिक यात्रा र परिवारले भोगेका पीडाका बारेमा जानकारी गराउनु भएको थियो । संस्थाका अध्यक्ष देवी थापा मगरको सभापतित्वमा भएको कार्यक्रममा सहकारीका प्रमुख सल्लाहाकार एवम् नेपाली कांग्रेस चितवनका पूर्व सभापति तोपमान सिंह गुरुङ, बखान सहकारीद्वारा सञ्चालित संग्राहलयका संयोजक सोम भण्डारी लगायतले बोल्नुभएको थियो । पुस्तकका लेखक पराजुलीले उपन्यास यथार्थ घटनामा आधारित भए पनि काल्पनिक जलप लगाइएको बताउनुभयो ।   

उहाँका अनुसार नेपालको तराई क्षेत्रमा भएको बसाइसराइँ र बस्ती विकासको ऐतिहासिक पाटोलाई समेटेर लेखिएको यो बखान पुस्तकले चितवनको सामाजिक तथा राजनीतिक घटनाक्रमलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ । यसले वि.सं. २००७ देखि २०१० सालसम्मका मुख्य राजनीतिक घटनाक्रमलाई न्याय दिने प्रयास गरेको पराजुलीले बताउनुभयो ।