• ९ भदौ २०८२, सोमबार

दुर्घटनामा एकको मृत्यु, एक घाइते

blog

बोमलाल गिरी
नवलपुर, भदौ ९ गते ।
नवलपुरको गैँडाकोटमा आइतबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नवलपुरको गैँडाकोट नगरपालिका–२ नारायणी नदी पुलको बिचमा गैँडाकोटबाट नारायणघाटतर्फ जाँदै गरेको ना १ क ५१९९ नम्बरको कुखुराको चल्ला बोकेको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ४३ प ८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक गैँडाकोट–४ का २३ वर्षीय मुनाल दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो । दुर्घटनामा परी गम्भीर हुनु भएका दाहालको नयाँ मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

मोटरसाइकल पछाडी सवार गैँडाकोट–४ का २७ वर्षीय प्रतिक घिमिरे घाइते हुनुभएको छ । ट्रकले मोटरसाइकललाई उछिन्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र ट्रकका चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका–९ का ३५ वर्षीय तुक्तबहादुर आले मगरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।