• २० कात्तिक २०८१, मङ्गलबार

गाउँमा सडक आयो (कविता)

blog

त्रिभुवनचन्द्र वाग्ले 

 हजुरआमाले

प्रतिष्ठा गर्नुभएका चौतारा

बाहरूले कचहरी गर्ने ठाँटी

गोठालो जाँदा 

तिमीहरूलाई हामीहरूले

हामीहरूलाई तिमीहरूले

पानी छ्यापाछ्याप गर्ने

खोल्सीका धारा

हामीहरूले

आ–आफ्ना अनुहार हेर्ने जरुवाका कुवा

मलाई भेट्न आउँदैनन्

मलाई भेट दिँदैनन् ।

बाटामाथिका, बाटामुनिका

खोइ हामीले खाने पँदेलका रुख

कटुस, चुत्रो र पैयुँका बोट

अमला र अमारोका रुख

खोइ गिद्ध र चिलले गुँड लगाउने 

सिमलका अग्ला रुख 

बरा, कसरी गर्ने हुन् तिनीहरूले घरजम ।

भगेरडाँडा उक्लने

सिँडी बाटा छैनन्

जहाँ किर्पे र सोली बोकेर

गीत गाउँदै गाम उक्लने

सोल्टी र सोल्टीनीले देखेका सपना

सिँडीसँगै चुलिएका हुन्थे, अग्लिएका हुन्थे

बरा, कसरी गर्ने हुन् तिनीहरूले घरबार ।

राम थियो र रोदी थियो

रत्ना थिई र रत्यौली थियो

बले थियो र बालन थियो

छैनन् चतुरेहरू र छैन चुड्का

गाम अहिले शूल्य छ

कोही छैनन्, केही छैनन्

छैनन् हामीले लिङ्गे पिङ खेल्ने चौर

बरा, कसरी सुस्केरा हाल्दो हो गामले ।

हामी हिँड्ने गोरेटो मुनि–माथि

पातीका बुच्का थिए

हामी पातीमा पिरती साट्थ्यौँ

अहिले पाती छैन र पिरती पनि छैन 

छ त केवल हाम्रा यावत विगत भत्काएर

अघि बढेको लमतन्न एक फराकिलो सडक ।