सरिता गुरागाईं
चिसो सिरेटो भित्रैसम्म आयो
बिस्तारै झ्याल खोलेँ
टाउको बाहिर निकालेर हेरेँ
आकाश धुम्म छ
मजस्तै गुम्सिएको छ
घुप्प फुलेको छ
रिसले हो कि
मायाले नै हो कि धरतीको ?
बर्सनै लाग्यो थोपा थोपा गरी
कहिले बरररर
कहिले सुस्तरी सुस्तरी
तिम्रो माया पनि त त्यस्तै थियो
तर, आज न बररररर
न सुस्तरी सुस्तरी
मलाई गाह्रो भयो
हतपत झ्याल बन्द गर्छु
तिम्रो फोटो हेर्दै
चिम्लन्छु दुवै आँखा
अनायास झर्छन् थोपा थोपा आँसु
रोकिँदै रोकिँदै
फेरि पनि रोकिँदै रोकिँदै ।