विश्वमा प्रविधिको विकास र प्रयोग तीव्र रूपमा बढिरहेको छ । प्रविधिको विकासले मानिसको जीवनशैली, आपसमा हुने अन्तर्क्रिया, कार्यप्रणाली र आर्थिक गतिविधि तथा समाजमा हुने हरेक क्रियाकलापमा ठुलो परिवर्तन ल्याएको छ । प्रविधि पूर्वाधारमा लगानी र यसको अधिकतम प्रयोगले सेवा प्रवाह र उत्पादनमा वृद्धि हुन जाने हुँदा यसको सकारात्मक प्रभाव आर्थिक समृद्धि र रोजगारी सिर्जनामा परेको छ । डिजिटल प्रविधिको प्रयोगले आर्थिक क्रियाकलापलाई चलायमान बनाएको छ भने विकासशील देशमा यसले गरिबी न्यूनीकरण गर्दै देशको सर्वाङ्गीण विकासमा महìवपूर्ण भूमिका खेलिरहेको छ । कृत्रिम बुद्धिमत्ता, ईकमर्स, क्लाउड कम्प्युटिङ, मोबाइल एप्स जस्ता डिजिटल उपकरणले शिक्षा, स्वास्थ्य, कृषि, सेवा तथा व्यापार क्षेत्रमा आमूल परिवर्तनको लहर सिर्जना गरेको छ ।
विज्ञान र प्रविधिको आजको युगमा डिजिटल प्रविधि विश्वभरिको आर्थिक विकास र रोजगारी सिर्जनाको प्रमुख आधार बनेको छ । विश्वमा भएको सूचना प्रविधि क्षेत्रको विकासबाट लाभ लिन नेपालले पनि यसको प्रयोगलाई प्राथमिकताका साथ अगाडि बढाउने जमर्को गरिरहेको छ ।
डिजिटल प्रविधिको अर्थ
डिजिटल प्रविधि भनेको सूचनालाई डिजिटल स्वरूपमा रूपान्तरण गरी डिजिटल उपकरण कम्प्युटर, इन्टरनेट, सफ्टवेयर, मोबाइल टेक्नोलोजी, कृत्रिम बुद्धिमत्ता जस्ता प्रणालीको प्रयोग गरेर तथ्याङ्क, सूचना र सेवाहरूको सङ्ग्रह, प्रशोधन तथा विश्लेषणयोग्य बनाउने एक प्रविधि हो । यसले बाइनरी कोड (० र १) मा आधारित इलेक्ट्रोनिक प्रणाली प्रयोग गरी मानवीय कार्यलाई स्वचालित, द्रुत र सहज बनाउँछ ।
द्रूतगतिमा भइरहेको डिजिटल प्रविधिको विकासले आधुनिक अर्थतन्त्रमा उत्पादनशीलता र दक्षता बढाउन अहम् भूमिका निभाएको छ । प्रविधिको प्रयोगले नियमित र दोहो¥याएर गरिनुपर्ने कार्यलाई स्वचालित बनाउँदै श्रम, समय र उत्पादन लागत घटाउनुका साथै सेवा प्रवाह र गुणस्तरमा सुधार र एकरूपता कायम गर्न सम्भव भएको छ । उदाहरणका लागि प्रविधिको प्रयोगले औद्योगिक उपकरण स्वचालित बनाउन, अनुगमन गर्न र मर्मत सम्भारमा सहज बनाउँछ । कृषि क्षेत्रमा मौसम पूर्वानुमान, स्मार्ट सिँचाइ, मोबाइल एपको सहायतामा वस्तुको बजारीकरणमा सघाउ पु¥याउँछ ।
डिजिटल प्रविधिले नयाँ सोच, नयाँ उत्पादन र नयाँ व्यावसायिक मोडल विकास गर्ने प्रक्रियालाई गतिशील, सहज र सिर्जनशील बनाएको छ । एआईको प्रयोगबाट नयाँ फिचर तथा सेवा विकासमा सहयोग पु¥याएको छ । डिजिटल प्रविधिको कारण ई–कमर्स, फिनटेक, गिग इकोनोमी जस्ता नयाँ व्यापारिक मोडेल विकसित भएका छन् । उदाहरणका रूपमा दराज, पठाओ, डिजिटल बैङ्किङ सेवालाई लिन सकिन्छ । डिजिटल प्रविधिको प्रयोगले सेवा प्रदायक वा व्यापारीलाई मात्र होइन उपभोक्तलाई पनि सहज, सरल र सुलभ मूल्यमा सेवा उपलब्ध गराएको छ ।
डिजिटल प्रविधिले साना तथा मझौला उद्योगलाई पनि विश्व बजारसम्म पुग्न सजिलो बनाएको छ । सामाजिक सञ्जाल, डिजिटल मार्केटिङ, ई–कमर्स प्लेटफर्म जस्ता साधनले साना तथा मझौला उद्योगहरूलाई न्यून लागतमा अधिक उपभोक्तासमक्ष पहुँच पु¥याउनुका साथै प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न सघाएको छ । नेपालका ग्रामीण, निम्न आय भएका समुदायलाई बैङ्किङ र वित्तीय सेवामा पहुँच पु¥याएर आर्थिक सशक्तीकरण गर्न महत्वपूर्ण योगदान दिएको छ । ई–सेवा, खल्ती, आइएमई पे जस्ता डिजिटल वालेटले बैङ्क खाता नभएका व्यक्तिलाई पनि भुक्तानी प्राप्त गर्न, बिल भुक्तानी गर्न वा आर्थिक कारोबार गर्न सहज र सरल बनाएका छन् । सामाजिक सुरक्षा भत्ता, प्रधानमन्त्री रोजगार कार्यक्रमको पारिश्रमिक डिजिटल माध्यमबाट हुने व्यवस्थाले सोझै सम्बन्धित व्यक्तिको हातमा पुग्न सकेको छ ।
सरकारले प्रदान गर्ने सेवामा डिजिटल प्रविधिको प्रयोगले सेवा प्रवाहलाई सरल र सहज बनाउनुका साथै पारदर्शिता, जवाफदेहिता र सार्वजनिक खर्च नियन्त्रणमा प्रभावकारी भूमिका निभाएको छ । अनलाइन आवेदन, अनलाइन राजस्व भुक्तानीलगायतका व्यवस्थाले भौतिक रूपमा कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यताको अन्त्य गर्नुका साथै श्रम, समय र लागतमा कमी ल्याएको छ ।
रोजगारी सिर्जनामा डिजिटल प्रविधि
नेपालमा डिजिटल प्रविधिले परम्परागत रोजगारीको ढाँचा परिवर्तन गर्नुका साथै नयाँ रोजगारीका अवसर सिर्जना गरिरहेको छ । इन्टरनेट, मोबाइल प्रविधि, सूचना प्रविधि, फ्रिलान्सिङ, ईकमर्स, डिजिटल मार्केटिङ, सफ्टवेयर विकास जस्ता क्षेत्रमा युवाको आकर्षण बढ्दो छ । वैश्विक डिजिटल अर्थतन्त्रसँग जोडिन युवाले यसलाई अवसरका रूपमा लिई आवश्यक सिप हासिल गर्नु अपरिहार्य छ । डिजिटल प्रविधिले रोजगारीका अवसर सिर्जना गरेको छ ।
गिग इकोनोमी र फ्रिलान्सिङ : गिग इकोनोमीले प्रत्यक्ष र परोक्ष रोजगारीको अवसर सिर्जना गर्छ । प्रत्यक्ष रोजगारीमा सफ्टवेयर डेभलपिङ, डेटा एनालिस्ट, डिजिटल मार्केटिङ विशेषज्ञ, कन्टेन्ट क्रिएसन जस्ता क्षेत्रमा रोजगारीको ढोका खुलेको छ । परोक्ष रोजगारी जहाँ कामदारले फ्रिलान्सिङ, पार्ट टाइम वा सट टर्म जागिर गर्छन् । नेपालमा गिग इकोनोमीका प्रमुख क्षेत्रमा, राइड–सेयरिङ (पठाओ, इनड्राइभ), डिजिटल फ्रिलान्सिङ (डिजिटल मार्केटिङ, ग्राफिक डिजाइन), फुड डेलिभरी (फुडमाण्डु, भोजडिल), ईकमर्स (दराज, हाम्रोबजार) ले रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका निभाएका छन् । युवाले विश्व बजारमा वेब डिजाइन, प्रोग्रामिङ, डेटा एन्ट्री, ग्राफिक डिजाइन जस्ता काम गर्ने अवसर पाएका छन् । नेपालका धेरै फ्रिलान्सरले अमेरिका तथा युरोपियन देशमा काम गरेर आयआर्जन गरिरहेका छन् ।
सफ्टवेयर विकास र आइटी सेवा : आजको युवा पुस्ता सूचना प्रविधिप्रति आकर्षित भएको पाइन्छ । युवा सूचना प्रविधिसम्बन्धी अध्ययन तथा तालिम लिनेहरूको सङ्ख्या दिनानुदिन बढ्दो छ । रिमोट जब र आउटसोर्सिङको अवसरले नेपालमा धेरै स्टार्टअप र आइटी कम्पनीले सफ्टवेयर डेभलपमेन्ट, मोबाइल एप्लिकेसन, वेब एप्लिकेसन जस्ता क्षेत्रमा रोजगारी दिइरहेका छन् । डेटा एनालिटिक्स र आर्टिफिसियल इन्टेलिजेन्स ः बैङ्क, टेलिकम, ईकमर्स क्षेत्रमा डेटा साइन्स, मेसिन लर्निङ, एआई जस्ता उन्नत प्रविधिको माग दिनानुदिन बढ्दै गएको छ । जसले गर्दा यो क्षेत्रले धेरै युवाका लागि रोजगारी सिर्जना गर्न सक्छन् ।
नेपालको सम्भावना
नेपालमा डिजिटल प्रविधिबाट आर्थिक समृद्धि र रोजगारी सिर्जनाको सम्भावना उच्च देखिन्छ । विशेषतः आईटी सेवा निर्यात, अनलाइन रोजगारी, स्मार्ट कृषि, डिजिटल पर्यटन र अनलाइन शिक्षा प्रवर्धनमा डिजिटल प्रविधिको प्रयोगबाट उल्लेखनीय अवसर सिर्जना गर्न सकिन्छ ।
आइटी सेवा निर्यात : भाषिक ज्ञान, कोडिङ दक्षता, न्यून सञ्चालन खर्चका कारण विश्व आउटसोर्सिङ बजारमा प्रतिस्पर्धा गर्न सक्ने नेपाली जनशक्ति प्रर्याप्त रहेकाले आइटी सेवा निर्यातबाट नेपालले प्रशस्त लाभ लिन सक्ने सम्भावना छ ।
भाषिक तथा प्रविधिक सिप भएका हजारौँ नेपाली युवा विश्वबजारका फ्रिलान्सिङ प्लेटफर्ममा कार्यरत छन् । युवालाई विश्व बजारको माग अनुसारको ज्ञान, अध्ययन तथा तालिमको व्यवस्था गर्न सके धेरै युवाले अनलाइन रोजगारीको अवसर प्राप्त गर्न सक्ने सम्भावना छ । नेपालको प्राकृतिक, सांस्कृतिक सम्पदालाई भर्चुअल टुरिज्म, अनलाइन बुकिङ प्लेटफर्म जस्ता डिजिटल माध्यमबाट प्रचार गरी अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने प्रशस्त सम्भावना देखिन्छ ।
एसइई २०८१ को नतिजामा गणित, अङ्ग्रेजी र विज्ञान विषयमा कुल परीक्षार्थीमध्ये क्रमशः २४.९४ प्रतिशत, १५.६९ प्रतिशत र १५.४२ प्रतिशत विद्यार्थी ननग्रेडेड भएका छन् । नेपालका ग्रामीण तथा दुर्गम भेगमा विज्ञान, गणित, अङ्ग्रेजी जस्ता विषय अध्यापन गर्ने शिक्षकको अभावकै कारण विद्यार्थीको सिकाइ प्रभावकारी हुन सकेको छैन । यो अभावलाई पूर्ति गर्दै दुर्गम भागसम्म गुणस्तरीय शिक्षा पु¥याउन ई–लर्निङ, मिक्स्ड लर्निङ, डिजिटल पाठ्यपुस्तकमार्फत देशका सबै स्थानमा समानस्तरको शिक्षा दिन सकिन्छ ।
डिजिटल प्रविधिको प्रयोगले दुर्गम तथा ग्रामीण क्षेत्रमा टेलिमेडिसिन सेवामार्फत विशेषज्ञ चिकित्सकको सेवा पु¥याएर उपचारमा सबैको समान पहुँच स्थापित गर्न सकिन्छ । बिरामीको स्वास्थ्य विवरण डिजिटल प्रविधिमा राख्न सकिने भएकाले देशको जुनसुकै स्थानमा उपचार गराउने क्रममा पहिलाको इतिहास हेरेर रोग निधान गर्न सहज बनाउँछ । बिरामीलाई अस्पताल लानुअघि नै चिकित्सकसँग अनलाइन परामर्श लिएर प्रारम्भिक उपचार सुरु गर्न सकिन्छ साथै अस्पतालमा औषधीको भण्डारण, वितरण र गलत प्रयोगसम्बन्धी जानकारी लिन सकिन्छ । स्वाथ्य सेवामा डिजिटल प्रविधिको प्रयोगले मृत्युदरमा कमी ल्याउन, ग्रामीण तथा दुर्गम भेगका जनतामा स्वास्थ्य सेवामा पहुँच पु¥याउन तथा स्वास्थ्य सेवामा हुने खर्चमा कमी ल्याउन मद्दत गर्छ ।
चुनौती र समाधानका उपाय
डिजिटल प्रविधिले आर्थिक वृद्धि र रोजगारी सिर्जनामा ठुलो योगदान पु¥याएको छ । यसले उद्योगहरूको उत्पादनशीलता बढाउनुका साथै नयाँ व्यावसायिक अवसर पनि सिर्जना गरेको छ । ग्रामीण तथा दुर्गम भेगमा उच्च गतिको इन्टरनेट सुविधा एवं इन्टरनेट पहुँच, विद्युत् आपूर्ति र डिजिटल उपकरणहरूको पहुँच अत्यन्त सीमित छ । डिजिटल प्रविधि महँगो भए पनि यसको प्रभावकारी उपयोगका लागि आवश्यक आधारभूत पूर्वाधार विकास गरिनु आवश्यक छ ।
प्राविधिक ज्ञान र सिपयुक्त जनशक्तिको अभाव एक गम्भीर चुनौतीको रूपमा छ । प्रविधि प्रयोग गर्ने सिपको अभावले डिजिटल प्रविधिबाट पूर्ण लाभ उठाउन कठिन बनाएको छ । प्रविधि सञ्चालनका लागि आवश्यक जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षा, तालिम र क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनु पर्छ ।
डिजिटल प्रविधिको प्रयोगमा सुरक्षित उपयोग, गोपनीयता कायम र विश्वसनीयता हासिल गर्नु चुनौतीपूर्ण छ । ग्रामीण तथा दुर्गम क्षेत्रमा डिजिटल साक्षरताको कमीले सहरी र ग्रमीण क्षेत्रबिचको डिजिटल खाडल फराकिलो छ । यसको समाधानका लागि प्रभावकारी कानुनी व्यवस्थासहित डिजिटल साक्षरता, ज्ञान र दक्षता अभिवृद्धिका लागि सरकारले कार्यक्रम ल्याउनु पर्छ ।
डिजिटल प्रविधिको विकासले पारम्परिक रोजगारीका क्षेत्रलाई विस्थापित गर्दै आएको छ । प्रविधिको विकासले नयाँ रोजगारीका क्षेत्र विकास भए पनि प्रविधिसम्बन्धी आवश्यक ज्ञान र सिपको कमीका कारण बेरोजगारी बढ्ने सम्भावना रहन्छ । प्रविधिको विकासबाट कुनै पनि क्षेत्र वा समुदायलाई विस्थापित हुन नदिन सरकार र निजी क्षेत्रको सहकार्यमा डिजिटल समावेशीकरणका कार्यक्रम अगाडि बढाउनु जरुरी देखिन्छ ।
परम्परागत कार्यप्रणाली र सिपलाई समयसापेक्ष अभिवृद्धि गर्दै डिजिटल प्रविधिलाई आत्मसात् गरेर नेपालको आर्थिक विकास र रोजगारी सिर्जना गर्न सक्ने प्रशस्त सम्भावना देखिन्छ । प्रविधिको प्रयोगले बेरोजगारी बढाउने होइन यसको सही उपयोगले रोजगारीका नयाँ नयाँ सम्भावनाका ढोका खोल्छ । सेवा पहुँचमा विस्तार, उत्पादनशीलता वृद्धि, वित्तीय समावेशीकरण, नवप्रवर्तनको विकास र रोजगारी सिर्जनामा डिजिटल प्रविधिले अहम् भूमिका निर्वाह गरेको छ ।
नेपालको सन्दर्भमा पर्याप्त कानुन, आवश्यक बजेट, अनुसन्धान र विकासको अभाव, डिजिटल पूर्वाधारको कमी, प्राविधक ज्ञान र सिपको खाडल चुनौतीका रूपमा रहेका छन् । यसको समाधानका लागि सरकारको ध्यान जानु आवश्यक छ । सुशासन, दिगो विकास एवं गरिबी न्यूनीकरण गर्ने उद्देश्यका साथ अगाडि बढाइएको डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन आजको अपरिहार्य आवश्यकता हो । सरकार, निजी क्षेत्र, स्थानीय तह र शैक्षिक संस्थाको सहकार्यमार्फत कार्यक्रम ल्याएर डिजिटल प्रविधिलाई नेपालको आर्थिक समृद्धि र रोजगारीको आधारस्तम्भ बनाउन सकिन्छ ।