• ९ भदौ २०८२, सोमबार

‘आमाका पाइला’ लोकार्पण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ९ गते ।  साहित्यकार विन्दु अधिकारी ढकाल र भगवती अधिकारी सेढाईंद्वारा सम्पादित एवं प्रकाशित ‘आमाका पाइला’ कृतिको एक कार्यक्रमबिच लोकार्पण गरिएको छ । पूर्वमन्त्री एवं साहित्यकार शङ्करप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कृति समालोचना साहित्यकार कुलप्रसाद पराजुलीले गर्नुभएको थियो । 

अक्सिजन कवि बालकृष्ण अधिकारीकी धर्मपत्नी लक्ष्मी अधिकारीको जीवन सङ्घर्षमा आधारित रहेर तयार पारिएको कृतिमा २६ वटा लेखरचना रहेका छन् । लेखिका अधिकारीको जीवनमा आइपरेका सुखद–दुःख, सङ्घर्ष, समाजमा उहाँले पु¥याउनुभएको योगदान र मार्गदर्शन समेटिएका कृतिले भावी सन्तनीलाई महत्वपूर्ण प्रेरणा मिल्ने कार्यक्रममा उपस्थित वक्ताको भनाइ थियो । 

कार्यक्रममा छ जना ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई ‘बुवा सम्मान’ प्रदान गरिएको थियो । साथै कृतिमा रचना भर्ने स्रष्टालाई पनि सम्मान गरिएको थियो । पूर्वमन्त्री टङ्क ढकाल, प्राध्यापक डा. विनोद लुइटेल, पत्रकार शिवकुमार भट्टराईलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।