• १३ वैशाख २०८१, बिहिबार

नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत

blog

विराटनगर, असार ११ गते । प्रदेश १ अन्तर्गतका अधिकांश पालिकाहरूले आर्थिक वर्ष २०७९/०८० का लागि आज नीति तथा कार्यक्रसहितको बजेट प्रस्तुत गरेका छन् । बजेटमा आ–आफ्नो आवश्यकता र औचित्यका आधारमा कार्यक्रम ल्याइएको छ । कतिपय पालिकामा चालू योजनालाई निरन्तरताका साथै केही लोकप्रिय नारासहितका कार्यक्रम अघिसारिएको पाइएको छ ।

कृषि र पर्यटन प्राथमिकतामा

पशुपतिनगर समाचारदाताका अनुसार, इलाम नगरपालिकाले कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको छ । नगरवासीको जीवनस्तर उकास्दै मुलुकमै नमूना नगरपालिका बनाउन नगरपालिकाले कृषि र पर्यटनलाई जोड दिने भएको हो । नगरको ११ औँ नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रममा नगरपालिकाले कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग, वन–वातावरण, सामाजिक विकास, आर्थिक विकास, सुशासनलगायतका क्षेत्रलाई  महत्त्व दिएको छ । 

नगर सभामा उपमेयर विष्णु दाहाल लिम्बूले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा पूर्वप्रधानमन्त्री बीपी कोइरालाप्रति सम्मान प्रकट गर्दै ‘गरिबसँग विश्वेश्वर कृषि विकास कार्यक्रम’ सञ्चालन गरी कृषि क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्घोष गरिएको छ । यसअन्तर्गत गाईपालन, माछापालन र मौरीपालन साथै चिया, किबी, सुन्तलालगायतका कृषि उत्पादनलाई प्राथमिकतामा राखिएको छ । 

यस्तै स्थानीयस्तरका कच्चा पदार्थ र सीपमा आधारित पर्यटक लक्षित मायाको चिनो तथा कोसेली उत्पादन र चिया, दुग्धजन्य उत्पादनको बजारीकरणमा सहकारी संस्थासँग सहकार्य गरिने कार्यक्रममा उल्लेख छ । इलाम अस्पतालमा स्थापित हेल्प डेक्सलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्ने र इलाममा मेडिकल कलेजको स्थापनाका लागि नगरपालिकाको दायित्वमा पर्ने जग्गा व्यवस्थापन गर्ने कार्यलाई छ महिनाभित्र पूरा गर्ने लक्ष्य लिएको छ ।

इलाम नगरको शैक्षिक गुणस्तर सुधारका लागि सुझाव पेश गर्ने समितिको प्रतिवेदनलाई कार्यान्वयन गर्दै लगिने र शैक्षिक गुणस्तर बढाउन अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई प्रभावकारी कार्यान्वयन गराउने नीति नगरपालिकाले लिएको नगरप्रमुख केदार थापाले जानकारी दिनुभयो । इलाम नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब २१ लाख रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । 

इनरुवाको बजेट झन्डै ७४ करोड 

इनरुवा समाचारदाताका अनुसार, सुनसरीको सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले आफ्नो वार्षिक नीति, कार्यक्रम तथा बजेटमार्फत आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ७३ करोड ९३ लाख ३९ हजार ४१० रुपियाँको बजेट ल्याएको हो ।

नगरपालिका उपप्रमुख विनिताकुमारी मेहताले सङ्घीय समानीकरण अनुदान १९ करोड ४७ लाख, सङ्घीय सशर्त अनुदान २७ करोड ३६ लाख, सङ्घीय समपूरक अनुदान ५० लाख, सङ्घीय विशेष अनुदान ७० लाख, प्रदेश समानीकरण अनुदान १ करोड ८ लाख ८९ हजार रुपियाँ र प्रदेश समपूरक अनुदान १ करोड रुपियाँ रहने अनुमान गरिएको सार्वजनिक गर्नुभएको छ । त्यसैगरी प्रदेश सर्शत अनुदान २३ लाख ९४ हजार, सङ्घीय राजस्व बाँडफाँट १२ करोड ४६ लाख ३८ हजार रुपियाँ,  प्रदेश राजस्व बाँडफाँड (सवारी कर) ८६ लाख ३३ हजार ४१० रुपियाँ अनुमान गरिएको छ । 

नगरले शिक्षा, स्वास्थ्य, खाद्य, युवा स्वरोजगार, दलित तथा विपन्नको शिक्षामा पहुँचसहितका आकर्षक कार्यक्रम ल्याएको छ । सीमान्तकृत, दलित र विपन्न परिवारका विद्यार्थीको शिक्षामा पहुँच बढाउन पाँच जनालाई चिकित्सक, इन्जिनियर र नर्सलगायतका प्राविधिक विषयमा पढ्न प्रोत्साहन गर्नका लागि नगरप्रमुख छात्रवृत्ति कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । शिक्षासहित स्वास्थ्य, कृषि तथा पशुसेवा र सामाजिक विकास क्षेत्र, वन तथा वातावरण क्षेत्रका लागिसमेत बजेट विनियोजन भएको नगरप्रमुख केदार भण्डारीले जानकारी दिनुभयो ।

भोजपुरको नीति तथा कार्यक्रम पारित

यसैगरी भोजपुर समाचारदाताका अनुसार, भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले आव २०७९/०८० का लागि प्रस्तुत गरेको ६२ करोड १३ लाख १३ हजार रुपियाँ बराबरको वार्षिक बजेटसहित नीति तथा कार्यक्रम नगर सभाबाट सर्वसम्मत पारित भएको छ । जसमा आयतर्फ वित्तीय समानीकरण अनुदान (सङ्घ)बाट ११ करोड ९९ लाख, राजस्व बाँडफाडँबाट ९ करोड ७६ लाख १० हजार, सशर्त अनुदान (सङ्घ), ३३ करोड, विशेष अनुदान १ करोड ५० लाख, प्रदेश सरकार वित्तीय समानीकरण अनुदान ६४ लाख १५ हजार, सवारीसाधन करको राजस्व बाडँफाडँबाट १ करोड १५ लाख ६३ हजार २५०, प्रदेश सशर्त अनुदान ७९ लाख ६२ हजार, प्रदेश समपूरक अनुदानको १ करोड, आन्तरिक राजस्वतर्फ २ करोड २८ लाख ६२ हजार ७५० गरी ६२ करोड १३ लाख १३ हजार आय प्रस्ताव गरिएको नगरप्रमुख आलेले नगर सभामा प्रस्तुत गर्नुभएको हो । प्रस्तावित बजेटसहित नीति तथा कार्यक्रम नगर सभामा उपस्थित सदस्यमध्ये बहुमतबाट पारित भएको हो । 

हाम्रा उर्लाबारी समाचारदाताका अनुसार, मोरङको कानेपोखरी गाउँपालिकाले ‘आमाको सीप सन्तानलाई, अर्गानिक गुन्द्रक मोरङलाई’ कार्यक्रम सञ्चालन गर्नेभएको छ । आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले आमाको सीपलाई परिचालन गरी अर्गानिक गुन्द्रकमा मोरङलाई आत्मनिर्भर बनाउन बजेटको व्यवस्था गरेको बताउनुभयो । हामी सबैको सान कृषि उद्यममा किसान कार्यक्रमअन्र्तगत कानेपोखरीलाई तोरीको पकेट क्षेत्रका रूपमा विकसित गरिने भएको छ । तोरी उत्पादन गर्ने र तेल पेल्ने उद्योग सञ्चालनका लागि गाउँपालिकाले सहकार्य गर्ने भएको छ । 

कानेपोखरीको खीर प्रवद्र्धनका लागि ‘कानेपोखरीकोे खीर, गुणस्तरमा छैन पीर’ कार्यक्रम ल्याइने भएको छ । खीरसँगै दूध उत्पादन पनि जोडिएकोले यो कार्यक्रमले किसान र होटल व्यवसायीलाई जोड्ने बताइएको छ । यसैगरी ‘कानेपोखरीका महिला टपरी उत्पादनमा पहिला’ कार्यक्रम सञ्चालन गरी गृहिणीलाई उत्पादनमा जोडिने भएको छ ।  गाउँपालिकाले नीति तथा कार्यक्रममा ‘मैले तिरेको कर, गाउँपालिकाको भर’ कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । प्रत्येक वडामा वर्षभरि सर्वाधिक कर तिर्ने करदाताको फोटो सबैले देख्नेगरी स–सम्मान राखिने भएको छ । ‘उद्यमसँगै जनजीविका, प्याड उत्पादनमा स्वयंसेविका’ कार्यक्रम सञ्चालन गरिने छ । गाउँपालिकाले अतिविपन्न परिवारको पहिचान गरी त्यस्ता परिवारका सदस्यको मृत्यु हुँदा पाँच हजार नगद सहयोग गर्नेभएको छ । 

कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङनामको अध्यक्षतामा भएको १० औँ गाउँ सभामा उपाध्यक्ष भोलाप्रसाद अधिकारीले ५७ करोड  ५२ लाख  ३८ हजार रुपियाँको अनुमानित आयव्यय प्रस्तुत गर्नुभएको हो ।

यसैगरी लेटाङ नगरपालिकाको एघारौँ नगर सभामा उपप्रमुख कृष्णकुमारी निरौलाले ७४ करोड ३१ लाख ३९ हजार ४८० रुपियाँको अनुमानित बजेट प्रस्तुत गर्नुभयो । सोमध्ये आन्तरिक राजस्वमार्फत १३ करोड १४ लाख ४५ हजार, सङ्घीय राजस्व बाँडफाँड १० करोड ७९ लाख ९५ हजार प्राप्त हुने अनुमान गरिएको छ । नगरप्रमुख भूपेन्द्र लावतीकोे अध्यक्षतामा भएको सभामा नीति तथा कार्यक्रम र बजेट पारित गरिएको छ । 

उता सुन्दरहरैँचा नगरपालिकामा उपप्रमुख अकली चौधरीले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८१ करोड ५३ लाख ६२ हजार ७३४ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । दशौँ नगर सभामा पेश भएको बजेटमा प्रत्येक वडालाई १ करोड ५३ लाख रुपियाँका दरले सिलिङ तोकिएको छ । चौधरीले सामाजिक विकासका लागि ७ करोड ९४ लाख ४४ हजार ८१७ रुपियाँ विनियोजन गर्नुभएको छ । प्रस्तावित नगर अस्पताल व्यवस्थापन तथा सञ्चालनसहित विभिन्न १७ उपशीर्षकमा न्यूनतम २५ लाख रुपियाँदेखि अधिकतम १ करोड ९८ लाख रुपियाँसम्म बजेट विनियोजन गरिएको छ । त्यस्तै आर्थिक विकासतर्फ जम्मा १ करोड ९० लाख ७६ हजार रुपियाँ विनियोजन भएको छ । वातावरण तथा विपत् व्यवस्थापन शीर्षकमा ३ करोड ४५ लाख रुपियाँ विनियोजन भएको छ । सुशासन तथा संस्थागत विकास शीर्षकमा २५ करोड २ लाख ३७ हजार १३७ रुपियाँ छुट्याइएको छ भने पूर्वाधार विकासतर्फ २९ करोड ७३ लाख ५० हजार रुपियाँ विनियोजन भएको छ । 

उता उर्लाबारी नगरपालिकाले ९९ करोड ५२ लाख ५४ हजार ९८० रुपियाँको अनुमानित आयव्यय सार्वजनिक गरेको छ । उपप्रमुख मीना खतिवडाले आगामी आर्थिक वर्षको आयतर्फ आन्तरिक आम्दानी ७ करोड ५५ लाख ५३ हजार, सङ्घीय सरकार राजस्व बाँडफाँड तर्फ ११ करोड ३२ लाख ४७ हजार, सङ्घीय सरकार वित्तीय समानीकरण तर्फ १८ करोड रुपियाँ आम्दानी हुने बजेट प्रस्तुत गर्नुभयो । यस्तै वित्तीय समानीकरण प्रदेश सरकारतर्फ १ करोड ७ हजार पाँच सय, सवारीसाधन कर बाँडफाँड प्रदेश सरकार तर्फ १ करोड, सडकबोर्डबाट प्राप्त हुने रकम ५० लाख, सङ्घीय सरकार सशर्त अनुदानतर्फ ४० करोड १७ लाख, प्रदेश सरकार सर्शत अनुदानतर्फ ४० लाख २० हजार, रजिष्ट्रेसन बाँडफाँडबाट ५ करोड ७६ लाख ११ हजार ७७०, सङ्घीय सरकार समपूरक अनुदानतर्फ दुई करोड, सङ्घीय सरकार संस्थागत आन्तरिकतर्फ १ लाख ८० हजार ६८७, सङ्घीय सरकार वन रोयल्टी २० लाख, प्रदेश सरकार समपूरक अनुदान १ करोड, जनसहभागिता १ करोड ५० लाख र आ.व. २०७८/०७९ को मौज्दाततर्फ ९ करोड ९ लाख ३५ हजार २३ गरी जम्मा ९९ करोड ५२ लाख ५४ हजार ९ सय ८० रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ । 

यस्तै चालू तथा प्रशासनिक खर्च तर्फ १४ करोड ९६ लाख ८७ हजार, नगर गौरव आयोजनाको लागि आवश्यक रकम १ करोड, नगरपालिकाको समपूरक कोषतर्फ १ करोड ५० लाख, भवन निर्माणतर्फ २ करोड, ऐनबमोजिम नगरपालिका आफैँले गर्नुपर्ने अत्यावश्यक कार्यतर्फ ६ करोड ६५ लाख, विपत् व्यवस्थापन कोषमा १ करोड, आकस्मिक कोषमा २५ लाख, मर्मत सम्भार कोषमा १ करोड २५ लाख, नगरपालिकाका विषय क्षेत्रगत योजना तथा कार्यक्रमको एकमुष्ट रकम रु. २९ करोड ८३ लाख ४७ हजार ९८० गरी कुल खर्च ९९ करोड ५२ लाख ५४ हजार ९८० अनुमान गरिएको छ । जसमध्ये कुुल चालू खर्चतर्फ ४३ करोड ३७ लाख ४२ हजार ९८० रुपियाँ  अर्थात् कुुल खर्चको ४३ दशमलव ५८ प्रतिशत र पूँजीगत खर्चतर्फ ५६ करोड १५ लाख १२ हजार अर्थात् कुुल खर्चको ५६ दशमलव ४२ प्रतिशत हुने अनुमान गरिएको छ । 

यस्तै पथरीशनिश्चरे नगरपालिकाले १ अर्ब २७ करोड १५ लाख ४१ हजार ४४ रुपियाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख देवीमाया काफ्लेले चालू खर्चतर्फ १७ करोड ३७ लाख ५६ हजार ४० रुपियाँ र पुँजीगत तर्फ १ अर्ब ९ करोड ७४ लाख ८५ हजार चार रुपियाँ खर्च हुने अनुमान गरिएको छ । 

सिद्धिचरणको बजेट ८१ करोड 

हाम्रा ओखलढुङ्गा समाचारदाताका अनुसार, सिद्धिचरण नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ८१ करोड ६ लाखभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । शुक्रबार नगरपालिकाको दसौँ नगर सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसँगै ८१ करोड छ लाख २३ हजार ८६० रुपियाँको प्रस्तावित बजेट सार्वजनिक गरिएको हो ।  

‘हामी सबैको चाहना, समृद्ध सिद्धिचरणको लागि दिगो योजना’ भन्ने नाराका साथ नगरप्रमुख तेजेन्द्र खनालको अध्यक्षतामा भएको नगर सभामा उपप्रमुख केदारबाबु बस्नेतले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । चालू आर्थिक वर्ष २०७८/०७९ भन्दा ७ दशमलव ७९ प्रतिशतले बजेट वृद्धि भएको उपप्रमुख बस्नेतले जानकारी दिनुभयो । 

जिल्लाको एक मात्र नगरपालिकाले सामाजिक विकासलाई बजेटमा प्राथमिकता दिएको छ । नगरपालिकाले कुुल बजेटको ५५ दशमलव ९२ प्रतिशत अर्थात् ४५ करोड ३३ लाख ७६ हजार १२० रुपियाँ सामाजिक विकासका लागि विनियोजन गरेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक विकास, कृषि, सुशासन र समानतालाई प्राथमिकतामा राखेर आगामी वर्षका लागि नीति तथा कार्यक्रम ल्याइएको नगरप्रमुख तेजेन्द्र खनालले बताउनुभयो ।