पञ्चकोशी समाचारदाता
पञ्चकोशी (दैलेख), भदौ ९ गते । दैलेखको नारायण नगरपालिका संस्थागत स्वमूल्याङ्कन (लिजा) मा कर्णाली प्रदेशमै पहिलो भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको नतिजामा कर्णाली प्रदेशभरि नारायण नगरपालिका प्रथम भएको नगरप्रमुख लोमन शर्माले जानकारी गराउनुभयो ।
कर्णाली प्रदेशका कुल ७९ स्थानीय तहमध्ये नारायण नगरपालिका ८८.२५ अङ्क ल्याएर कर्णाली प्रदेशमा प्रथम भएको हो । जिल्लामा दोस्रोमा दुल्लु नगरपालिका ८२.७५ अङ्क र तेस्रोमा महाबु गाउँपालिकाले ८१.५० अङ्क प्राप्त गरेको छ । यसै गरी जिल्लामा चौथोमा डुङ्गेश्वर गाउँपालिका, पाँचौँमा भगवतीमाई गाउँपालिका, क्रमशः गुराँस गाउँपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका, भैरवी गाउँपालिका, आठबिस नगरपालिका, नौमुले गाउँपालिका, ठाँटीकाँध गाउँपालिका छन् । कर्णाली प्रदेशका १० जिल्लामा ७९ स्थानीय तह छन् ।
तर नगर अँध्यारो
दैलेख समाचारदाताका अनुसार कर्णाली प्रदेशकै पहिलो नगरपालिका हुन सफल भएको नारायण नगरपालिकाको बजार अँध्यारो भएको छ । नगरपालिकाले नारायण नगरपालिकाको बजार क्षेत्र दैलेख ठालुडाँडादेखि खुर्सानीबारीसम्म नगर उज्यालो कार्यक्रम अन्तर्गत ७९ लाख रुपियाँ खर्च गरेर सौर्यबत्ती र सडकबत्ती जडान गरेको थियो तर जडान गरेको केही दिनमै बत्ती नबलेपछि बजार अँध्यारो भएको छ ।
नगरपालिकाले नगर उज्यालो कार्यक्रममार्फत सडकबत्ती जडान गरेपछि बजारमा व्यवसाय गरिरहेका सुन्दरकुमार थापा खुसी हुनुहुन्थ्यो तर सो बत्ती नबलेपछि अहिले उहाँ हैरान हुनुहुन्छ । नारायण नगरपालिका–६, गणेशचोकमा व्यवसाय गर्नुभएका कृष्ण बनको समस्या पनि उस्तै छ । अर्का व्यवसायी हेमराज अधिकारीले विद्युत् नभएको बेला बजार क्षेत्रमा चोरी तथा तथा आपराधिक घटना नहोस् भनी नगर उज्यालो कार्यक्रम चलाइएको तर विद्युत् भएको बेलामा सडकबत्ती बल्ने तर नभएको बेलामा निभ्ने गरेकाले आफूहरू हैरान भएको बताउनुभयो ।
नारायण नगरपालिकाका इन्जिनियर हिक्मत रोकायाले नगरप्रमुखकै निर्देशन अनुसार विद्युत् प्राधिकरणकै इन्जिनियरको सहयोगमा उक्त सडकबत्ती जडान गरिएको बताउनुभयो । नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले सौर्यबत्तीले काम नगरेपछि सडकबत्ती जडान गरेको बताउनुभयो । अब सौर्यबत्तीलाई निरन्तरता दिई बजारको अँध्यारो हटाइने उहाँले बताउनुभयो ।