• ९ भदौ २०८२, सोमबार

ईम्बोस्ट नम्बर जडानको निर्णय फिर्ता गर्न सरकारसँग अनुरोध

blog

ईम्बोस्ट नम्बर पिलेट जडानको निर्णय फिर्ता लिन माग गर्दै युवाहरू । तस्बिर : ज्योति पन्थी

ज्योति पन्थी
बबई (बर्दिया), भदौ ९ गते ।
सरकारले आगामी असोज १ गतेदेखि सवारी साधनमा अनिवार्य ईम्बोस्ट नम्बर जडान गर्ने निर्णय गरेसँगै बर्दियाका युवाहरूले सरकारसँग उक्त निर्णय फिर्ता लिन माग गरेका छन् ।

ईम्बोस्ट नम्बरका कारण नेपाली कला संस्कृति र नेपाली देव नागरिक अक्षरहरू विस्थापित हुन थालेको, नागरिकमा अनावश्यक भार थपेको र ईम्बोस्ट नम्बर पिलेट जडान गर्न नागरिकलाई बाध्य बनाइएको भन्दै युवाहरूले विरोध जनाएका हुन् ।

राजापुर नगरपालिका धोविनपुरका देवराज ढुङ्गानाले सरकारले हतारमा गरेको निर्णय फिर्ता लिनका लागि अनुरोध स्वरूप विरोध गरिएको बताउनुभयो । तत्कालका लागि नेपाललाई ईम्बोस्ट आवश्यक नरहेको युवाहरूको भनाइ छ । गुलरिया नगरपालिका–४ तुलापुरका लक्ष्मण भण्डारीले तीन वर्षसम्म नवीकरण गरिएको लाइसेन्स नपाउने देशमा ईम्बोस्टको अर्थ नरहेको बताउनुभयो ।