काबुल, भदौ ७ गते । अफगान शरणार्थी समस्या सम्बन्धी उच्च आयोगले जानकारी दिएको अनुसार, शुक्रबारको दिनमा मात्रै एक हजार ६९३ अफगान शरणार्थी परिवार-कुल ६ हजार दुई सय दुई जना व्यक्ति छिमेकी मुलुक इरान र पाकिस्तानबाट स्वदेश फर्किएका छन् ।
उहाँहरूले अफगानिस्तानको विभिन्न सीमा नाकाबाट प्रवेश गरेका छन्, जसमा पश्चिम हेरातस्थित इस्लाम कला नाका, पूर्व ननगहारस्थित तोर्खम नाका, दक्षिण कन्धारस्थित स्पिन बोल्दक नाका र पश्चिम निमरोजस्थित अब्रीशम नाका रहेका छन् । संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले सन् २०२५ को सुरुदेखि अगस्ट महिनासम्म मात्रै २० लाख भन्दा बढी अफगान नागरिक इरान, पाकिस्तान तथा अन्य देशबाट अफगानिस्तान फर्किएको जानकारी दिएको छ ।
अफगानिस्तानको शरणार्थी तथा पुनःस्थापना मन्त्रालयका अनुसार हाल करिब ६० लाख अफगान नागरिक विदेशमा शरणार्थीको रूपमा बसोवास गरिरहेका छन्, जसमध्ये अधिकांश अवैधरूपमा इरान र पाकिस्तानमा छन् । रासस/सिन्ह्वा