अमरराज नहर्की
तनहुँ, भदौ ९ गते । विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडक अन्तर्गत पूर्वीखण्डको म्याद तीन महिना थप भएको छ । निर्धारित समय समाप्त नभएपछि म्याद थप गर्नका लागि निर्माण कम्पनीले आग्रह गरेबमोजिम चौथो पटक समय थप गरिएको सडक आयोजना पूर्वीखण्डका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले गोरखापत्रलाई जानकारी दिनुभयो ।
सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन कठिन हुनु, निर्माणको काम ढिला सुरु हुनु, कोभिडको महामारीले काम गर्न समस्या हुनु, रुख कटान आदेश ढिलो गरी प्राप्त हुनु, विद्युत् लाइन, खानेपानीका पाइप सार्न समस्या हुनुलगायतले काम प्रभावित भएको उहाँले बताउनुभयो ।
पाण्डेका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आगामी असोज २५ गतेसम्म म्याद थप भएको छ । यो खण्डको तेस्रो पटक थप भएको म्याद गत असार २९ गतेदेखि सकिएको थियो । पूर्वीखण्ड अन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.५ किलोमिटर खण्डमा चार लेनमा कालोपत्रे सम्पन्न भइसकेको छ । कालोपत्रेबाहेकका अन्य केही काम बाँकी रहेकाले केही समय म्याद थपका लागि भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरिएको थियो ।
कालोपत्रेको सबै काम पूरा भएको छ । तनहुँको सदरमुकाम दमौली बजारमा छ लेन र अन्य ठाउँमा चार लेनमा सडक कालोपत्रे भइसकेको छ । अधिकांश ठाउँमा सडक रङरोगन पनि सकिएको छ । ८५ प्रतिशत काम पूरा भइसकेको र थप गरिएको समयमा निर्माण पूरा हुने देखिएको पाण्डे बताउनुहुन्छ । पूर्वी खण्डमा २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।
उक्त खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपियाँमा लागेको छ ।
पुलको काम एकहत्तर प्रतिशत
यसैबिच पृथ्वीराजमार्गको मुग्लिङ–पोखरा सडक योजना अन्तर्गत मादी नदीमाथिको चार लेनको पुलको काम ७१ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ ।
३१५ मिटर लामो यस पुलका छ वटा स्पान हुने छन् । सन् २०२२ अगष्ट ११ मा पुल निर्माणका लागि एक अर्ब २१ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो । पृथ्वी राजमार्गमा सबैभन्दा लामो ‘आर्क डिजाइन’ को उक्त पुल नेपालमै पहिलो पटक चार लेनको हुने पाण्डेले दाबी गर्नुभयो । हाल नदीमाथि रहेको दुई लेनको ३७० मिटर लामो पुल छ । सोही पुलभन्दा करिब ५० मिटरको दुरीमा नयाँ पुल निर्माण भइरहेको हो ।
निर्माण कम्पनी जेडआइस्ट अन्नक जेभीका प्रतिनिधि साइड इन्चार्ज इन्जिनियर धर्मप्रताप लामगादेले काम छिटो सम्पन्न गर्न एक सय जना कामदार दैनिक खटिएको जानकारी दिनुभयो । आयोजनाका अनुसार पर्यटकलाई आकर्षण गर्ने हिसाबले पुल कलात्मक आर्क डिजाइन गरिएको छ । यातायात आवागमनको प्रयोगका लागि मात्रै नभई पर्यटक पनि आकर्षित गर्नु पर्छ भनेर कलात्मक डिजाइन गरिएको हो ।