बालबालिकालाई उनीहरूको समग्र विकासमा सहयोग पुर्याउने खालको शिक्षा दिनु आवश्यक हुन्छ । जुन शिक्षा प्राप्त गरेपछि उनीहरूको जीवन सुनिश्चित हुन सकोस् । उनीहरूलाई दिइने शिक्षामा देहायका पक्ष समेटिनु आवश्यक हुन्छ ।
बालमैत्री र रुचिकर शिक्षा
कुनै पनि कुरा गीत, कथा, खेल वा चित्रका माध्यमबाट बालबालिकालाई कुनै कुरा सिकाइयो भने त्यसरी गरिएको सिकाइ दिगो हुन्छ । उनीहरूका मनमा रहेको उत्साह र जिज्ञासालाई प्रोत्साहन गर्ने वातावरणमा शिक्षा दिनु पर्छ तर परम्परादेखि चल्दै आएको डर, त्रास र दण्ड दिने खालको शिक्षालाई हामीले सधैँका लागि रोक्नु पर्छ ।
नैतिक र सामाजिक शिक्षा
बालबालिकालाई विभिन्न खालका नैतिक वा पौराणिक कथा सुनाएर उनीहरूमा दया, प्रेम, सेवा, सहानुभूति, अनुशासन, जिम्मेवारीबोधका विभिन्न कुरा सिकाउन सकिन्छ । त्यसका लागि शिक्षकले विषयवस्तु सुहाउँदिला कथा र प्रसङ्ग खोजी गरी आफू तयार हुनु पर्छ । एक जना शिक्षक हुनुहुन्थ्यो । एक दिन उहाँ पढाउनका लागि कक्षा कोठामा पस्नुभयो । उहाँले विद्यार्थीलाई सोध्नुभयो, “नानीबाबु हो, आज कुन पाठ पढ्ने ?”
‘आज नम्रता शीर्षक पाठ पढ्ने हो गुरुदेव !’ विद्यार्थीले एकस्वरमा भने ।
“नानीबाबु हो, म आँ गर्छु तिमीहरू पहिले मेरो मुखभित्र हेर है अनि मेरा प्रश्नको जवाफ दिनु ।”
‘हुन्छ गुरुदेव !’ विद्यार्थीले एक स्वरमा भने । यति भनेर उहाँले आँ गरेर विद्यार्थीलाई आफ्नो मुख देखाउनुभयो । गुरुले फेरि सोध्नुभयो, “तिमीहरूले मेरो मुख भित्र हेर्यौँ ?”
‘हेर्यौँ गुरुदेव !’ उनीहरूले एक स्वरमा जवाफ दिए । ‘तिमीहरूले मेरा मुखभित्र दाँत देख्यौँ ?’ गुरुको प्रश्न सुनेर विद्यार्थी पहिले हाँसे अनि भने, “गुरु, हजुरको मुखभित्र दाँत त एउटा पनि छैन ।”
‘ए, दाँत छैनन् ? जिब्रो नि जिब्रोचाहिँ देख्यौँ कि देखेनाैँ ?’ गुरुले प्रतिप्रश्न गर्नुभयो । विद्यार्थीले एक स्वरमा जवाफ दिए, “जिब्रो त देख्यौँ गुरु, जिब्रो त छ ।”
‘नानीबाबु हो, त्यो जिब्रो म मेरी आमाका कोखबाट जन्मिँदा मेरो मुखभित्र टाँसिएर आएको हो, त्यो अझै छ । ती दाँतहरू त पछि आएका थिए तर किन पहिले नै किन फुक्लेर गए ? पहिले आएको जिब्रो किन फुक्लेर गएन ?’ गुरुले सोध्नुभयो । विद्यार्थी केही बोल्न सकेनन् । उनीहरू मुखामुख गरेर बसिरहे । गुरुले फेरि भन्नुभयो, “बाबु हो, जिब्रो नरम हुन्छ, म जन्मिँदा आएको जिब्रो आजसम्म मेरा मुखभित्र छँदै छ, ती दाँतहरू पछि उम्रेका हुन् । ती कडा थिए, त्यसैले पहिले नै फुक्लेर गए । नानीबाबु हो, तिमीहरू पनि लामो समयसम्म बाँच्न चाहन्छाँै भने दाँत जस्तो कडा होइन । जिब्रो जस्तै नरम बन, सबैसित मिठो बोली बोल, नम्र बनेर बोल ! जिब्रोको गरिमा मिठो बोलीमा ।’ गुरुका कुराले विद्यार्थीले नम्रताको महत्व बुझे । त्यस दिनदेखि विद्यार्थीले नम्रता भन्ने पाठ राम्ररी बुझे । सबै विद्यार्थी नम्र बने ।
बौद्धिक तथा सिर्जनात्मक विकास
बालबालिकाले आफूलाई लागेका प्रश्न गर्ने, स्वतन्त्र रूपमा विचार प्रस्तुत गर्ने र उनीहरूले नयाँ नयाँ कुरा गम्भीर बनेर सोच्ने क्षमताको विकास गराउने खालको शिक्षा दिनु पर्छ । बालबालिकालाई एउटा अग्लो घरमाथि लगेर त्यहाँबाट देखिएको दृश्यलाई लेख्न तथा चित्र बनाउन लगाउने काम गर्नाले उनीहरूमा सिर्जनात्मक क्षमताको स्वतः विकास हुन जान्छ । यस्ता प्रयोगबाट शिक्षकहरूले कुन बालबालिकामा के कस्तो सिर्जनशीलता विद्यमान छ भनेर पहिचान गर्न सकिन्छ । तपाईंका घरमा को को हुनुहुन्छ ? चित्र बनाएर देखाउनुहोस् भनेर चित्र कोर्न लगाउने अथवा आफ्ना घरपरिवार, छरछिमेकीका विषयमा लेख्न लगाउने । सिर्जनशील गतिविधि जस्तै आफूलाई मन लागेको चित्र बनाउने, स्वतन्त्र रूपमा कथा लेख्ने, कविता लेख्ने बालबालिकालाई जिम्मेवारी दिनु पर्छ ।
व्यावहारिक र जीवन उपयोगी शिक्षा
आफ्ना जीवनमा प्रयोग हुने खालका सिपहरू बालबालिकालाई सिकाउनु पर्छ । बिहान उठेर आफ्नो बिछ्यौना मिलाउने, कोठा बढार्ने, आफ्ना लुगा आफैँ धुने, आफूले खाएको थाल, कचौरा माझ्ने, आफ्नो व्यक्तिगत सरसफाइ गर्ने कला सिकाउनु व्यावहारिक र जीवन उपयोगी शिक्षा हो ।
त्यसै गरी आफूभन्दा ठुलाको सत्कार गर्न, नमस्ते, ढोग गर्न र आफूभन्दा सानालाई माया गर्न बालबालिकालाई सिकाउनु पर्छ । स्वच्छता, समय व्यवस्थापन, संवाद सिप सिकाउने खालको शिक्षा बालबालिकालाई दिनु उपयुक्त हुन्छ । कसैले कुनै सानोतिनो सहयोग गरे भने धन्यवाद भन्न सिकाउनु पर्छ । अरूबाट कुनै काम गराउनु परेमा कृपया भन्ने शब्दबाट सिकाउन सकियो भने उनीहरूमा शिष्टताका साथै व्यावहारिक तथा उपयोगी शिक्षाको भरपूर विकास हुन जान्छ ।
समान अवसर र समावेशिता
जात, वर्ग, लिङ्ग, क्षमता भौगोलिक आदि आधारमा कसैलाई विभेद नगरी सबै बालबालिकालाई समान अवसर दिने खालको शिक्षा दिनु पर्छ । संसारमा जति मानिस छन् सबै मानिस समान हुन्छन् । जात, वर्ण, लिङ्ग, भूगोलका आधारमा कोही ठुला र कोही साना हुँदैनन् भन्ने कुरा बालबालिकालाई बुझाइदिनु पर्छ । जसरी मानिसहरूको रूपरङ फरक फरक हुन्छ त्यसै गरी बानी व्यहोरा, क्षमता, रुचि, ज्ञान, सिप र धारणा पनि सबैको फरक हुन्छ भन्ने कुरा उनीहरूलाई राम्ररी सिकाउनु पर्छ ।
प्रकृति र संस्कृतिमैत्री
सबै बालबालिकालाई वातावरण संरक्षण, सांस्कृतिक पहिचान र स्थानीय ज्ञानको सम्मान गर्ने खालको शिक्षा दिनु आवश्यक छ । मानिसहरूको सोच, भावना र व्यवहारमा सन्तुलित विकास गर्ने खालको शिक्षा दिनु पर्छ । बाल्यकालदेखि नै उनीहरूलाई बिरुवा रोप्न, त्यसलाई गोडमेल गर्न र मलजल गर्न सिकाउनु पर्छ । बोटबिरुवाले मानिसलाई अक्सिजन दिन्छन् । दाउरा, काठ र फलफूल दिने मात्र होइन मानिसका घर बनाउन पनि बोटबिरुवाबाट नै काठ उपलब्ध हुन्छ भन्ने कुरा बुझाएर प्रकृतिमा वातावरण सन्तुलन राख्न सबै जीवजन्तु, प्राणी, वनस्पतिको उत्तिकै महìव हुने कुरा बुझाइदिनु पर्छ ।
घरमै सिकाउने उपाय
बालबालिकाले घरमा आफ्ना अभिभावकको बोलीवचन, व्यवहार र क्रियाकलापबाट धेरै कुरा सिक्न सक्छन् । अभिभावक एकआपसमा कस्तो व्यवहार गर्छन् ? छरछिमेकका मानिसका विषयमा बोल्दा कसरी बोल्छन् ? ती सब कुरा सुनेर बालबालिकाले धेरै कुराको अनुभव गर्न सक्छन् । धेरै कुरा सिक्न सक्छन् । त्यसैले अभिभावकले अरू छरछिमेकका मानिसहरूको कुरा गर्दा सम्मान गरेर बोल्ने गरेमा बालबालिकामा अरू मानिसहरूलाई सम्मान गर्ने बानीको विकास हुन्छ । त्यसैले बालबालिकालाई राम्रा बानी व्यहोरा सिकाउन अभिभावकले सधैँ सकारात्मक बन्ने, सकारात्मक सोच्ने र सकारात्मक काम गर्ने बानीको विकास गर्नु पर्छ ।
खेलबाट सिकाइ
बालबालिकालाई अक्षर, सङ्ख्या आदिको ज्ञान दिन रटाउने, घोकाउनेभन्दा रङ, अक्षर, सङ्ख्या सिकाउन कार्ड, ब्लक आदि प्रयोग गरेर सिकाउने गर्नु पर्छ । धेरै वटा कार्डमा अङ्क लेख्ने उनीहरूलाई उस्तै उस्तै लेखिएका कुरा छुट्याउन लगाउने गर्दा खेल खेल मै बालबालिकाले नयाँ कुरा सिक्न सक्छन् । जस्तै कुनै एउटा अक्षरका लागि एउटा मात्र रङको प्रयोग गरेर बनेका प्लेकार्डबाट बालबालिकालाई अक्षर खोज्न लगाउने गर्दा उनीहरू अक्षर र अङ्क छिटो सिक्न सक्छन् । बालबालिकालाई कुनै कुरा सिकाउन उनीहरूलाई निरन्तर उत्प्रेरण तथा प्रोत्साहनको खाँचो हुन्छ ।
आलोचना होइन, प्रोत्साहन
बालबालिकालाई आलोचना होइन, प्रोत्साहन गर्ने गरौँ । उनीहरूलाई अन्य बालबालिकासित तुलना गर्दै नगरौँ । किनकि प्रत्येक बालबालिकामा ज्ञान, सिप, धारणा, रुचि र क्षमता फरक फरक हुन्छ । उनीहरूले सानोतिनो प्रगति गरे भने पनि मुक्तकण्ठले प्रशंसा गर्ने गरौँ । बालबालिकालाई सामूहिक काम गर्न दिउँ जस्तै कक्षा कोठाको सरसफाइ गराउने जस्ता कामबाट उनीहरूमा टिममा मिलीजुली काम गर्ने बानीको विकास हुन जान्छ । जुन सिप उनीहरूलाई जीवनपर्यन्त काम लाग्छ । बालबालिकालाई उनीहरूले राम्रो काम गर्दा प्रोत्साहनका लागि ताली बजाउने गरौँ । उनीहरूले राम्रो काम गरेमा स्टिकर दिने गरौँ । राम्रो काम सानोतिनो गरे पनि खुलेर प्रशंसा गर्न कदापि नबिर्सौं ।