मुगु समाचारदाता
मुगु, भदौ ९ गते । विसं २०७९ असोज तेस्रो साता आएको भारी वर्षाका कारण आएको बाढीले प्रभावित पीडितले हालसम्म राहत पाएका छैनन् ।
सो बाढीपहिरोले सयौँ परिवार विस्थापित भएका छन् । विस्थापित भएको ३६ महिना पुग्दा पनि पीडितको अझै व्यवस्थापन हुन सकेको छैन । सङ्घीय सरकारको निर्णय अनुसार कर्णालीका जिल्लालगायत मुगु जिल्लालाई बाढीपहिरो सङ्कट क्षेत्र घोषणा गरिए पनि बाढीपीडितले राहत नपाउँदा उनीहरू छिमेकीको शरणमा बस्दै आएका छन् । बाढीपहिरोले जिल्लाको छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकाका गरी एक हजार तीन सय घर पूर्ण तथा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
मुगुका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले सङ्घीय सरकारले मुगुलाई पनि सङ्कट क्षेत्र घोषणा गरे अनुसार जिल्लाको छायानाथ रारा नगरपालिका, खत्याड गाउँपालिका र सोरु गाउँपालिकाले स्थानीयको पूर्ण र आंशिक क्षति भएका घरको विवरण सङ्कलन गरेको बताउनुभयो । स्थानीय निकायले भने बाढीपीडितको यकिन क्षति विवरण उपलब्ध नगराइदिँदा गएको आवमा कर्णाली प्रदेश सरकारले पठाएको ५० लाख रकम फ्रिज भएको उहाँले जनाउनुभयो । यता खत्याड गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीले पुनः प्राविधिकको डिजिटल डाटाको मूल्याङ्कन कार्यान्वयन अनुसार जिल्लाका बाढीपीडितको तथ्याङ्क पठाइसकेको तर अझै राहत नआएको दाबी गर्नुभयो । आर्थिक अभावका कारण केही बाढीपीडित भारततिर गएका छन् भने केही छिमेकीको शरणमा छन् ।
छायानाथ रारा नगरपालिका–६, कोटिलागाउँका गान्टो ऐडीका अनुसार बाढीपहिरोले घर नै भत्काएपछि बस्ने ठाउँ नहुँदा त्रिपालमा बस्दा थप समस्या भोग्नु परेको छ । सरकाले बाढीपीडितलाई अनुदानमा घर निर्माण गरिदिने भने पनि आसैआसमा बस्नु परेको उहाँले जनाउनुभयो ।