• ९ भदौ २०८२, सोमबार

मुगुमा एक वर्षमा ३५ हजार क्विन्टर चामल खपत

blog

खाद्या तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गमगढी मुगुको गोदाम घरमा आयतित चामल । तस्बिर : हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी 
मुगु, भदौ ९ गते ।
घरघरमा कृषक भएको हिमाली जिल्ला मुगुमा गत आर्थिक वर्ष ८१/८२ को १२ महिनामा ३५ हजार क्विन्टल चामल खपत भएको छ । जिल्लाको छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका, मुगुम कार्मारोङ गाउँ पालिका र खत्याड गाउँ पालिकाका बस्ती हरुमा माग अनुसार उत्पादन नहुँदा ठूलो परिमाणमा जिल्लाभन्दा बाहिरबाट चामल आयात भएको हो ।

खाद्या तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गमगढी मुगुको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ को  साउनदेखि असार महिनाको मसान्तसम्म स्टिम मसिनो जीरा चामल पाँच सय ८९.७८ क्विन्टल, ४५ स्टिम जिरा चामल छ सय ७० क्विन्टल, अरुवा सोना मन्सुली चामल पाँच सय ४२.७५ क्विन्टल, ४५ अरुवा मन्सुली चामल सात सय ७२.८९ क्विन्टल, अरुवा जीरा चामल चार सय ७५.४० क्विन्टल, ४५ अरुवा मोटा चामल २८.९५ क्विन्टल, अरुवा मध्यम चामल छ सय ९४ क्विन्टल, ४५ अरुवा मध्यम एक सय ६०.६५ चामल क्विन्टल गरि कुल १६ हजार एक सय २५.२१ क्विन्टल चामल बिक्री गरेको  कार्यालय प्रमुख केशब गिरीले जानकारी दिनुभयो ।

यसैगरी, उद्योग वाणिज्य संघ मुगु शाखाका अध्यक्ष कमल बुढाका अनुसार स्थानीयले जिल्लाको सदरमुकाम गमगढी बजारका व्यापारीसँग यसयम्जि मोटा चामल, यसयम्जि जिरा चामल, त्रिपती नामका चामल आर्थिक वर्षको १२ महिनामा २० हजार बराबरको बिक्री भएको व्यापारीको तथ्याङ्क रहेको छ । उहाँले भन्नुभयो, ‘‘यो आर्थिक वर्षमा २० करोड २५ लाख रुपियाँ बराबरको २० हजार क्विन्टल चामल आयात भएको छ ।’’
जिल्लामा गएको आर्थिक वर्षमा कुल ३१ करोड २५ लाख रुपियाँ बराबरको आयातित  चामल खपत भएको तथ्याङ्कमा उल्लेख छ ।

कृषि विकास कार्यालय मुगुको तथ्याङ्कअनुसार जिल्लाका चार वटा पालिकामा कोदो तीन हजार तीन सय ३० मेट्किटन, फापर चारसय १८ मेट्रिकटन, गहुँ तीन हजार सात सय४८ मेट्रिकटन, मकै एक हजार सात सय ४१ मेट्रिकटन र धान दुई हजार ४८ मेट्रिकटन उत्पादन भएको छ ।  कार्यालयका अनुसार जिल्लामा स्थानीय बालीको उत्पादन कम हुने भएकाले जिल्लाभन्दा बाहिरबाट आयतित चामल धेरै खपत हुने गरेको जनाएको छ । 

छायाँनाथ रारा नगरपालिका– ५ का स्थानीय कन्नबहादुर रोकायाका अनुसार राज्यले यहाँका कृषकहरुका लागि आधुनिक प्रविधिको ज्ञान, शिप र बजारीकरणमा सहजिकरण नगरिदिँदा कृषकको उत्पादन दिन प्रतिदिन घट्दो क्रममा रहेको छ । जिल्लामा २० दशक पहिले यहाँका स्थानीय उत्पादन कोदो, फापर, सातु र उवालगायत रैथाने खाद्यान्न तिब्बत निर्यात हुन्थ्यो, त्यहाँका उत्पादन हाम्रो ठाउँमा आथ्यौ, तर अहिले मुगु आयतित बस्तुमा परनिर्भरता बन्दै गएको छ ।